बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भोट हाल्न मन छ, सूचीमा नाम नै छैन

मतदाता नामावलीमा छुटेका विद्यार्थीलाई ‘थकथकी’
आइतबार, २५ वैशाख २०७९, ०९ : ५२
आइतबार, २५ वैशाख २०७९

महेन्द्र मोरङ क्याम्पसको बीबीएस पहिलो वर्षमा अध्ययनरत विराटनगर–१८ की रविना कुमारी साह १९ वर्ष लागिन् । नेपालको संविधान अनुसार उनको उमेर मतदानयोग्य भइसकेको छ । तर, उनको मतदाता नामावलीमा नाम नै छैन ।

अहिले निर्वाचनको माहौल बढिरहेको बेला कसलाई भोट हाल्ने, कस्ता एजेण्डा ल्याउनेलाई भोट हाल्ने, कुन पार्टीलाई भोट हाल्ने भन्ने विषयमा चिया पसलदेखि घरसम्म चर्चा छ । सबैले भोट यसलाई हाल्ने, उसलाई हाल्ने भन्दै गर्दा उनलाई भने मतदाता नामावलीमा आफ्नो नाम छुटेकोमा थकथकी छ । 

‘मतदाता सूचीमा नाम टिपाउने नै थाहा भएन । भोट हाल्न पाएको भए छुट्टै मज्जा हुने थियो,’ उनी भन्छिन् । भोट हाल्न नपाए पनि उनलाई चुनावमा जितेर गएकाहरूमा घमण्ड नआओस् भन्ने लागेको छ । ‘मान्छेमा घमण्ड नआओस् । पद पाएपछि मानिसलाई सहयोग गरोस्, जातजातिबीच भेदभाव नगरोस्, पीडितलाई सहयोग गरोस्,’ उनी भन्छिन् । 

महेन्द्र मोरङ क्याम्पसमै अध्ययनरत विराटनगर १३ का निश्चल श्रेष्ठको पनि मतदाता सूचीमा नाम छुटेको छ । ‘मतदाता नामावलीमा नाम छुट्यो । त्यसबेला इच्छा पनि गरिएन, आयोगको सूचना पनि थाहा पाइएन,’ उनी भन्छन्, ‘तर, अहिले निर्वाचनको माहौल छाइरहँदा भोट हाल्न पाउने उमेर भएर पनि नपाएकोमा कस्तो कस्तो लागेको छ ।’

विराटनगर–४ का निशम कार्कीको पनि नागरिकता छ तर मतदाता नामावलीमा नाम छैन । विराटनगरकै राहुल साहलाई पनि भोट हाल्न एकदमै मन लागेको छ । तर, उनको भोटर लिस्टमा नाम छैन । 

यता विराटनगर–८ की अञ्जली साहलाई पनि निर्वाचनमा भाग लिन मन थियो । तर, उनको नागरिकता नै छैन । नागरिकता नभएपछि मतदाता परिचयपत्र पनि पाइनन् । उनको प्रश्न छ, ‘मैले नागरिकता कहिले पाउँछु ? नागरिकता भए रोजगारी पाइन्थ्यो, विदेश जान पाइन्थ्यो ।’ 

भोजपुर षडानन्द नगरपालिका १० की अञ्जना काफ्ले मतदाता परिचयपत्रका लागि फोटो खिच्न भोजपुर नै जानुपर्ने भएको कारण छुटेको सुनाइन् । धनकुटाकी लीला पौडेल हुन् या मोरङ कानेपोखरीकी सुस्मीता सुवेदी हुन् । उनीहरूको पनि मतदाता नामावलीमा नाम छैन । 

महेन्द्र मोरङ क्याम्पसकी विद्यार्थी नेतृ आशिका लम्सालले आफ्ना धेरै साथीहरूको उमेर भएर पनि नामावली नभएको बताइन् । ‘महेन्द्र मोरङ क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययन गर्नेमध्ये ७०–७५ प्रतिशत विद्यार्थीको मतदाता नामावलीमा नाम छैन,’ लम्सालले भनिन्, ‘अहिले भोट हाल्न पाइँदैन, नाम टिप्न मिल्दैन भनेर सोधिरहेका छन्, यस्तो सङ्ख्या ४ हजार बढी छ ।’

सोही क्याम्पसका शिक्षक महेन्द्र विष्टले आफूले पनि यो थाहा पाएको बताए । ‘मैले पनि धेरैलाई सोधेँ नाम छैन भन्ने नै आयो,’ विष्टले भने, ‘अहिले उनीहरूलाई नरमाइलो लागिरहेको छ ।’ उनीहरूको मतदाता नामावलीमा नाम छुट्नुमा निर्वाचन आयोग, जनप्रतिनिधि, राजनीतिक दलका कार्यकर्ता तथा स्वयम् नयाँ पुस्ता जिम्मेवार रहेको विष्ट बताउँछन् । ‘नाम छुट्नुमा नयाँ जेनेरेसनलाई राजनीतिप्रतिको वितृष्णा पनि हो । अर्को कुरा निर्वाचन आयोगले पनि जनप्रतिनिधिहरूलाई खटाएर नाम टिपाउने, खोजी गर्ने कुरामा चुकेको देखिन्छ,’ उनी भन्छन्, ‘निर्वाचन जनप्रतिनिधि र राजनीतिक कार्यकर्ताको पनि ध्यान नपुगेको हो । अहिलेका पुस्ता आफैँ जाने खालका छैनन् । उनीहरूलाई सक्रिय र जागरूक बनाउने निकायहरू नै जागरूक बन्नुपर्ने थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप