बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवारको निधन भएका स्थानमा कहिले हुन्छ चुनाव ?

मङ्गलबार, २७ वैशाख २०७९, १२ : १४
मङ्गलबार, २७ वैशाख २०७९

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारको मृत्यु भएको छ । उनीहरुको मृत्युसँगै सो स्थानको चुनाव अनिश्चित बनेको छ ।  कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुखका लागि उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनलाई हृदयघात भएको थियो । उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा  गएराति मृत्यु भएको हो । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आज निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए । 
यस्तै  दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका लागि एमाले उम्मेदवार लवरु चौधरीको पनि निधन भएको छ । चुनाब प्रचारकै क्रममा  विरामी परेपछि उनलाई उपचारका लागि २ पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । 

त्यहाँ पनि  उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको  थियो । जहाँ गएराति उनको मृत्यु भएको  एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए । उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गरेका थिए ।

यी दुई स्थानमा कहिले निर्वाचन गर्ने भन्नेबारे आयोगले निर्णय गरिसकेको छैन । आयोगले वैशाख ३० मै ती स्थानीय तहमा चुनाव गर्ने वा पछि गर्ने भन्नेबारे निर्णय गर्न बाँकी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । 

‘आयोगले अब अर्को कार्यतालिका निकाल्छ । जुन दलको उम्मेदवारको मृत्यु भयो त्यो दलले उम्मेदवारी दिने अवसर त पाउनुप¥यो नि । यसबारे आयोगले निर्णय गर्छ’, उनले भने। 
उम्मेदवारको मृत्यु भएका यी स्थानीय तहमा वैशाख ३० गते नै चुनाव गर्ने वा पछि गर्ने भन्नेमा आयोगले छिट्टै निर्णय गर्ने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप