बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

प्रथम विश्वयुद्धमा जर्मनीलाई धोका दिन फ्रान्सले जब नक्कली पेरिस शहर बनायो

मङ्गलबार, २४ जेठ २०७९, १७ : १६
मङ्गलबार, २४ जेठ २०७९

४ अक्टोबर सन् १९२० मा, बेलायती अखबार ‘द ग्लोब’ मा  ‘अ मोक पेरिस स् फ्रेन्च प्लान टु डिसिभ जर्मन इनभेडर्स’ (नक्कली पेरिसस् जर्मन आक्रमणकारीहरूलाई धोका दिने फ्रान्सको योजना) शीर्षकको रिपोर्ट प्रकाशित भयो । प्रतिवेदनको शीर्षक निकै रोचक थियो ।

अखबारका अनुसार युद्ध र छलको यो कथा त्यति नै बेला सार्वजनिक भएको थियो र यसमाथि विश्वास गर्न लगभग मुश्किल थियो ।

प्रतिवेदनमा भनिएको थियो, ‘प्रथम विश्वयुद्धको समयमा दुबै पक्षबीच अस्थायी युद्धविराम भएको थियो । यस अवधिमा सैन्य गतिविधि रोकिएको थियो । यही अवसरको फाइदा उठाउँदै फ्रान्सेली इन्जिनियरहरूले ठूलो काम गरे, उनीहरूले पेरिसबाट धेरै टाढा अर्को पेरिस निर्माण गरे । यहाँका गल्ली, घर, स्टेशन र ट्रेनसमेत रेलवेलगायत पूराका पूरा शहरको प्रतिलिपी तयार गरियो, त्यसलाई वास्तविक शहरजस्तो बनाइएको थियो ।’

यो वास्तवमा इलेक्ट्रिकल इन्जिनियर फर्नान्ड जाकोपोजीको कल्पना थियो, जुन उनले फ्रान्सेली सरकारसँगको सहकार्यमा वास्तविकतामा परिणत गरे ।

यो जर्मन विमानहरूलाई धोका दिने र तिनीहरूलाई वास्तविक राजधानीबाट टाढा लैजाने एउटा तरिका थियो । यदि बममार्फत् हमला भइहाले तापनि कोही पनि नमारिउन् र खासै केही क्षती पनि नहोस् भन्नका लागि यस्तो गरिएको थियो ।

पेरिसमा आक्रमण गर्ने पहिलो जर्मन विमान तौब लडाकु विमान थियो, जसले पेरिसमा ३० अगस्त १९१४ मा बम खसालेको थियो । पछि, जर्मनीले लन्डनमा आक्रमण गर्न पंक्षी आकारका विमानहरू पनि प्रयोग गरेका थिए ।

पेरिसमा जर्मनीको चासो हुनुमा दुईवटा कारण थिए । पहिले युद्धको मैदानको सबैभन्दा नजिकको कुनै देशको राजधानी थियो भने त्यो पेरिस थियो । यहाँ हमला गर्नका लागि जर्मन विमानले लगभग तीस किलोमिटरको दुरी मात्र
 निश्चित गर्नु पर्दथ्यो । र दोस्रो यो हो कि राजधानी भएका कारण यो फ्रान्सका लागि निकै महत्वपूर्ण थियो ।

पेरिस मा पहिलो जर्मन आक्रमण ३० अगस्त १९१४ मा भएको थियो । कुनै देशको राजधानीमा आक्रमण भएको यो पहिलो घटना हो । हताहतको संख्या धेरै थिएन तर यसले ठूलो मानसिक क्षति पुर्यायो ।

अब युद्धको हद आकाशसम्म फैलिसकेको थियो र युद्धभूमिमा नजाने बालबालिका र महिलाहरू पनि आक्रमणमा पर्न थालेका थिए ।

आकाशबाट बमबारी भइरहेको थियो

त्यसपछि अर्को १८ महिनासम्म सहरमा धेरै पटक आक्रमण भएको थियो । यसमा मार्च १९१५ मा जेपेलिनद्वारा गरिएको पहिलो आक्रमण समावेश छ । जेपेलिन, काउन्ट फर्डिनान्ड भोन जेपेलिन द्वारा आविष्कार गरिएको थियो ।

यी विमानले बेल्जियम एयरपोर्टबाट उडान भरे र पेरिसमा बम खसाले । यद्यपी यी आक्रमणमा मारिनेको संख्या धेरै थिएन ।

२९ जनवरी १९१६ मा फ्रान्सको राजधानीको आकाशमा दुईवटा जेपेलिन देखिए । उनीहरुले खसालेको बममा २४ जनाको ज्यान गएको थियो भने ३० जना घाइते भएका थिए । ७ फेब्रुअरी १९१६ मा मृतकको शवयात्रा निकालिएको थियो, त्यसदिन पेरिसको समय रोकिएको जस्तै भएको बताइन्छ ।

मृतकका कफिनलाई ६ वटा गाडीमा राखेर नोट्रे डैम चर्चमा लगिएको थियो । शवयात्रामा राजनेता र अधिकारीहरुका साथै हजारौँ मानिसहरुको सहभागिता रहेको थियो ।

यस समयमा चर्चमा एक विशेष प्रार्थना सभा आयोजना गरिएको थियो, जहाँ पेरिसका आर्कबिशप कार्डिनल लियोन अडोल्फे आमेट पनि उपस्थित थिए । बेलायती अखबारले पछि यो प्रार्थनाले ‘मानिसहरूलाई भित्रैदेखि स्तब्ध पारेको’ दाबी गर्‍यो।

उनले प्रार्थना गर्दै भने, ‘तपाईं जर्मन बर्बरताको शिकार हुनु अघि, यी मृत्युहरूले तपाईंलाई मानवता र जित्ने तपाईंको संकल्पको सम्झना दिलाउनेछ, ताकि तपाईंले शत्रुलाई निशस्त्र पार्न र उसलाई फेरि त्यस्ता अपराधहरू गर्नबाट रोक्न सक्नुहुन्छ ।’

तर आगामी महिनाहरूमा फ्रान्समा आक्रमणहरू बढ्न थाले, तिनीहरूलाई रोक्न गाह्रो भयो ।

दोस्रो पेरिस निर्माण गर्ने योजना

सन् १९१७ मा जर्मनीले लन्डनमा आफ्नो ध्यान केन्द्रित गर्दा फ्रान्सले केही राहत पायो । लन्डनमा आक्रमण गर्न उसले आफ्ना नयाँ बमवर्षक गोथा विमानहरू प्रयोग गरिरहेको थियो । जुनमा भएको एक आक्रमणमा बेलायतका १६२ जनाको मृत्यु भएको थियो ।

फ्रान्सलाई थाहा थियो कि लन्डनमा क्षति पुर्‍याएपछि, जर्मनहरू फेरि आफैँतिर फर्कनेछन् । यस्तो अवस्थामा उनको अगाडि प्रश्न थियो, आफूलाई कसरी जोगाउने ?

फर्नान्ड जाकोपोजीसँग यो कठिनाईको सामना गर्ने समाधान थियो ।

इटालियन शहर फ्लोरेन्समा जन्मेका फर्नान्ड ज्याकोपोजीले यसअघि सन् १९०० मा पेरिस अन्तर्राष्ट्रिय प्रदर्शनीमा काम गरिसकेका थिए । त्यसबेला यो विश्वस्तरीय आयोजना हुने गर्दथ्यो जसमा पछिल्ला शताब्दीका उपलब्धिहरू सम्झना गरिन्थ्यो र  आउँदो शताब्दीमा मानिसले के हासिल गर्न सक्छ भन्ने कुराको चर्चा गर्ने गरिन्थ्यो ।

जाकोपोजीले भोलिको समय नयाँ आविष्कारको लागि हुने विश्वास राख्दथे  । एक विद्युतीय इन्जिनियरको रूपमा, उनले आफ्नो उतकृष्ट भविष्यका लागि पेरिस जाने निर्णय गरे र एक स्थानीय पत्रिकाका अनुसार यहाँ नै ‘विद्युतीय प्रकाश’ बारे अनुसन्धान गर्न थाले ।

पेरिसको नक्कली शहर बनाउने परियोजनामा ​​ज्याकोपोजी पनि संलग्न भए, यद्यपि यसको पछाडि के कारणहरू थिए भन्ने अहिलेसम्म थाहा छैन । सन् १९१७ को उत्तरार्धमा, उनलाई देशको युद्ध विभाग, डिफेन्स कन्ट्रे एभियन्सद्वारा हवाई आक्रमणबाट फ्रान्सको रक्षा गर्ने जिम्मेवारी दिइएको थियो । यस अन्तर्गत जर्मन विमानहरूलाई धोका दिन पूरै शहर बनाउने योजना बनाइएको थियो ।

आजको आधुनिक समयमा यो योजना निकै काल्पनिक देखिन्छ, तर त्यसबेला यस्तो योजना अपनाउनुको कारण बुझ्न गाह्रो छैन ।

त्यतिबेला आकाशबाट युद्ध गर्ने प्रविधि सुरुवाती चरणमा थियो । विष्फोटक पदार्थ विमानबाट बोकेर आकाशबाट हेरेर सिधै लक्ष्यमा खसालिने गरिन्थ्यो । प्रविधिको अभावका कारण पाइलटहरूले राति आकाशबाटै थाहा पाउन सक्दैन थिए कि उनीहरू वास्तविक पेरिसमा उडिरहेका थिए कि नक्कली पेरिसमाथि ।

रातको अँध्यारोमा राजधानीतर्फ शत्रुका विमान उड्ने गर्दथे । तिनीहरूसँग प्राविधिक उपकरणहरू हुँदैनथे । यसको साटो  स्थलाकृतिको जानकारी दिने नक्साहरू भने हुने गर्दथे ।

तिनीहरू सेन नदी नजिकै भएर उड्थे र बम खसाल्थे । पेरिस शहर फ्रान्सको उत्तरमा बग्ने सेन नदीको छेउमा अवस्थित छ ।

तर यो नदी सिधा बग्दैन । प्रसिद्ध पेरिस ब्रिज र आइफिल टावरको छेउमा पुग्दा नदी एक पटक होइन दुई पटक ऊँटको कुम जस्तै घुम्छ ।

यससँगै मायसौं–लफिते नामको एउटा स्थान छ जसलाई जोकोपोजीले नक्कली पेरिस शहर बनाउन रोजे ।

यसका साथै, जर्मन विमानहरूलाई धोका दिन दुईवटा नयाँ आधारहरू निर्माण गरिए, पहिलो राजधानीभन्दा १६  किमी टाढा पूर्वमा वेसरज–सर–मानेमा नक्कली औद्योगिक क्षेत्र र पेरिसको उत्तरमा बसेको सौं डिनी उपनगरीय इलाकाको तर्जमा उत्तरपूर्वतर्फ विलेपिन्टाइनमा एक नक्कली सौं डिनी बनाउने योजना बनाइएको थियो ।

प्रकाशको खेल

सन् १९१८ मा विलेपिन्टाइनमा जेकोपोजीले प्रकाशको खेल सुरु गरे । प्रकाशमार्फत् उनले यहाँ पेरिसकामे सबैभन्दा व्यस्त रहने रेलवे स्टेशन गारे–दे–लेत बनाए र एउटा चल्ने ट्रेनसमेत बनाए ।

प्रकाशमा आफ्नो वर्षौंको अनुसन्धानको पूर्ण सदुपयोग गर्दै, जाकोपोजीले गुडिरहेको रेलको छाप सिर्जना गर्न काठको फल्याकहरू र कन्वेयर बेल्टमा बत्तीहरू राखेर रेलका डिब्बाहरु बनाए । आकाशबाट हेर्दा यो गुडिरहेको रेल जस्तो देखिन्थ्यो ।

औद्योगिक क्षेत्र सिर्जना गर्न, जाकोपोजीले काठको पूर्ण प्रयोग गरे र कारखानाको संरचना बनाए । फ्याक्ट्रीको छतमा उनले क्यानभास प्रयोग गरे जसलाई उनले विभिन्न रंगले पेन्ट गरे ।

उनले चलाखीपूर्वक सेतो, पहेँलो, रातो जस्ता विभिन्न रंगका बत्तीहरू प्रयोग गरे । यसो गरेर कारखानामा आगो बलिरहेको र त्यसबाट धुवाँ निस्किरहेको जस्तो देखिन्थ्यो । जर्मन पाइलटहरूलाई कुनै शंका नहोस् भनेर प्रकाशलाई प्राकृतिक देखाउने उनको प्रयास थियो ।

जाकोपोजीको कडा परिश्रमको नतिजा त्यतिबेलासम्म देखिइसकेको थियो जब एक जर्मन गाथा विमानले १६ सेप्टेम्बरमा राजधानीमा २२,००० किलोको एउटा बम खसालियो । यो हमलामा ६ जनाको मृत्यु भयो र १५ जना घाइते भए ।

योजना थियो कि अर्को आक्रमण अघि, जाकोपोजी द्वारा बनाईएको छल सक्रिय हुनेछ । तर त्यो समय कहिल्यै आएन ।

युद्ध दुई महिना पछि समाप्त भयो, र जाकोपोजीलाई थाहा भएन कि उनको योजनाले जर्मन पाइलटहरूलाई धोका दियो वा दिएन ।

तर, युद्ध अघि बढेको भए र शत्रुका विमानहरूले राजधानीलाई निशाना बनाएको भए यो रक्षा रणनीति प्रभावकारी हुने थियो भन्ने फ्रान्स सरकार विश्वस्त थियो ।

जाकोपोजीको नक्कली शहर बनाउने सम्पूर्ण योजना युद्धको अन्त्य पछि पनि गोप्य राखिएको थियो । सन् १९२० मा बेलायती मिडियाले यससँग सम्बन्धित समाचार प्रकाशित गरेपछि मात्रै यसमाथिको  पर्दा उठेको थियो ।

‘द ग्लोब’ लाई अक्टोबरको सुरुमा यसबारे थाहा भयो, तर त्यो भन्दा पहिले‘द इलस्ट्रेटेड लन्डन न्यूज’ ले नोभेम्बर ६, १९२० को आफ्नो अंकमा जाकोपोजीको यो योजनाको बारेमा एउटा लेख लेखेको थियो ( ‘रिमार्केबली इन्टरेस्टिङ रिभिलेशन्स’ (उल्लेखनीय रोचक खुलासाहरू)। यसमा तस्विर, नक्सा र योजनासँग सम्बन्धित अन्य कुराबारे जानकारी दिइएको थियो ।

पत्रिकामा लेखसँगै केही तस्बिर पनि छापिएका थिए । यस फोटो निबन्धको शीर्षक थियो ‘अ फेक पेरिस आउटसाइड पेरिस ः अ सिटी क्रिएटेड टु बी बम्ब्ड ( पेरिसबाहिर अर्को एउटा नक्कली पेरिस, यस्तो शहर जसलाई कम खसाल्नका लागि नै बनाइयो ।)

तर यो लेखमा पेरिसको नक्कली शहरका निर्माताबारे कुनै पहिचान खुलाइएको थिएन ।

पहिचान खुलाइएन

जाकोपोजीलाई पछि फ्रान्सको सर्वोच्च नागरिक सम्मान, लिजन अफ अनरबाट सम्मानित गरियो, र सन् १९२० मा उनले उल्लेखनीय सफलताको आनन्द लिए ।

उनले आइफिल टावरलाई प्रकाशले झल्झलाकार बनाइदिए त्यसपछि पलाइस डे ला कन्कोर्ड जस्ता महत्त्वपूर्ण सहरका महत्वपूर्ण स्थानलाई पनि प्रकाशले जगमगाए ।

व्यापारीहरूले पनि उनमा क्षमता देखे । सिट्रिओनले आइफिल टावरमा आफ्नो कारको विज्ञापन राख्ने जिम्मेवारी उनलाई दिए ।

फर्नान्ड जाकोपोजीको सन् १९३२ मा पेरिसमा मृत्यु भयो ।

उनको मृत्युमा ‘द पिपल’ नामक पत्रिकाले लेख्यो, ‘उनले आइफिल टावरमा लगाएको बत्तीले विश्वभरको ध्यानाकर्षण गरायो । पेरिसलाई उज्यालोको सहर बनाउन उनको ठूलो भूमिका छ ।’

तर अखबारले पहिलो विश्वयुद्धको समयमा फ्रान्सेली सरकारको प्रयास वा पेरिसको नक्कली शहर बनाउने योजनाको बारेमा कुनै उल्लेख गरेको छैन ।

(यो बीबीसी हिस्ट्री म्यागजिन र बीबीसी हिस्ट्री रिभिल्डको आधिकारि वेबसाइटमा प्रकाशित भएको कहानीको अनुवाद हो । )

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप