आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

तराईको तस्बिर : खुमबहादुरको शालिकदेखि बाटोको बिजोगसम्म !

बिहीबार, २४ चैत २०७८, २१ : ५९
बिहीबार, २४ चैत २०७८

तराईमा अत्यधिक गर्मी चढेको छ । एकातर्फ चैत–बैशाखको गर्मी छ, अर्कातिर स्थानीय चुनावको सरगर्मी । कोरोनाको महामारीको त्रास सेलाइसकेको छ । काठमाडौंमा जस्तो मानिसहरुले मास्क लगाउन छाडेका छन् । सडकको अवस्था राम्रो नहुँदा धुलोको समस्या विकराल छ । शहरमा मेयर बन्नेहरूको होडबाजी छ तर बाटोघाटोको अवस्था हेर्दा नगरपालिका भन्नै लाज लाग्ने अवस्था छ । बाटोघाटोमा भन्दा भ्युटावर र शालिकहरु ठड्याउने कार्यमा होडबाजी देखिन्छ । तराईको यात्राका क्रममा त्यहाँको अवस्था झल्काउने केही तस्बिरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं ।

१. एडीबीले बनाइदिएको चौडा सडक : बाँकेको कोहलपुरबाट नेपालगञ्ज हुँदै भारतको रुपैडिया नाका जोड्ने सडक चौडा एवं आकर्षक देखिन्छ । एशियाली विकास बैंक (एडीबी) को सहायतामा बनेको यो सडकले नेपालगञ्जको आकर्षण बढाएको छ । नेपालगञ्जमात्र होइन तराईका मुख्य शहरहरु घोराही, तुलसीपुर, बुटवल, जनकपुर, विराटनगरमा पनि यही मोडेलमा उत्तर–दक्षिण जोड्ने फराकिला सडकहरू बनेका छन् । पछिल्लो समयमा भएको यो उल्लेखनीय विकास हो ।

२. गाई–गोरुको समस्या : नेपालगञ्ज शहरको जटिल समस्या हो, छाडा चौपाया । यो शहरमा जतासुकै गाई गोरु र बाच्छाबाच्छीहरु डुलिरहेका भेटिन्छन् । हरेक स्थानीय तहमा एउटा गौशाला बनाउनुपर्छ भन्दै चुनाव जितेको राप्रपाले नेपालगञ्जको स्थानीय तहको नेतृत्व गरेको छ । विगतमा यहाँका गाईलाई ट्रकमा हालेर कर्णालीतर्फ लैजाँदा भिरमा फालेको मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ । उपमहानगरले बनाएको गौशालामा वार्षिक ४–५ लाख रुपैयाँ बजेट छुट्याउने गरिएको छ । तैपनि शहरमा छाडा चौपायाको समस्या जस्ताको त्यस्तै छ । पारि यूपीबाट गाईवस्तु नेपालतिर ल्याएर छाडिदिने गरेको स्थानीयको गुनासो छ ।

३. अमिलियाको पहाडी बाटो : नेपालगञ्ज–तुल्सीपुर आवत–जावत गर्दा लागि दाङको अमिलियामा पहाड चढ्ने–ओर्लने ठाउँ छ । यो बाटो प्राकृतिक रुपमा मनोरम भएता पनि विभिन्न ठाउँमा पिच भत्किएको छ । यहाँको सडक मर्मत भइरहेको छेउमा थुप्रिएका ढुंगाबाट स्पष्ट हुन्छ । ठेकेदारले सडकको स्तरीय पीच नगर्ने अनि ठाउँ–ठाउँमा भ्वाङ पर्ने समस्या देशका जुनसुकै भागमा पनि उस्तै रहेछ ।

४. खुमबहादुर खड्काको मूर्ति : दाङको अमिलिया चोकमा एउटा अजंगको मूर्ति रातो कपडा बेरेर राखिएको छ । अनावरण गर्न बाँकी रहेको यो मूति काँग्रेस नेता स्व. खुमबहादुर खड्काको हो । खड्काको गृहजिल्ला दाङ हो । उनको निधनपछि पत्नी र छोरा राजनीतिमा आउन खोजिरहेको स्थानीय बताउँछन् । दाङमा विप्लव नेतृत्वको माओवादीको पनि गतिविधि छ भन्ने कुरा खुमबहादुरको नवनिर्मित मूर्तिको मुनि लेखिएको संसदीयव्यवस्था विरुद्धको नाराले स्पष्ट पार्छ । माथि संसदवादीको शालिक, तल विरोधमा नारा । विरोधाभासपूर्ण दृश्य ।

दाङ लगायत कतिपय जिल्लामा शालिकको विषयलाई लिएर ठूलै राजनीतिक झगडा हुने गरेको रहेछ । दाङकै भालुवाङमा माओवादीले कृष्ण सेन इच्छुकको शालिक राख्दा काँग्रेसले खुमबहादुरको शालिक राख्नुपर्ने आवाज उठाए । अन्ततः त्यहाँ दुबैको शालिक खडा गर्ने समझदारी भएछ । उता, महोत्तरीमा पनि रामवृक्ष यादवको शालिकको विषयलाई लिएर माओवादीभित्रै अन्तरविरोध चलेको अवस्था थियो ।

५. संघीयताको प्रोटोकल : संघीयतामा गइसकेपछि सरकारी कार्यालयमा कतिजनाको तस्बिर राख्नुपर्छ भन्ने कुराको प्रमाण लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माको च्याम्बरमा हेर्दा स्पष्ट हुन्छ । यहाँ राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी र प्रदेश सभामुख पूर्णबहादुर घर्तीसमेत ६ जनाको फोटो सजाइएको छ ।    

६. भालुबाङको भाउँतो : लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा सार्ने निर्णयले निकै ठूलो सकस पारेको देखियो । भालुबाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय छ । तर, प्रदेशको राजधानी अझैसम्म सर्न सकेको छैन । प्रदेश राजधानीका कारण भालुवाङको प्राविधिक शिक्षालय यहाँ सार्ने योजना छ । गढवास्थित सरस्वती माध्यमिक विद्यालय विद्यार्थीलाई भने अन्तै सार्न लागिएको छ ।

​७. सुन्दर तुलसीपुर, कुरुप खबर : तुलसीपुर बजारको सडकको अवस्था राम्रो देखिए पनि वडाहरु जोड्ने बाटोघाटोमा भ्रष्टाचार भएको स्थानीयको गुनासो सुनियो । दाङको तुल्सीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेका छोरा ठेकेदार रहेछन् । करिब २७ किलोमिटर बाटोको ठेक्का लिएर काम नगरेपछि उनीविरुद्ध उजुरी परेछ र उनी पक्राउसमेत परेका रहेछन् ।

८. भ्युटावरपछि मूर्तिमा जोड : पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने क्रममा धुलाम्ये अवस्थाको बुटवल–नारायणगढ सडक खण्डमा बडेमानको भगवान कृष्णको मूर्ति देखियो । कृष्णले दही चोरेर खाँदा बाँधेको अवस्था देखाउन खोजिएको यो मूर्ति स्याहारको अभावमा धुलाम्य देखियो ।

हेर्नुहोस् पूर्व–पश्चिम राजमार्गमा देखिएका केही दृश्य–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप