आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्यविनायकमा एमाले र काँग्रेसलाई उम्मेदवार छान्न सकस

बुधबार, १६ चैत २०७८, ११ : ०१
बुधबार, १६ चैत २०७८

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका आकाङ्क्षीहरू दलका तर्फबाट टिकट हासिल गर्न सक्रिय भइरहेका छन् । राजनीतिक दलहरू चुनाव केन्द्रित गतिविधिमा व्यस्त हुन थालेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि विभिन्न पार्टीले चुनाव केन्द्रित गतिविधि बढाउँदै गएका छन् । २०७४ सालको निर्वाचन परिणामलाई हेर्दा यस नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसबीच नै मुख्य रूपमा चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।

सूर्यविनायक नगरपालिकामा २२ हजार ९ सय ८० पुरुष, २४ हजार ३ सय ८५ महिला र अन्य २ जना गरी जम्मा ४७ हजार ३ सय ६७ मतदाता छन् । यस नगरपालिकामा २३ मतदान स्थल र ५८ मतदान केन्द्र रहनेछ ।

विगतमा कस्तो थियो वडाको मतपरिणाम ?

यस नगरपालिकामा १० वटा वडा छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा १० वटा वडामध्ये ७ वटामा एमालेका उम्मेदवार र तीन वटामा काँग्रेसका उम्मेदवार विजयी भएका थिए । यो पटक एमाले विभाजन भइसकेका कारण अघिल्लो चुनावकै नतिजाका आधारमा परिणामलाई आँकलन गर्न भने कठिन देखिन्छ ।

वडा नम्बर १ मा एमालेका उम्मेदवार सानुकाजी कायस्थले १ हजार ६ सय ४७ मत ल्याएर जितेका थिए । यस्तै, राप्रपाका भुपेन्द्रराज राउतले ८ सय ४७ मत ल्याएर दोस्रो भएका थिए भने काँग्रेसका मनोज कुमार कार्कीले ८ सय ४६ मत ल्याएका थिए ।

वडा नम्बर २ मा काँग्रेसका उम्मेदवार कमलनाथ आचार्य १ हजार ३ सय ८५ मत ल्याएर विजयी भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास रहेको यस वडामा एमालेका उम्मेदवार रवि श्रेष्ठले १ हजार ३ सय ६८ मत हासिल गर्दै दोस्रो स्थानमा रहे भने अन्य दलले १०० मत पनि कटाउन सकेनन् ।

वडा नम्बर ३ मा पनि काँग्रेसका उम्मेदवार शिवशरण राउत १ हजार १ सय २४ मत ल्याएर विजयी भए । यहाँ एमालेका राजकुमार शिलवाल खत्रीले ७ सय २ मत ल्याए भने माओवादी केन्द्रका भीष्मनाथ पराजुलीले १ सय २० मत ल्याएका थिए ।

वडा नम्बर ४ मा एमाले उम्मेदवार उत्तम थापा १ हजार ४ सय ४३ मतका साथ विजयी भए । यहाँ काँग्रेसका देवीप्रसाद न्यौपानेले १ हजार ४४ मत र राप्रपाका कृष्णहरि खड्काले ४ सय ९० मत ल्याएका थिए ।

वडा नम्बर ५ मा एमालेका उम्मेदवार राजकुमार जोशी १ हजार ४ सय ८० मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका बालकृष्ण थापाले ७ सय ९७ मत ल्याए । तेस्रो स्थानमा रहेका नेमकिपामा उम्मेदवार नारायण भक्त सायाजुले ७ सय ९१ मत ल्याए ।

वडा नम्बर ६ मा काँग्रेसका उम्मेदवार रामेश्वर ध्वजुले ५ सय २ मत ल्याएर विजयी भए भने एमालेका कृष्ण गोपाल त्वायनाले २ सय ३४ र माओवादी केन्द्रका राम सुन्दर सुवाले २ सय ५ मत ल्याएका थिए ।

७ नम्बर वडामा एमालेका रवीन्द्र सापकोटा १ हजार ४ सय १६ मतका साथ विजयी भए । काँग्रेसका उम्मेदवार कृष्ण भक्त खत्री ७ सय १३ का साथ दोस्रो भए भने राप्रपाका उम्मेदवार धर्मराज थापाले ४ सय ४७ मत ल्याएका थिए । यो वडा एमालेका नेता तथा सांसद महेश बस्नेतको वडा हो ।

वडा नम्बर ८ मा पनि एमालेका उम्मेदवार किरण थापा मगर १ हजार ५ सय ४७ मत ल्याउँदै विजयी भए । यहाँ काँग्रेसका विनोद भट्टराईले ६ सय ९१ र माओवादी केन्द्रका सानु कान्छा आलेमगरले १ सय ७७ मत ल्याए ।

वडा न.९ मा एमालेका उपेन्द्रराज केसीले १ हजार २ सय ५८ मत ल्याएर विजयी भए । यहाँ काँग्रेसका माधव खत्रीले ६ सय ७३ मत ल्याए भने माओवादी केन्द्रका नकुल रानामगरले २ सय ४७ मत ल्याएका थिए ।

वडा नम्बर १० मा एमालेका उम्मेदवार शिवराम राउतले १ हजार २० मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी राप्रपाका भगवान् थापाले ६ सय ३५ मत र काँग्रेसका राजेश सिंह देउजाले ३ सय ९९ मत प्राप्त गरेका थिए ।

नगर प्रमुख पदमा यस्तो थियो मतपरिणामः

नगरप्रमुखमा एमालेका उम्मेदवार वासुदेव थापाले १२ हजार १ सय ३५ मत ल्याएर जित हासिल गर्दा काँग्रेसका विष्णुराज कार्कीले १० हजार १ सय ६५ मत ल्याएका थिए ।

यस्तै, नेमकिपाकी उम्मेदवार मनशोभा सुवालले २ हजार २ सय ८०, राप्रपाका प्रवीण शर्मा ढुंगेलले २ हजार १ सय ६९ र नेकपा माओवादीका जीवन तलले १ हजार ३ सय ८४ मत ल्याएका थिए ।

एमाले र काँग्रेसलाई उम्मेदवार छान्न सकस

विगतमा जितेको नगरपालिका भएकाले आसन्न निर्वाचनमा यहाँ एमालेबाट मेयरका आकांक्षी धेरै देखिएका छन् । वर्तमान नगरप्रमुख वासुदेव थापाले दोहोरिने मनसाय व्यक्त गरिसकेका छन् । उनी एमालेका जिल्ला उपाध्यक्षसमेत हुन् । एमालेबाट नगर उपप्रमुख पदमा जितेकी जुना बस्नेतले पनि मेयरको टिकटमा दाबी गरिरहेकी छन् ।

एमाले निकट एक नेताका अनुसार पूर्व जिल्ला कमिटीका अध्यक्ष राजेन्द्र राजथला, एमाले सूर्यविनायक नगर कमिटीका अध्यक्ष तथा वडा न. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटा, वडा नम्बर ८ का किरण थापा मगरले पनि मेयरमा उम्मेदवारी दिने भन्दै तयारी गरिरहेका छन् ।

एमालेबाट मेयरमा ५ जनाको दाबी परेकाले पनि उम्मेदवार छान्न एमालेलाई सकस पर्ने देखिएको छ । पार्टी विभाजन भएको अवस्थामा एकमत भएर निर्वाचनमा नगएको अवस्थामा एमालेलाई आफ्नो साख जोगाउन कठिन हुने सो पार्टीका कार्यकर्ताहरु बताउँछन् ।

यता, एमालेको फुटलाई अवसरका रूपमा लिएर नेपाली काँग्रेसले यो नगरपालिकामा पकड बढाउने योजना बनाएको छ । त्यसो त काँग्रेसमा पनि आकाङ्क्षीहरू कम छैनन् । काँग्रेसबाट मेयरका आकाङ्क्षीहरू पार्टीका नेताहरुसँग टिकटको माग गरिरहेका छन् । अघिल्लो पटक पराजित विष्णुराज कार्कीले यो पटक मौका दिनुपर्ने भन्दै आइरहेका छन् । अन्य आकांक्षी भने एक पटक जनतामाझ परीक्षण भएको व्यक्तिभन्दा पनि नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्ने तर्क गरिरहेका छन् ।

पार्टीको जिल्ला समितिको सचिब पदबाट तल्लो तह नगर कमिटीको सभापति बन्न सफल भएका निशान ढुंगेल यो पटक कुनै पनि हालतमा आफू उम्मेदवार हुने दाउमा छन् । उनी जिल्ला सभापति दूर्लभ थापाका वडाबासी र पार्टीभित्र समेत थापाका नजिकका पात्र मानिन्छन् । यी दुई बाहेक उद्धव सिलवाल, नारायण भक्त मख्यमली, अंगद खडकालगायतले काँग्रेसबाट नगरप्रमुखको पदमा दाबी गरेको स्रोतले जानकारी दिएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजबादी, राप्रपा, नेमकिपालगायतका दलहरू पनि चुनाव केन्द्रित राजनीतिमा होमिएका छन् । यद्यपि ती दलबाट उम्मेदवार हुनेको नामावली भने बाहिर आइसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप