आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयको काँधमा : शिक्षामन्त्री पौडेल

मङ्गलबार, ०६ वैशाख २०७९, २१ : ०२
मङ्गलबार, ०६ वैशाख २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयको काँधमा रहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सुर्खेतमा उनले दक्ष जनशक्ति उत्पादन गरी मुुलुकलाई समृद्धिको मार्गचित्रमा डो¥याउने दायित्व विश्वविद्यालयको रहेको बताए ।  

विश्वविद्यालयका सह–कुलपतिसमेत रहेका मन्त्री पौडेलले सरकारले तीनै तहका शिक्षा प्रणालीलाई कानूनी, शिक्षण सिकाइ र भौतिक सुधारको प्रयत्न गरिरहेको बताए । “माध्यमिक, उच्च शिक्षा र व्यावसायिक तथा प्राविधिक शिक्षालाई व्यवस्थित गर्न ५५ बुँदे सुधारको मार्गचित्र अघि बढाएका छौँ”, उनले भने, “तीनै तहका शिक्षा प्रणालीलाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सरकारले शैक्षिक पुनःसंरचनामा जोड दिएको छ ।” 

उनले सङ्घीय शिक्षा ऐन, उच्च शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन र प्रतिष्ठानलाई व्यवस्थित गर्न बनेको ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिए । शिक्षासम्बन्धी यी ऐन बनेपछि समग्र शैक्षिक प्रणालीमा सुधार आउने उनले विश्वास व्यक्त गरे । विश्वविद्यालयको पुनःसंरचनाको जरुरी रहेको भन्दै मन्त्री पौडेलले शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्नुपर्ने धारणा राखे । यसका लागि सरकारले सातवटै प्रदेशमा मेडिकल शिक्षा पढाइ हुने कलेज स्थापना गर्ने प्रक्रिया थालनी गरेको तथा १४० वटा विद्यालयमा पढ्दै–कमाउँदै कार्यक्रम लागू गरेको उनको भनाइ छ । 

दीक्षान्त समारोहमा सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता एवं बाल श्रमिकविरुद्ध विश्वव्यापी अभियानका अध्यक्ष कैलाश सत्यार्थीले शिक्षा नै विकासको मुख्य आधार भएको बताए । उनले आफूले भारतीय कोठीमा बेचिएका युवती, बालबालिकाको उद्धारमा लामो समय खर्चिएको र थुपै्र सङ्घर्ष भोग्नुपरेको अनुभव सुनाए। 

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विश्वविद्यालयका छवटा भवन निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेको, सात वटा बहुवर्षीय परियोजना सुरु गरेको, स्मार्ट टेक्नोलोजीमा आधारित संरचनाको विकास गर्ने लक्ष्यअनुरुप चालु आवलाई ‘एकेडेमिक एक्सेलेन्सी र भौतिक पूर्वाधार विकास वर्ष’का रूपमा कार्यसम्पादन भइरहेको बताए । 

शिक्षामन्त्री पौडेल, नोबेल शान्ति पुरस्कार विजेता सत्यार्थी र उपकुलपति सिंहले कुलपति, उपकुलपति पदकका साथै सुर्खेत उद्योग वाणिज्य सङ्घ स्वर्ण पदक प्राप्त विद्यार्थीलाई दीक्षित गरे । दीक्षित हुने ५१९ विद्यार्थीमध्ये कुलपति पदक नौ, उपकुलपति पदक १८ र सुर्खेत उद्योग वाणिज्य सङ्घ स्वर्णपदक पाँच जनालाई प्रदान गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप