शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको मतपत्रमा निर्वाचन चिन्ह ३२ लहर मात्रै

प्रदेश १ का मतदानस्थलमा आज निर्वाचन सामग्री पुगिसक्ने
मङ्गलबार, २७ वैशाख २०७९, ०८ : ४०
मङ्गलबार, २७ वैशाख २०७९

प्रदेश १ का १ हजार ८ सय ७७ मतदानस्थलममा आज दिनभरिमा निर्वाचन सामग्री पुगिसक्ने निर्वाचन कार्यालयले जनाएको छ ।  प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार पहाडी जिल्लामा निर्वाचन सामाग्री पुगिसकेको छ । ‘निर्वाचन सामाग्री पुर्‍याउन कुनै असजिलो भएन, कहीँ बाधा अवरोधको प्रयास पनि भएन, आज दिनभरिमा तराईका जिल्लामा पुर्‍याउँछौँ,’ अधिकारीले भने, ‘विराटनगरलगायतका पालिकामा आजै वितरण हुन्छ ।’

प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेका छन् । उनीहरूलाई सहज मतदान गर्नका लागि ४ हजार ५१ वटा मतदान केन्द्र स्थापना गरिएको छ । अधिकारीका अनुसार ती मतदान केन्द्रको निर्माणको काम पनि आजैदेखि सुरु हुने र कर्मचारी पनि सो स्थलमा पुग्नेछन् । ‘मतपत्र, स्वस्तिक छापलगायत सबै पुगिसकेको छ,’ अधिकारीले भने, ‘बिना अवरोध काम भइरहेको छ ।’

आज निर्वाचन कर्मचारीले केही सूचना निकाल्ने मुचुल्का बनाउने लगायतका काम गर्ने उनले बताए । निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, म्यादी प्रहरीलगायत परिचालन भएका छन् । आवश्यक सूचना सङ्कलनको लागि राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन भएको छ । कतिपय अवस्थामा हेलिकप्टरबाट गस्ती गर्ने तयारी पनि नेपाली सेनाले गरेको छ ।

प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीका अनुसार ०७४ सालमा जस्तो प्रदेश १ मा सुरक्षा चुनौती नरहेको बताए । हाम्रा सुरक्षा कर्मचारीहरू पहाडी जिल्लामा ठाउँठाउँमा पुगिसकेका छन् । ​बिसीका अनुसार प्रदेश १ का ४ वटा जिल्लाको सीमा नाका पनि भोलिदेखि बन्द गरिने भएको छ । ‘भारतसँग जोडिएका ४ वटा जिल्ला इलाम, झापा, मोरङ र सुनसरी नाका ७२ घण्टा बन्द रहन्छ,’ बिसीले भने, ‘अति आवश्यक काम परेकाहरू भारत जान पाउँछन्, तर नेपाल आउन पाउँदैनन् ।’

विराटनगरको मतपत्र सबैभन्दा सानो, निर्वाचन चिन्ह ३२ लहर मात्रै

३ सय मतदानस्थलमा ८ सय २० वटा मतदान केन्द्र रहेको मोरङको विराटनगरमा भने सबैभन्दा सानो मतपत्र हुने भएको छ ।

विराटनगरको मतपत्र भने मनोनयनको आधारमा छपाइएको हो । देशभरका ६ महानगरबाहेक अन्य ७४७ पालिकाहरुमा भने निर्वाचन आयोगले अनुमानका आधारमा धेरै निर्वाचन चिन्ह राखेर मतपत्र छपाएको छ । ‘विराटनगरमा सानो मतपत्र छ, जम्मा ३२ लाइनको मात्रै हुनेछ,’ अधिकारीले जानकारी दिए, ‘एउटा दलको एक जनाले मात्रै उम्मेदवारी दिएको भए पनि ७ वटै चिन्ह राखिएको छ ।’

विराटनगर महानगरपालिकामा प्रमुखमा ५ दलीय गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला र उपप्रमुखमा जसपाका अमरेन्द्र यादवको उम्मेदवारी छ । 

यस्तै नेकपा एमालेको तर्फबाट प्रमुखमा सागर थापा र उपप्रमुखमा शिल्पा कार्कीको उम्मेदवारी रहेको छ । राप्रपाबाट प्रमुखमा पल्हादप्रसाद साह, स्वतन्त्रबाट उमेश यादव, सक्रिय गौतम, राष्ट्रिय जनमत पार्टीबाट अरुण मण्डललगायत १६ जनाको उम्मेदवारी परेको छ । मोरङका १ सय ५९ वटा वडाका ७ लाख १५ हजार २ सय २३ मतदाता छन् । यस पटक मात्रै मोरङमा १ लाख ४१ हजार मतदाता थपिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप