मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अब फेरि बन्ने छ खजुरीको प्याजी

शनिबार, १९ चैत २०७८, २० : ३६
शनिबार, १९ चैत २०७८

करिब एक दशकपछि पुनः रेल सञ्चालनमा आउँदा नेपाल–भारत सीमावर्ती क्षेत्रका व्यवसायीदेखि स्थानीयवासी समेत हर्षित छन् । लामो समयदेखि रेलसेवा बन्द रहँदा निकै सास्ती भोगेका स्थानीयवासीमध्ये सबैभन्दा बढी महिलाहरू खुसी देखिएका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्र तर्फ प्रत्यक्षरुपमै रोटीबेटीको समेत सम्बन्ध छ । त्यसैले पनि रेल सञ्चालन भएपछि व्यापारदेखि व्यक्तिगत तथा सामाजिक सांस्कृतिक सम्बन्धहरूले कोल्टे फेर्ने स्थानीयवासी बताउँछन् ।

नेपाल–भारत सीमावर्ती क्षेत्र अवस्थित भारतको जयनगरमा लामो समय देखि फर्निचरको व्यवसाय गर्दै आएका कुलदीप कुमारले रेल सञ्चालन हुने भएपछि खुसी व्यक्त गरे । लामो समयदेखि रेल सञ्चालन नहुँदा धनुषासँग जोडिएको भारतको जयनगर बजारमा मन्दी छाएको उनको भनाइ छ । उनका अनुसार करिब एक दशक भन्दा अघि जयनगरमा नेपाली नागरिकको निकै चहल पहल रहन्थ्यो । तर रेल बन्द पछि यहाँका व्यवसायी तथा व्यापारीहरू पलायन हुने अवस्था आएको उनले सुनाए । अब रेल सञ्चालनले दिनहुँ प्रत्येक नेपाली नागरिक भारततर्फ आउने र न्यूनतम २ हजार रुपैयाँसम्मको रासन पानीलगायतका सामग्री किनमेल गरे पनि यहाँको बजार फस्टाउने उनले आशा व्यक्त गरे ।

त्यस्तै जयनगरका अर्का व्यापारी प्रितम बेरोलियाले रेल सञ्चालनले छिट्टै नै व्यापारिक मालसामान ढुवानी सेवा सञ्चालन गर्नेमा विश्वास व्यक्त गरे । कंग्रैचुलेसन अल टाइम ट्रेड (क्याट) का अध्यक्ष समेत रहेका व्यवसायी प्रितमले रेल सञ्चालनले तत्काल व्यापारीलाई खासै उपलब्धि नभए पनि यहाँका व्यापारी व्यवसायीहरू हौसिएको बताए । 

उनले रेल सञ्चालन भएपछि एक पटकमा रेल सवारीबाट हजारभन्दा बढी व्यक्ति आउने र उनीहरूले घरेलु सामग्रीदेखि विभिन्न आवश्यक सामग्री खरिद गर्ने आशा व्यक्त गरे । यसले नेपालमा रहेको महँगी घट्ने र यहाँबाट खाद्यान्न सामग्री, लत्ताकपडा, नुन तेल लगायतका अधिकांश सामग्रीहरूले व्यक्तिको जीवनयापन धान्न सजिलो हुने बताए । उनले केही महिनामा व्यापारी मालसामान ढुवानी भएमा दुवै क्षेत्रका व्यापारी व्यवसायीलाई फाइदा हुने र यसले जनकपुरधाममा रहेका महँगीलाई घटाउने उनको भनाइ छ ।

अब फेरि खजुरीमा प्याजी बन्ने छ

लामो समयदेखि रेल सेवा बन्द रहँदा मुख्य भन्सार नाकाको रूपमा रहेको खजुरीमा स्थानीयवासीदेखि साना व्यापारीहरू पनि सल्बलाउन थालेका छन् । १२ वर्षपछि फेरि त्यहाँ प्याजी (प्याजको कचरी) खानका लागि रेल चढेर जनकपुरदेखि जयनगरबाट मान्छेहरू आउने भन्दै अवधेश कामत निकै खुसी छन् । उनका अनुसार त्यहाँको खजुरीको प्याजी लोकप्रिय रहेको थियो । प्याजी खानका लागि बिहानदेखि बेलुकीसम्म भिडभाड रहने गरेको त्यहाँका स्थानीयवासीको सम्झनामा अझै पनि ताजै छ । खजुरीमा प्याजीको व्यापारबाटै कतिपयको घरमा चल्थ्यो भने मनग्य आयआर्जन गरी छोराछोरी देखि परिवार जहान नै चलाएको अवधेश कामतको भनाई छ ।

त्यतिबेला एक साना व्यवसायीले न्यूनतम ३ हजार रुपैयाँसम्मको प्याजी मात्रै बिक्री गरेर कमाउने गरेको उनको भनाइ छ । 

जयनगरबाट रेल उद्घाटनसँगै खजुरी स्टेसनमा करिब पाँच मिनेटका लागि रेल रोकिएको थियो । सो क्रममा जयनगरका एक व्यापारीले प्याजी खाने भन्दै एक होटेलवाललाई सोधेपछि अब भोलिदेखि प्याजी बन्ने र भोलि बिहान प्याजी खान आउनुभन्दै उनलाई निम्तासमेत दिए ।

नेपाल–भारतको रोटीबेटीदेखि सांस्कृतिक, सामाजिक सम्बन्ध रहेको छ । रेल सेवा नहुँदा छोरी बुहारीलाई सीमा वारपार आवतजावत गर्न निकै कठिनाइ हुन्थ्यो । धनुषाको औरही गाउँपालिकास्थित वैदेही स्टेसनमा रेल हेर्न आएकी उर्मिला देवी रेल चलेको देख्दा निकै गदगद देखिइन् । उनले रेल चलेपछि अब आफूहरूलाई जनकपुर आउन जान सहज हुने बताइन् । उनले छोरी बुहारीलाई पनि निकै सहज हुने सुनाइन् । उनले अब जयनगरबाट नुन, चिनी, चामलदेखि आवश्यक सामग्री ल्याउन पनि सस्तो पर्ने बताइन् ।

त्यस्तै धनुषाको महिनाथपुरमा रेल हेर्न आएकी कुमैर देवी पासवानले रेल सञ्चालनले रोजगारीको अवसर सिर्जना गर्ने बताइन् । उनले अब सानो व्यवसाय गरेर पनि रेल स्टेसनको छेउछाउमा बसेर जीविकोपार्जनका गर्न सकिने आशा पलाएको बताइन् ।

त्यस्तै वैदेही स्टेसनमा रेल चलेको हेर्न आएका मोहित पासवानले रेल सञ्चालनले त्यहाँको अवस्था कायापलट हुने बताए । अब त्यहाँ दिनहुँ बजार लाग्ने, साना ठुला पसल खुल्ने, होटेलहरू पनि खुल्ने र युवाहरूले गाउँमै बसेर केही भए पनि आयआर्जन गर्न सक्ने अवसर सिर्जना भएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप