शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१३ लाख मात्रा खोपको म्याद सकिँदै

वैशाख दोस्रो सातासम्म नलगाए खोप खेर जाने
बुधबार, ३० चैत २०७८, ०६ : ४४
बुधबार, ३० चैत २०७८

नेपालमा कोरोना विरुद्धको खोप अभियान सुस्त गतिमा सञ्चालन हुँदा खोप खेर जाने सम्भावना बढेर गएको छ । अप्रिलको अन्त्यसम्म अर्थात् वैशाख १७ गतेसम्म जोनसोन र एस्ट्राजेनिकाको १३ लाख मात्रा खोप लगाइ सक्नुपर्ने बाध्यता छ । किनभने वैशाख १७ सम्म मात्रै सो खोप लगाउन मिल्छ । अब अप्रिलको अन्त्यसम्म सो खोप सकाउन दैनिक ७६ हजार ४७१  जनालाई लगाउनै पर्छ । 

यद्यपि पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा कोभिड विरुद्धको खोप लगाउने दर क्रमशः घट्दै गएको छ । सोमबार देशभर जम्मा १५ हजार ३३५ जनाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् । २७ चैत अर्थात् आइतबार २० हजार ८२८ जनाले, २५ चैतमा २६ हजार ४५ जनाले खोप लगाएका थिए । यस्तै, २४ चैतमा ५० हजार ९३ जना, २३ चैतमा ५६ हजार २२७ जना, २२ चैतमा १७ हजार ७५५ जना र २१ चैतमा ६० हजार ७२ जनाले खोप लगाएका थिए ।

यसरी क्रमशः खोप लगाउनेको सङ्ख्या कम हुँदै गएको खण्डमा कोरोनाविरुद्धको खोप खेर जाने सक्ने सम्भावना प्रबल रहेको स्वास्थ्य सेवा विभागका एक अधिकारीले बताए । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापनका अनुसार केन्द्रीय भण्डारण केन्द्रमा तीन लाख मात्रा र मात्रा प्रदेश र स्थानीय तहका खोप केन्द्रमा १० लाख जोन्सोन र एस्ट्राजेनिका खोप रहेको  छ ।  

स्वास्थ्य सेवा विभागका अधिकारीका अनुसार स्थानीय तहको चुनाव नसकिएसम्म खोप अभियानले तीव्रता पाउने सम्भावना कम छ । स्थानीय तहको चुनावतर्फ धेरैको ध्यान केन्द्रीत भएकाले खोप कार्यक्रम ओझेलमा परेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्रा भन्छिन्, ‘कोरोना महामारीको तेस्रो लहर मत्थर भएपछि दैनिक खोप लगाउन पुग्नेको सङ्ख्यामा कमी आउन थालेको छ ।’

प्रवक्ता डा मिश्राका अनुसार तेस्रो लहरमा धेरै जना कोरोना सङ्क्रमित भए । तर कतिपय मानिस सङ्क्रमण दर कम भएपछि खोप लगाउन गएनन् । यसरी सङ्क्रमित भएकाहरूमा तत्काल फेरि सङ्क्रमण हुँदैन भन्ने मानसिकताका कारण पनि खोप लगाउनेको सङ्ख्यामा कमी आएको हुन सक्ने उनको भनाइ छ ।

यस्तै, चैत २५ देखि वैशाख १८ सम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदैछ । यो अभियान सञ्चालन भइरहेकोले पनि कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या कमी आएको सरकारी अधिकारीहरू बताउँछन् ।

यता स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले अप्रिलसम्ममा म्याद सकिने खोप लगाइ सक्ने जिकिर गर्छन् । ‘एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाएकाहरूको दोस्रो मात्रा लगाउने समय आएको हुँदा खोप खेर जाँदैन,’ उनले भने, ‘स्थानीय तहमा पुगेको जोन्सोन र एष्ट्राजेनिका खोप लगाउने क्रम जारी छ ।’ 

पछिल्लो समय बुस्टर डोज प्रायःले मोडर्ना, फाइजर र कोभिशिल्ड लगाइरहेका छन् । सरकारसँग केन्द्रीय भण्डारण केन्द्र, प्रदेश, जिल्ला, स्थानीय खोप केन्द्रसम्म एक करोड १० लाख मात्रा खोप भण्डारण रहेको उनले जनाए ।  यसमा कोभिशिल्ड, भेरोसेल, एष्ट्रजेनिका, फाइजर, मोडर्ना, जोन्सोन र सिनोभ्याक रहेको छ ।

यस्तै, सरकारले खोप अभियानलाई तीव्रता दिन नसक्दा अनुदानमा प्राप्त हुने खोप ल्याउन समेत ढिलाइ हुने भएको छ । भण्डारणमा रहेका कोरोनाविरुद्धको खोप नसकाएसम्म अरू खोप ल्याउन नसकिने शाखा प्रमुख डा चौरसियाले बताए । १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई दिइने ८२ लाख मात्रा फाइजर खोप पाइपलाइनमा रहेको छ । त्यस्तै, १५ लाख मात्रा फाइजर खोप आइसकेको छ ।  

नेपालमा हालसम्ममा जनसङ्ख्याको ६६.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै, कम्तीमा एक मात्रा खोप लगाउने ७५.७ प्रतिशत छन् । एकातिर सरकारले खोप दिने लक्ष्य पुरा गर्न सकेको छैन भने अर्कोतिर खोप खेर जाने अवस्थामा पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप