शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘एउटै दलका नेतालाई मतदान गरेर नयाँ समाजको आशा गर्नु निरर्थक’

शिक्षाबिना भ्युटावर बनाएर केही अर्थ छैन : गनेश पौडेल, पोखरा महानगरका मेयर प्रत्याशी
शनिबार, ०३ वैशाख २०७९, १३ : ३४
शनिबार, ०३ वैशाख २०७९

देशमा स्थानीय तहको निर्वाचनका मिति नजिकिँदै गर्दा दलहरू उम्मेदवार छनौटका लागि जोड तोडका साथ लागि परेका छन् । ठूलो ठूला सपनाले सजिएका घोषणा पत्र सार्वजनिक गर्नमा तल्लीन छन्। तर, यिनै दल र दलीय प्रणालीलाई अविश्वास गर्दै स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएर काम गर्ने जोस बोकेका युवाहरूको सक्रियता पनि उत्तिकै बढेको छ । यसमध्येका एक पात्र हुन् लेखक एवं साहित्यकार गनेश पौडेल । उनी भूगोलका हिसाबमा सबैभन्दा ठूलो पोखर उपमहानगरपालिका बाट मेयरको दावी गर्दै आएका छन् । उनले आफूलाई एक स्वतन्त्र उम्मेदवार मात्र नभएर ‘अटेरी’ अभियान नै चलाएका छन् ।

उनलाई लाग्छ, राजनीतिक पार्टीको आडमा बहुमतप्राप्त जनप्रतिनिधिले पाँच वर्षको अवधिमा जनताले प्रशंसा गर्न लायक काम गरेनन् । अब, राजनीतिक दल, दलका झुटा आश्वासन बोकेका घोषणापत्रलाई अटेर गरी स्वतन्त्र युवालाई भोट हाल्न पोखरेली मतदातामा उनको आग्रह छ। अथवा, वर्षौँदेखि मानी आएका दलहरूको आग्रह आदेशलाई अटेर गर्न सम्पूर्णमा पौडेलको आह्वान छ।

पोखरका हकमा उनीमात्र स्वतन्त्र उम्मेदवार होइनन्। नगर प्रमुखसहित १६ जना वडाध्यक्ष र सदस्य पदमा पनि स्वतन्त्र युवाहरूको क्रेज देखिन्छ । अनि देशैभरि उनको अटेरी अभियानले गति लिएको छ । विशेष गरेर शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासन पौडेलको पहिलो प्राथमिकता हो । ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ अभियानको चुनावी नारा लिएर स्वतन्त्र उम्मेदवारहरू ‘अटेरी’हरू अघि बढेका छन् । 

‘पाँच वर्ष अघि जे समस्या थिए, आज पनि त्यही समस्या छन्, अझ बढेका छन् । तर, दलहरूले त्यसको समाधानको खोजी गरेनन् । विकासका मोडलहरू पनि पूर्वाधार केन्द्रित मात्र भए। यसमा परिवर्तन गर्नु छ,’ पौडेल भन्छन्। उनी शिक्षामा विशेष ध्यान दिएर अघि बढ्ने योजनामा छन् । भन्छन्, ‘सामुदायिक शिक्षाको गुणस्तरमा सुधार नभई विकास भएको देश मैले बढेको, बुझेको र जनेको एउटा पनि छैन। त्यसैले शिक्षाबिना, बाटो, पुल वा भ्युटावर बनाएर केहि हुन्न। त्यसैले हाम्रो योजना भनेका सर्वसुलभ, सबैका लागि प्राप्य, अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षाको प्रत्याभूति गराउनु छ ।’ 

त्यस्तै महिला स्वास्थ्य, पर्यटन, अनि सुशासनका क्षेत्रमा आमूल काम गर्ने योजनाका साथ पौडेलसहितको अटेरी समूह लागि परेको छ । दलहरूले उपयुक्त उम्मेदवार नदिएको र त्यसको विकल्पमा स्वतन्त्र युवाको जमात स्थानीय निकायको विकासका लागि अघि बढ्नु परेको पौडेल बताउँछन् । उनी स्थानीय तहमा दलीय भागबण्डामा नभई साझा उम्मेदवार बनाउनु पर्नेमा जोड दिँदै आएका छन् भने, बारम्बार एउटै दलका नेतालाई मतदान गरेर नयाँ समाजको आशा गर्नु बेकार भएको उनको तर्क छ। उनै पौडेलसँग पोखरा उपमहानगरपालिकाका मेयरका प्रत्याशी लेखक एवं साहित्यकार गनेश पौडेलसँग उनको उम्मेदवारी, भावी योजना र जीतका आधारका बारेमा गरिएको भिडियो संवाद :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप