सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सहकारी अभियान नै मुलुक समृद्धिको आधार : मन्त्री पौडेल

शुक्रबार, २५ चैत २०७८, १९ : ०५
शुक्रबार, २५ चैत २०७८

मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताएका छन् । शुक्रबार राजधानीमा सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यसाथ आयोजित दुई दिने नेशनल युथ फोरमको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । 

सो अवसरमा मन्त्री पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेको तर अझै आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको भन्दै अब त्यता केन्द्रित हुनुपर्ने बताए । सोही अवसरमा मन्त्री पौडेलले विदेश जादा मात्र राम्रो हुने, विदेशमा मात्र सफलता हासिल हुने भन्ने खालको मानसिकता अन्त्य गर्दै नेपालमै संभावनाहरुको खोजि गरिनुपर्ने बताए । 

उनले भने,‘देशमा ढिला भए पनि विकास हुँदैछ । पूर्वाधार निर्माण भइरहेको छ । दिगो विकासको लक्ष्य अघि बढाइएको छ । अब समृद्धिका लागि युवाहरुले स्वदेशमै संभावना देख्नुपर्छ ।’ सहकारीलाई देशको संविधानले तीन खम्बे अर्थनीतिमा समेटेकाले दिगो विकास लक्ष्यका साथ समूहगत रुपमा युवाहरु लाग्न पनि उनले आग्रह गरे । सहकारीमा लागेका युवाहरुलाई प्रोत्साहित गर्दै मन्त्री पौडेलले लगानी गर्न नडराउन आव्हान गरे । अर्थतन्त्रका आधार स्वीकार गरिएको सार्वजनिक, निजी, सहकारी क्षेत्रले एक आपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

यता राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष एवम संविधान सभा सदस्य ओमदेवी मल्लले सहकारीमार्फत नेपाली युवाहरु अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्दै गएकाले सहकारी मुलुक संवृद्धिका आधार स्तम्भ भएको बताइन । अन्तर्राष्ट्रिय सहकारी महासंघमा पनि युवाहरुको सहभागिता बढ्दै गएको जानकारी दिंदै उनले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्नुपर्ने बताइन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब राम प्रसाद थपलियाले देशको सबै तहको विकास र समृद्धिका लागि सहकारी मोडेल महत्वपूर्ण हुने बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशिलता जोड्नसके मात्र समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप