मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको चुनावी होमवर्क : गगन थापाको सर्कुलर ‘होल्ड’

विश्वप्रकाश भन्छन्– वडा समितिले उम्मेदवारबारे निर्णय गर्न मिल्दैन
बिहीबार, २४ चैत २०७८, २२ : ३२
बिहीबार, २४ चैत २०७८

सत्तासीन नेपाली काँग्रेस स्थानीय तह निर्वाचनको तयारीमा तीव्ररूपमा लागिपरेको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियामा काँग्रेस व्यस्त बनेको छ ।

चैत दोस्रो साताबाटै पार्टी विधानअनुसार काँग्रेसमा तहगत रुपमा उम्मेदवारी छनोटको प्रक्रिया चलिरहेको छ । काँग्रेसले चुनावी तयारीस्वरुप केन्द्रदेखि टोलसम्म विभिन्न समिति गठन पनि गरिरहेको छ । तर, उम्मेदवार छनोटको निर्णय भने ‘होल्ड’ गर्ने केन्द्रले सर्कुलर पठाएको छ ।

सत्ता साझेदार दलसँग चुनावी तालमेल गर्ने निर्णय लिएपछि काँग्रेसले चैत अन्तिम सातासम्म उम्मेदवारी टुंग्याउन नसक्ने भएको छ । सत्ता गठबन्धनलाई स्थानीय तह निर्वाचनसम्म डोर्याउनुपर्ने भएपछि काँग्रेसले उम्मेदवार छनोटको निर्णय केही समयलाई होल्ड गरेको नेताहरुले बताएका छन् ।

यसरी हुनेछन् काँग्रेसमा उम्मेदवार छनोट

काँग्रेस महामन्त्री गगन थापाले चैत १४ गते जिल्ला सभापतिहरूलाई स्थानीय तहका उम्मेदवार सिफारिसको निर्णय र अनुमोदनका सन्दर्भमा सर्कुलर पठाएका थिए । जसमा चैत २२ गतेसम्म जिल्ला संसदीय समिति गठन गरी केन्द्रमा नामावली पठाउन भनिएको थियो ।

यस्तै, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको नाम चैत २३ गतेसम्म जिल्ला संसदीय समितिमा सिफारिस गरिसक्ने भनिएको थियो । जिल्ला संसदीय समितिमा सहमति हुन नसके जिल्ला कार्यसमितिमा नाम पठाउने महामन्त्री थापाद्वारा जारी परिपत्रमा उल्लेख छ । जिल्ला कार्यसमितिले चैत मसान्तभित्र उम्मेदवारको नाम टुंग्याइसक्नुपर्ने छ ।

नगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रममुखका उम्मेदवारका सन्दर्भमा पार्टीको सोही कमिटीको सिफारिसमा जिल्ला कार्यसमितिले राय–सुझावसहितको प्रतिवेदन प्रदेश संसदीय समितिमा २३ चैतमा पठाउन परिपत्रमा भनिएको छ ।

प्रदेश संसदीय समितिमा सहमति हुन नसके प्रदेश कार्यसमितिले बहुमतबाट निर्णय गरेर चैत २५ मा प्रदेश कार्यसमितिमा पठाउनुपर्ने काँग्रेसको परिपत्रमा उल्लेख छ ।

यस्तै, महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारका सन्दर्भमा एक महिलासहित बढीमा तीनजनाको नाम पार्टीको सोही समितिले प्रदेश कार्यसमितिमा पठाएपछि प्रदेश कार्यसमितिले आफ्नो रायसहित २५ चैतमा केन्द्रमा पठाउने निर्देशन छ ।

महामन्त्री थापाले चैत १५ गते सातवटै प्रदेश कार्यसमितिलाई स्थानीय तहका पार्टीका उम्मेदवार सिफारिस, निर्णय र अनुमोदनका सम्बन्धमा सर्कुलर जारी गरेका थिए । उनले चैत २२ गतेभित्र प्रदेश संसदीय समिति गठन गरी केन्द्रमा पठाउन निर्देशन दिएका थिए । सोहीअनुसार काँग्रेसले सातै प्रदेशमा संसदीय समिति गठन गरिसकेको छ ।

नगर र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार २३ चैतमा प्रदेश संसदीय समितिमा सिफारिस गर्न महामन्त्री थापाको निर्देशन थियो ।

प्रदेश संसदीय समितिले चैत मसान्तभित्र उम्मेदवारको नाम अनुमोदन गरी उम्मेदवार मनोनयनको औपचारिक पत्रसहित मनोनयन दाखिलासम्बन्धी व्यवस्था गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

महामन्त्री थापाले १६ गते स्थानीय तहका पार्टीका उम्मेदवार सिफारिस, निर्णय र अनुमोदनका सम्बन्धमा प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरूलाई सर्कुलर पठाएका छन् । जसमा चैत २२ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति गठन गर्न निर्देशन दिइएको छ ।

गाउँ र नगरपालिका वडाध्यक्ष र सदस्यमा एक महिलासहित बढीमा तीन जनाको नाम उम्मेदवारका रुपमा चैत २१ भित्र वडा समितिले सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

वडा समितिको सिफारिसमा गाउँ र नगरपालिका समितिले राय सुझावसहित चैत २३ गते पार्टीको प्रदेश क्षेत्रीय कार्यसमितिमा पठाउन भनिएको छ । त्यसपछि चैत २५ गतेभित्र उम्मेदवारहरूको सिफारिस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा पठाउन प्रदेश क्षेत्रीय कार्यसमितिलाई  महामन्त्री थापाको निर्देशन छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले राय सुझावसहित तत्काल प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिमा उक्त नामावली पठाउने छ ।

संसदीय समितिले सके सहमतिमा नसके बहुमतबाट चैत २७ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सिफारिस पठाउन काँग्रेसले भनेको छ । तर, काँग्रेसले सत्ता साझेदार दलसँग चुनावी तालमेल गर्ने सहमतिलाई मध्यनजर गरेर उम्मेदवार चयन गर्ने निर्णय तत्कालका लागि ‘होल्ड’ गर्न सर्कुलर पठाएको छ ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार तोकिएको समय सीमाभित्र तहगत रूपमा गर्नुपर्ने काम भने रोक्न सर्कुलर गरिएको छैन । उनले रातोपाटीसँग भने, ‘विधानको व्यवस्थाअनुसार तोकिएको समय सीमाभित्र तहगत रूपमा गर्नुपर्ने काम सबै सक्न सर्कुलर गरिएको छ । तर, निर्णयचाहिँ केन्द्रको निर्देशन नहुँदासम्म होल्ड गर्न भनिएको छ ।’

काँग्रेस महामन्त्री थापाले चैत २७ गतेभित्र उम्मेदवार टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिलाई चैत दोस्रो साता नै सर्कुलर पठाएका थिए । अब केन्द्रले अर्को सर्कुलर जारी नगर्दासम्म उम्मेदवार छनोटको निर्णय रोकिएको पौडेलले बताए । स्थानीय तह निर्वाचनको चुनावी तालमेलबारे भागबण्डा मिलेपछि केन्द्रले मातहतको कमिटीलाई उम्मेदवार चयन गर्न निर्देशन दिनेछ ।

अहिले स्थानीय अवस्था र परिस्थिति हेरेर तालमेल हुन सक्ने केन्द्रको निर्णयअनुसार तल्लो तहमा छलफल भइरहेको महामन्त्री विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘काँग्रेसको संयोजनमा प्रदेश र जिल्लामा छलफल भइरहेको छ । ७ प्रदेश र ७७ जिल्लामा हुने तालमेलको संयोजक काँग्रेस हो । गठबन्धन दलको संयोजन प्रदेश या जिल्लामा काँग्रेसले गर्ने सहमति भएको छ ।’

यही सहमति बमोजिम पार्टीले सर्कुलर पठाएको महामन्त्री शर्माले बताए । ‘विधान बमोजिम वडाहरूले एक महिला अनिवार्य हुने गरी तीनजनाको नाम उम्मेदवारका रुपमा सिफारिस गर्ने भनिएको छ,’ शर्मा भन्छन् ।

पार्टीको उम्मेदवार चयन गर्ने संरचना नपुगी निर्णय भएको प्रचार हुन थालेपछि पार्टीले सर्कुलर पठाएको शर्माको भनाइ छ । ‘उम्मेदवार सिफारिस गर्दा कतिपय वडाले हाम्रो निर्णय भयो भनेर सामाजिक सञ्जालमा हाल्नुभयो,’ उनी भन्छन्, ‘त्यो पाइँदैन । वडा समितिले उम्मेदवार सर्वसम्मत रुपमा छान्न पाउँछ ।’

तर, सर्वसम्मत सिफारिस भए पनि निर्णय भने सम्बन्धित संसदीय समितिले गर्ने शर्माको भनाइ छ । ‘निर्णय गर्ने पार्टीको छुट्टै कमिटी हुन्छ । पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्र संसदीय समितिले विधानअनुसार उम्मेदवार चयनको निर्णय लिन्छ,’ उनले भने ।

दलगत अवस्थाको प्रतिवेदन माग

काँग्रेसले मातहत समितिलाई स्थानीय तह निर्वाचनका लागि दलगत सांगठनिक अवस्थाबारे तथ्यांक मागेको छ ।  काँग्रेस मुख्यसचिव पौडेलले दलगत सांगठनिक अवस्था र राय सुझावसहितको प्रतिवेदन पठाउन प्रदेश, जिल्ला र पालिका समितिलाई परिपत्र गरेका छन् ।

पौडेलद्वारा चैत १७ गते जारी परिपत्रमा उक्त तहमा गठबन्धनमा रहेका दलको अलग–अलग सबै स्थानीय तहमा रहेको वर्तमान सांगठनिक अवस्था र मत भारको प्रतिशत माग गरिएको छ ।

यस्तै, काँग्रेसले प्रदेशभित्र एमाले तथा प्रतिस्पर्धी अन्य पार्टीको वर्तमान सांगठनिक अवस्था र मतभारको प्रतिशतको तथ्यांक माग गरेको छ । पार्टी कमिटीलाई स्थानीय तहको वस्तुगत स्थितिको तथ्यांक पठाउन सर्कुलर गरिएका महामन्त्री शर्माको भनाइ छ । ‘०७४ को चुनावी परिणामको तथ्यांक होइन कि बदलिएको परिस्थितिको तथ्यांक के छ पार्टीसँग भनेर मागेका छौं,’ उनले भने ।

यस्तै मुख्यसचिव पौडेलले १८ चैतमा उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’को निर्णय अनुसार मातहतलाई विभिन्न समिति गठन गरी जानकारी गराउन परिपत्र गरेका थिए । सर्कुलरमा प्रदेश, जिल्ला, पालिका, वडा र टोलमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्न भनिएको थियो । काँग्रेसले अधिकांश ठाउँमा परिचालन समिति गठन गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप