शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के पीएल सिंहजस्तै सम्झन योग्य होलान् त बालेन ?

सोमबार, १६ जेठ २०७९, १२ : २८
सोमबार, १६ जेठ २०७९

काठमाडौं महानगरको नवनिर्वाचित मेयर मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले आज पदको शपथ गर्दैछन् । स्वतन्त्र उम्मेदवारको रुपमा विजय हासिल गरेपछि बालेनले सबैको मन छुने गरी भने, ‘मेरो जित कसैको हार हैन, त्यसैले मेरो विजयको उत्सव नमनाऔं । मैले त केवल ३५ प्रतिशत जति मात्र भोट ल्याएको हुँ, बाँकी ६५ प्रतिशतको भोट त मैले पाएकै छैन ।’ 

जागरुक युवाहरुले परिवर्तनका पक्षमा दिएको अपार मतका कारण जोसिला र जाँगरिला युवा उम्मेदवार बालेनको विजयले परम्परागत शक्तिको प्रतिनिधित्व गर्ने ठूला पार्टीका हस्तीहरु यसपालि राजधानी सहरमा नराम्ररी पछारिए । लोकप्रिय र्‍यापर तथा इन्जिनियर बालेनले यसरी ६१ हजारभन्दा बढी मत ल्याएर मेयर पदमा विजयी भए । उता नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले ३८ हजार भन्दा बढी मत ल्याई दोस्रा भइन् । सिर्जनाको हारले राजधानीले पहिलो महिला मेयर चुन्ने अवसरलाई गुमाउन परेको यथार्थलाई भने बिर्सिन सकिन्न । तर आफ्नो हारलाई सहज रुपमा लिंदै बालेनलाई वधाई दिने क्रममा सिर्जनाले भनिन्, ‘मतले पराजित भए तापनि मैले मतदाताहरुको मन जित्न सफल भएकी छु ।’

यसरी काठमाडौंले पीएल सिंहपछि झण्डै तीन दशकको अन्तरालमा एक अर्का लोकप्रिय मेयर पाएको छ । नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको धर्मपुत्रका रुपमा चिनिने पीएलले काठमाडौं महानगरको नगरपिताको रुपमा बिताएका ती पाँच वर्षको समय अहिले पनि राजधानीबासीहरु झल्झली सम्झिने गर्छन् । बहुदलीय प्रजातन्त्र पुनस्थापनापश्चात २०४८ सालमा काठमाडौं महानगरले काँग्रेसका लोकप्रिय नेता पीएललाई पहिलो निर्वाचित मेयरको रुपमा नगरको नेतृत्व सुम्पेपछि उनले स्वच्छ, सफा, हराभरा काठमाडौंको नारा दिएका थिए । उनले काठमाडौंलाई महानगर बनाउन कानूनी संरचनाका साथै अन्य पूर्वाधारहरु तयार गरी विदेशबाट प्रसस्त सहयोग ल्याउने प्रवन्ध मिलाएका थिए । 

आज पनि राजधानीबासीहरुले काठमाडौंको मेयरको नाउँ लिनु पर्दा सबैभन्दा अग्रस्थानमा पीएल सिंहको नाउँ अगाडि सार्छन् । र, उनी आज पनि राजधानीबासीको हृदयमा इज्जतका साथ सम्मान बनाउन सफल भएका छन् । काठमाडौंको रिंगरोडमा ग्रीनवेल्ट बनाउने, विष्णुमती लिंक रोड निर्माण गर्ने, मेलम्चीको पानी राजधानीमा ल्याउने लगायतका महत्वपूर्ण कार्यहरु उनैको पालोमा सुरु गरिएको थियो ।

गणेशमान सिंहको जन्मथलो काठमाडौंमा नेपाली काँग्रेसको परम्परागत रुपमै राम्रो प्रभाव रही आएको मानिन्छ । उनले राणा कालमा भोगेका दुःख, कष्ट, गरेका त्याग, तपस्याका कारण पनि काठमाडौंवासी उनका सामू नतमस्तक छन् । कहिलेकाहीँ गणेशमानले उनको खरो बोलीका कारण गाली गर्दा पनि त्यसलाई एक अभिभावकको पथप्रदर्शनको रुपमा राजधानीवासीले लिने गरेका छन् । २०४२ सालमा पञ्चायतको आउटपोष्ट कब्जा गर्ने रणनीतिका रुपमा काँग्रेसले काठमाडौं नगर पञ्चायतमा गणेशमानको लौरोको रुपमा त्यस वखतका होनहार युवा कार्यकर्ताहरु हरिवोल भट्टराई र तीर्थराम डंगोललाई उठाउँदा भारी बहुमतले चुनाव जितेको कुरा यहाँ स्मरणयोग्य छ । 
अहिले तिनै सिंह परिवारको विरासत थाम्ने सिर्जनाले भने प्रतिकुल परिस्थिति र युवा जगतको बदलिंदो इच्छा आकांक्षाकालाई बुझ्न नसक्दा सफलता हात पार्न सकिनन् । तर संयोग पनि कस्तो, गणेशमानको विरासत थाम्न हिँडेकी सिर्जनाले चुनावमा पराजय भोग्नु पर्दा अर्कै स्वतन्त्र उम्मेदवारको चिन्ह लौरो नै विजय हुन पुग्यो ।

सिर्जनाले चुनाव हार्नुको एउटा प्रमुख कारण बालेनले सोसल मेडियामार्फत् आफ्नो प्रचार अभियानलाई तीब्र बनाई युवा जगतको व्यापक समर्थनलाई परिचालित गर्ने क्षमता प्रदर्शन गरे । अर्को काँग्रेसले राजधानीमा गठबन्धन गरेका दुई प्रमुख दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको राजधानीमा नगण्य प्रभाव ह्ुनु पनि महत्वपूर्ण कारण बन्यो । यसपालिको स्थानीय चुनावमा बहुचर्चित बन्न पुगेको काठमाडौं र भरतपुर महानगरमध्ये भरतपुरमा प्रचण्डकी पुत्री रेणु दाहालको पक्षमा काँग्रेसले बलियो समर्थन जुटाउन सक्नु नै उनको विजयको प्रमुख कारक बनेको थियो । तर राजधानी सहरमा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी तथा सर्वोच्च नेता गणेशमान सिंहकी बुहारी सिर्जनाले भने सत्ता गठबन्धनको कमजोर स्थितिका कारण अपेक्षित सफलता हात पार्न सकिनन् । 

वास्तवमा सिर्जनाले महानगरको मेयर पदको चुनावमा हारे तापनि उनको एजेण्डाले भने हारेको छैन । महानगरका ३२ वडामध्ये १९ वटा वडामा उनकै नेतृत्वमा चुनाव लड्ने नेपाली काँग्रेसका वडाध्यक्षहरुले विजय हासिल गर्नु पनि उनको एक महत्वपूर्ण सफलता हो । बालेनले महानगरमा जुनसुकै महत्वपूर्ण निर्णय गर्दा पनि काँग्रेसका वडाध्यक्षहरुको समर्थन प्राप्त गर्नु आवश्यक हुन्छ । र, काँग्रेसले पनि राजधानीका जनताको हक र हितको प्रवद्र्धन गर्ने हरेक कार्यमा उनलाई समर्थन र सहयोग गर्नु आवश्यक हुनेछ । सिर्जनाले पदमा नरहेर पनि काँग्रेसका ती बहुसंख्यक वडाध्यक्षहरुलाई प्रभावकारी रुपमा परिचालित गर्न सकेमा चुनावताका गरिएका कवुल तथा आफ्ना एजेण्डालाई कार्यान्वयन गराउन सफल हुने छिन्, जसले आगामी दिनमा अवश्य पनि सकारात्मक नतिजा ल्याउने छ ।

सिर्जना सिंहले चुनावको प्रचार अभियानको क्रममा महानगरलाई ‘महान घर’मा परिणत गर्छु भनेकी थिइन् । उनले महानगरलाई स्वच्छ, सफा र सुव्यवस्थित सहरको रुपमा विकास गर्दै महानगरपालिकालाई भ्रष्टाचारमुक्त र सुशासनले युक्त बनाउनेछु भनी आफ्नो चुनाव घोषणापत्रमा प्रतिवद्धता व्यक्त गरेकी थिइन् । साथै राजधानी सहरलाई महिलाहरुको निम्ति राती समेत हिँड्दुल गर्न योग्य सुरक्षित बनाउँछु भन्ने उनले वाचा गरेकी थिइन् । नवनिर्वाचित मेयर बालेनका एजेण्डामा पनि तिनै कुराहरु अधिकांश रुपमा समाविष्ट छन् । 

राजधानीका सचेत मतदाताहरूले यसपालि भ्रष्टाचार र अपारदर्शिता विरुद्ध, कुशासन र अव्यवस्थाको अन्त्यका निम्ति एवं सहरको रचनात्मक विकास, कला संस्कृतिको संरक्षण, सम्वद्र्धन एवं महिला सुरक्षा र सवलीकरणका निम्ति नै मतदान गरेका हुन् । तसर्थ महानगरको निर्वाचनमा सिर्जनाको हार उनको एजेण्डाको हार पक्कै हुने छैन । त्यस निम्ति बालेनले पनि एक स्वतन्त्र उम्मेदवारको रुपमा सिर्जनासँग सहकार्य गर्न आवश्यक छ । किनभने टिमवर्क विना कोही पनि सफल हुन सक्दैन । एक्लो व्यक्ति जतिसुकै स्मार्ट भए तापनि र जतिसुकै योग्य भए पनि जबसम्म उसले अरुसँग सहयोग र सहकार्य गर्दैन, सफलता हासिल गर्न सक्दैन भन्ने कुरा बालेन जस्तो समझदार मेयरले पक्कै नबुझेको छैनन् होला ।

बालेनलाई महानगरको प्रशासनमा सुधार ल्याउन पनि निकै कठिन संघर्ष गर्नुपर्नेछ । महानगरपालिकालाई स्वच्छ, पारदर्शी, भ्रष्टचारमुक्त र सुशासनले युक्त बनाउन त्यहाँका परम्परागत प्रशासनबाट सहयोग प्राप्त गर्नुपर्ने छ र त्यस्तो अवस्थामा सिर्जनासँग उनको सहकार्य अपरिहार्य जस्तै हुनेछ । झण्डै दुई दशक अभिवावकविहीन जस्तै बनेको काठमाडौंमा अहिले समस्यै समस्याको चाङ छ । खानेपानीको अभाव, खाल्टाखुल्टीले भरिएको सडक, जताततै फोहोर कसिङ्गर, धूवाँ, धूलो, ट्राफिक जाम, अस्तव्यस्तताले ग्रस्त सहर काठमाडौंलाई स्वच्छ, सफा, सुन्दर र बस्न योग्य बनाउनका लागि नयाँ मेयरलाई सबै क्षेत्रको सहयोग र समर्थन आवश्यक पर्छ । 
काठमाडौंलाई नगरबाट महानगर बनाउने र त्यस निम्ति आवश्यक कानूनी तथा भौतिक पूर्वाधारहरु तयार गरिदिने श्रेय काँग्रेसका लोकप्रिय नेता पीएल सिंहलाई नै जान्छ । अहिले हामीले पीएल सिंहको उक्त योगदानलाई कता, कता बिर्से जस्तो अनुभव भइरहेछ । नवनिर्वाचित मेयर बालेनले पनि सर्वप्रथम पीएल दाईको आशिर्वाद लिएर आफ्नो कार्यभार सुरु गर्दा अझ सुनमा सुगन्ध हुने थियो कि ? यो नभुलौं कि पीएलले हालेको काठमाडौं महानगरको जगमा इँटा थप्दै सुन्दर महानगर वा महान घर निर्माण गर्ने अभियानमा लाग्न सकेमा अर्को २५ वर्षपछि पनि बालेनलाई काठमाडौंवासीले सम्झने थिए पीएल दाइलाई जस्तै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिरीषवल्लभ प्रधान
शिरीषवल्लभ प्रधान
लेखकबाट थप