आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जवा नदीको बालुवा, गरिबको गुजारा

आइतबार, १९ असार २०७९, ०८ : १८
आइतबार, १९ असार २०७९

जुम्ला चन्दननाथ नगरपालिका १ की ५८ वर्षीय बासमती कुलाल हरेक बिहान ५ बजे जवा नदी किनारमा पुग्छिन् । उनी दिनभर जवा नदीमै भेटिन्छिन् । नदीको बालुवा निकाल्ने र बेच्ने उनको दैनिकी हो । त्यही जवा नदीको बालुवा बेचेर उनको परिवारको गुजारा चल्छ । 

उनले भनिन्,‘एकाबिहानै आउँछु । नदीको बालुवामै खेल्छु । बालुवामै रमाउँछु । परिवारको खर्च जोहो गर्ने बालुवा एक स्रोत बनेको छ । जवा नदीको बालुवा जीवन चलाउने गुजारा बनेको छ । उनका छिमेकी धनमाया कुलाल पनि उनीसँगै जवा जान्छिन् । दिनभरि बालुका निकालेर व्यापारीलाई बेच्ने गर्छिन् ।

जुम्लाको जवा नदीमा बालुवा निकाल्नेको भिड नै लागेको देखिन्छ । जवासँगै हिमा र तिला नदीमा पनि बालुवा निकाल्ने कार्य चलिरहेको उनीहरू बत्ताउँछन् ।नदी किनारमै खाना खान्छौँ । बालुवा निकाल्छौँ । 

बिहान आउँदा राम्रो बालुवा निकाल्न मिल्ने उनीहरूको अनुभव छ । बालुवा ननिकालेको दिनमा घरको चुलो बल्दैन । धनमायाले भनिन्,‘एक दिनमा १५ बोरा सम्म बालुवा निकालिन्छ । एक टिपर बालुवा निकालेको खण्डमा तीन हजार देखि ४ हजार रुपैयाँसम्म दिने गरेका छन् । एक टिपर बालुवा सङ्कलन गर्दा पाँच सय रुपैयाँ नदी किनारमा भएको जग्गा धनीलाई उपलब्ध गराउने गरिएको छ । 

विद्यालय जाने बालबालिका समेत बालुवा सङ्कलनका लागि नदी किनारामा पुग्ने गर्छन् । स्थानीय उनिता कुलाल विद्यालय बन्द भएकोले बालुवा निकाल्न थालेको सुनाउँछिन् । बालुवा बेचेको रकमले घर खर्च चलाउन सहज भइरहेको छ । बालुवा बेचेर दैनिक उपभोग्य सामाग्री चामल, तेल तथा लुगाफाटो छोराछोरी किताब, कापी र कलम किन्ने गरेको उनीहरू सुनाउँछन् । 

असार महिनामा पानीको बहाव बढेको छ । जोखिमका बीचमा बालुवा निकालिरहेका छौँ । उनिताले भनिन्,‘जवा नदिमा खाली खुट्टा, नाङ्गो हातमा बेल्चा लिएर बालुवा निकाल्न बाध्य छौँ । नदीमा फ्याँकिएका सिसा, काँडा र डुङ्गाले काट्ने डर हुन्छ । तर बालुवा सङ्कलन नगरी सुख छैन । 

नदी किनारामा झन्डै दुई सय बढी महिला बालुवा निकालेर जीविका चलाउँछन् । विकास निर्माण योजनामा बालुवाको माग बढ्दै गएकाले स्थानीय महिलाहरूले गाउँ नजिकै रोजगारी पाएका हुन् । 

ठेकेदारले बालुवा खरिद गरी ट्याक्टर र टिपर मार्फत सदरमुकाम र आसपासका जिल्लामा पुर्‍याउने गरेको स्थानीय बताउँछ । निर्माण कार्यमा बालुवा अनिवार्य हुने भएकोले माग अनुसार सङ्कलन हुन सक्दैन । 

बालुवाको माग अनुसार निकाल्न सकिँदैन । जवा नदी, तिला र हिमा नदिनमा बालुवा सङ्कलन कार्य तीव्र चलिरहेको छ । गरिबीका कारण बालुवा निकाल्ने महिला र बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । एउटा समूहमा १० देखि २० जनाले बालुवा निकाल्दै आइरहेका छौँ,धनमायाले भनिन्, ‘साउन महिनाको भेलमा पनि ज्यानको बाजी थापेर बालुवा निकाल्नुपर्ने बाध्यता छ । बालुवा बेचेर ५ देखि ८ जनाको परिवार पालिरहेका छौँ । बालुवा सङ्कलनका क्रममा विगत बर्सहरूमा दर्जनौँ मानिसले ज्यान गुमाउनु परिरहेको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप