शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीका सभामुख भन्छन्– संसदीय व्यवस्थाको इतिहासमै दुर्लभ घटनाहरु भए

‘संस्थागत अनुभव नहुँदा हामीले नयाँ–नयाँ खालका परिस्थितिहरुसँग सामना गर्नुपर्‍यो’
आइतबार, १९ असार २०७९, १४ : ५३
आइतबार, १९ असार २०७९

अहिले मुलुक संघीय र प्रादेशिक निर्वाचनको संघारमा छ । आगामी कार्तिक/मंसिर वा फागुनसम्ममा प्रदेश र संघको निर्वाचन गराइसक्नुपर्छ । नयाँ संविधान जारी भइसकेपछिको यो प्रदेश र संघको दोस्रो निर्वाचन हो ।

एकात्मक र केन्द्रीकृत शासन व्यवस्थालाई तीन तहको संघीय स्वरुपमा पुनर्संरचना गरेपछि भएको ऐतिहासिक निर्वाचनबाट राज्यका तीन वटै तहमा जनप्रतिनिधिको शासन स्थापित भयो । त्यसयता जनप्रतिनिधिले ५ वर्षको कार्यकाल पूरा गर्दैछन् । स्थानीय तहका जनप्रतिनिधिले ५ वर्षको कार्यकाल पूरा गरिसकेका छन् र नयाँ स्थानीय तहको निर्वाचनमार्फत नयाँ जनप्रतिनिधि चुनिएका छन् । अब प्रदेश र संघका जनप्रतिनिधिको पनि आगामी मंसिरबाट ५ वर्षे समयावधि सकिँदैछ । यो बीचमा प्रदेश सरकारले संघीय सरकारमा भएका विभिन्न राजनीतिक उतारचढावले कार्य सम्पादनमा ठूलो समस्या भएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही बताउँछन् । संघ सरकारमा भएको राजनीतिक अस्थिरताको असर प्रदेशमा पनि परेकोले कतिपय कुरामा व्यवधान उत्पन्न भएको उनको भनाइ छ ।

कर्णाली प्रदेश सभाको बैठक गत असार १२ गते यता बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभाको दशौं अधिवेशनको १८ औं बैठक अवरोध गरेयता प्रदेश सभा बैठक सुचारु हुन नसकेको हो । बजेटको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान बिष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमालेले बैठक सञ्चालन हुन दिएको छैन । राजनीतिक अस्थिरताका कारण संसदीय काम कारबाहीमा पनि समस्या हुने गरेको अनुभव आफूसँग रहेको सभामुख शाहीले बताए । उनले पहिलो पटक देश संघीय व्यवस्थामा गइसकेपछि विभिन्न संयन्त्र निर्माण गरेर जानुपर्ने हुँदा आएका कठिनाइलाई सामना गरेर अघि बढेको प्रस्ट पारे ।

संघीयतामा संस्थागत अनुभवको कमीका कारण पनि कतिपय नयाँ किसिमका परिस्थितिको सामना गर्नुपरेको उनको भनाइ छ । प्रस्तुत छ, यिनै समसामयिक विषयमा  कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीसँग गरिएको कुराकानीको सम्पादित अंश–

कर्णाली प्रदेशको पहिलो सभामुख भएर भूमिका निर्वाह गर्दा कस्तो अनुभव रह्यो ?

खासगरी व्यवस्था परिवर्तनपछि हामीले जे जिम्मेवारी पायौँ, यो जिम्मेवारी भनेको हाम्रा लागि अथवा हाम्रो शासन प्रणालीकै लागि एउटा नयाँ जिम्मेवारी हो । यो जिम्मेवारीलाई हामीले निर्वाह गर्दा, निर्वाह गर्ने प्रक्रियामा हामीसँग विशिष्टखालका अनुभव छन् । किनभने हामीसँग संस्थागत कुनै त्यस्तो अनुभव नभएको सन्दर्भमा काम गर्दा हामीले संघीय संसदमा काम गरेका व्यक्तित्वहरु, संघीय संसदलाई सहयोग गरेका सहयोगी संस्थाहरु, व्यक्तिहरु, सबैको सहयोगले हाम्रो प्रदेशसभालाई अगाडि बढायौँ । शून्य अवस्थाबाट अहिले संस्थागत स्वरुपमा यो प्रदेशसभालाई ल्याउँदा विशिष्ट, मिश्रित खालका अनुभवहरु छन् ।

प्रदेशसभा होस् अथवा संघीय संसदकै कुरा होस्, हरेकपटक संसदभित्रको पारदर्शिताको कुराहरु पटक–पटक परिचर्चा हुने गरेका छन्, यहाँले प्रदेशसभालाई पारदर्शी बनाउन कस्तो भूमिका निर्वाह गर्नुभयो ?

हामीले प्रदेशसभाको पहिलो बैठकदेखि यसलाई पारदर्शी बनाउने कोसिस निरन्तर गरेका छौँ । हामीले पारदर्शी बनाउने प्रक्रियामा सुरुदेखि लाइभ प्रसारण ग¥यौं । वेबसाइट हामीले निर्माण गरेका छौं । त्यो मार्फत हाम्रा सबै गतिविधि वेबसाइटमा अपडेट गर्छौं । हाम्रो आफ्नै युट्युव च्यानल छ । त्यसमार्फत हामी लाइभ गर्छौं । प्रदेशसभा स्थापनाको सन्दर्भ पारेर हाम्रा गतिविधिहरूका विषयमा नागरिक तहसँग अन्तरक्रिया गर्छौं । हामीले धेरै सन्दर्भमा हाम्रा गतिविधिलाई जनस्तरमा लैजाने प्रयास गरेका छौं । हामीले विभिन्न कार्यक्रम जनतासँग सभामुखदेखि लिएर जनतासँग प्रदेश सभा लगायतका थुप्रै कार्यक्रम जनस्तरसम्म लैजाने, पारदर्शी बनाउने उद्देश्यले नै गरेका छौं ।

त्यसो भएर पारदर्शी बनाउने कुरामा अलि हामी समवेदनशील छौं । अझ बढी गतिविधिहरु पारदर्शी हुनुपर्छ । यो एउटा प्रतिनिधित्वको प्रणाली भएको हुनाले आफ्ना प्रतिनिधिहरूका गतिविधिहरुलाई जनताले प्रष्टसँग नियाल्न पाउनुपर्छ भन्ने मान्यता राख्छौँ । त्यसो भएर त्यसमा हामी समवेदनशील छौं ।

नयाँ संरचनाको पहिलो जगमा नेतृत्व गर्दैगर्दा के–कस्ता चुनौती आए ? नीतिगत रुपमा, व्यवस्थापकीय रुपमा र सदन सञ्चालन गर्ने सवालमा के–के चुनौती खेप्नुप¥यो ?

निश्चय पनि संस्थागत अनुभव नहुँदा हामीले नयाँ–नयाँ खालका परिस्थितिको सामना गर्नुप¥यो । कर्णाली प्रदेशसभा सञ्चालन गर्दा सुरुदेखि, जब हामी यो सभाको नेतृत्वमा आयौँ, त्यो बेलादेखि हामीले बडो संयमता अपनाएर, सजगता अपनाएर प्रदेशसभाका काम, कारबाहीहरू गर्दै आइरहेका छौं । हामीले कुनै पनि निर्णय लिनुभन्दा पहिले, कुनै पनि कारबाही गर्नुभन्दा पहिले त्यसको बहुआयामिक असरहरूलाई आकलन गरेर निर्णय गर्छौं । हाम्रा परम्पराहरू, अन्तर्राष्ट्रिय परम्परा, राष्ट्रिय परम्परा, संसदीय व्यवस्थालाई अगाडि बढ्ने क्रममा स्थापित भएका परम्पराका विषयमा जानकारी लिएर निर्णय गर्दै आएका छौं । त्यसो हुँदा हामीले धेरै ठूलो समस्या झेल्नुपरेको छैन ।

सत्ता समीकरणको विषयमा भएको उतारचढावका कारण कर्णाली प्रदेश केन्द्रीय राजधानीको राजनीति जसरी नै चर्चामा रह्यो, राजनीतिक चर्चाको केन्द्रमा रह्यो, यसले तपाईलाई सदन सञ्चालनमा अप्ठ्यारो पारेन ?

एकदमै अप्ठ्यारो परिस्थिति सिर्जना भयो । व्यावहारिक र संवैधानिक दुवै रुपमा एकदम अप्ठ्यारो परिस्थितिमा हामी गुज्रियौँ त्यो बेला । विश्वमै संसदीय व्यवस्था जहाँ–जहाँ अवलम्वन गरिएको छ, संसदीय व्यवस्थाको इतिहासमै दुर्लभ लाग्ने खालका घटना हाम्रो प्रदेशसभामा भए । त्यसरी सत्ता राजनीतिको खेलमा केही माननीयले ‘फ्लोर क्रस’ गरेर आफ्नो दलभन्दा फरक दललाई सघाएको र त्यसबाट उत्पन्न भएको संवैधानिक परिस्थिति झेल्यौँ । संवैधानिक परिस्थिति भन्नाले एउटा दलबाट निर्वाचित भएको छ, त्यो दलको सदस्य छ तर त्यो दलको अनुमति बिना अर्को कुनै दलको नेतृत्वको सरकारमा बसेको छ । मन्त्रीको हैसियतले त्यहाँ उपस्थित हुने अवस्था छ । जुन दलबाट उहाँहरु जानुभएको हो सम्बन्धित दलले अवरोध, बिरोध गरेको अवस्था छ । प्रश्न गरेको अवस्था छ । हाम्रा अनुमति बिना हाम्रा सांसदलाई लिएर सरकारमा राख्न पाइन्छ कि पाइँदैन भनेर प्रश्न गरेको अवस्था छ । यो अवस्था हाम्रा लागि साह्रै समवेदनशील रह्यो । यो प्रक्रियालाई अगाडि बढाउने सन्दर्भमा हामीले निकै सजगता, संयमता, बुद्धिमता अवलम्वन गर्नुप¥यो । हामीले सजिलैसँगले त्यो अवस्थालाई पार ग¥यौं ।

सत्ता समीकरणका कारण भएको राजनीतिक समस्याको समाधान त निकाल्नुभयो, प्रदेशसभामा देखिएका विभिन्न समस्या निरुपण गर्दा केलाई आधार मान्नुभयो ? अथवा कसरी निरुपण गर्नुभयो ?

हामीले त्यो अवस्थामा दलहरूसँग, सम्बन्धित पात्रहरूसँग व्यवहार गर्दा संविधानलाई मुख्य आधार बनायौं । संसदीय मान्यतालाई प्रमुख आधार बनायौं । परम्परालाई प्रमुख आधार बनायौं । अदालतका फैसलाहरूलाई पनि आधार बनायौं । अदालतले जो निर्णय दिएको थियो त्यसैलाई पनि आधार मानेर हामीले त्यस अनुरुपको व्यवहार ग¥यौं ।

सभामुख पदमा रहिरहेका बेला यहाँले नेकपा(एमाले)को विधान अधिवेशन र महाधिवेशन सहभागी हुनुभएको विषयलाई लिएर पदीय भूमिकाका बारेमा आलोचना, टिकाटिप्पणी भयो, तपाई कुन हिसावले सहभागी हुनुभएको थियो ती दुईवटा कार्यक्रममा ?

पहिलो कुरा त म नेकपा एमालेको विधान महाधिवेशन र नेतृत्व छनोट गर्ने महाधिवेशन दुई वटैमा सहभागी भएको भन्नेकुरा गलत कुरा हो । म सहभागी भएको होइन । मात्र के हो भन्दा म नेकपा एमालेका विधान महाधिवेशन भइराखेको समयमा काठमाडौंमै थिएँ । त्यहाँ देशभरबाट एमालेका नेता, कार्यकर्ताहरु आइरहनुभएको थियो । कुनै नेतासँग मेरो व्यक्तिगत काम थियो । उहाँले महाधिवेशन स्थलमा भेटौँ भनेको हुनाले महाधिवेशन स्थलमा गएको हो । त्यसमा सहभागी भएर सहभागिता जनाएको भन्नेकुरा गलत हो । चितवनमा म गएको छैन ।

प्रदेशको औचित्य सकियो, प्रदेशसभा विघटन गर्नुपर्छ भन्ने कुराहरु आएका छन्, यहाँले प्रदेश सरकार यसरी नै सञ्चालन हुनुपर्छ भन्नुहुन्छ अथवा केही नीतिगत परिवर्तन गर्न आवश्यक छ ?

जुन व्यवस्था हामीले स्थापना ग¥यौं । धेरै लामो समयको संघर्षपछि आम नेपाली जनसमुदायको सहभागितामा, योगदानमा प्राप्त भएको यो व्यवस्था कार्यान्वयनको प्रारम्भिक प्रक्रियामा छौं । कार्यान्वयनको प्रारम्भिक प्रक्रियामै यो व्यवस्थाले हाम्रा समस्याहरु समाधान गर्नसक्ने अवस्था देखाएन, यो व्यवस्थाले प्रभावकारी प्रतिफल प्रदान गरेन भन्नेखालका तर्क आम जनसमुदायमा छ । उहाँहरुले गरिरहनुभएको छ भन्ने मलाई लाग्दैन ।

केही शक्तिकेन्द्रहरु जसलाई यो व्यवस्थाले किनारा लगाएको छ । जसलाई यो व्यवस्थाले उहाँहरुको स्वार्थ पूरा गर्दैन । त्यस्ता शक्तिकेन्द्रबाट प्रायोजित प्रश्नहरु हुन् यी जस्तो मलाई लाग्छ । किनभने जनताले यो व्यवस्थासँग धेरै ठूलो अपेक्षा गरेका छन् । कतिपय सन्दर्भमा बिरोध पनि गरेका छन् । जोसँग अपेक्षा हुन्छ, त्यो अपेक्षा पूरा नभएपछि बिरोध गर्ने हो । प्रदेश सरकारसँग जनताको धेरै ठूलो अपेक्षा छ । प्रदेश सरकारहरुले कतिपय सन्दर्भमा शक्ति संघर्षदेखि लिएर सुविधाभोगका विषयमा केही आलोचना गर्न सकिने ठाउँ छन् तर मुलरुपमा, आजसम्मको इतिहासमा प्रदेश सरकारले सबैभन्दा राम्रो प्रदर्शन गरेको छ । प्रतिफल दिएको छ । जनस्तरमा विकासको गतिलाई अलि तीव्र बनाउने प्रक्रियामा यसको योगदान छ भन्ने म ठान्दछु । यो व्यवस्थाले काम गरेन भन्ने तर्क जनतामा छ जस्तो मलाई लाग्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप