बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मोरङ कारागारमा ४८ जना कैदीबन्दीलाई ज्वरो, कोरोना संक्रमित भएर २३ जना अस्पताल भर्ना

शुक्रबार, ३१ असार २०७९, २२ : ०७
शुक्रबार, ३१ असार २०७९

मोरङको विराटनगर–८ स्थित जिल्ला कारागारभित्र कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनेको कैदीबन्दीको संख्या २३ पुगेको छ । संक्रमितलाई कोशी कोभिड–१९ अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार ४८ जना ज्वरो आएका कैदीबन्दीको नमूना संकलन गरिएको छ । यसअघि, कारागार प्रशासनले बिहीबार उपचारका लागि अस्पताल भर्ना गरेकामध्ये एक जनाको मृत्यु भएको थियो । तर, मृत्युको कारण कोभिड नै हो भन्ने पु्ष्टि भइसकेको छैन ।

मृत्यु हुनेमा ३९ वर्षीय कैदी निरबहादुर नेपाल छन् । उनको मृत्यु भने कोरोनाका कारण नभएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

नेपाल ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले दोषी ठहर गरेपछि २०७६ साउन २५ गतेदेखि कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए । स्थानीय प्रशासनले कारागारका सबै कैदीबन्दीहरुलाई कोरोना विरुद्ध लगाइएको खोपको विस्तृत विवरण पनि माग गरेको छ ।

शुक्रबार आकस्मिक बसेको कोभिड क्राइसिस मेनेजमेन्ट समितिको बैठकले संक्रमण फैलिएको कारागारमा सावधानी अपनाउने, कोशी कोभिड अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

यस्तै कोभिड अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने, आम नागरिकमा सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्ने, संक्रमण जोखिमका बारेमा नागरिकलाई जानकारी गराउने लगायतका निर्णय गरेको छ ।

मोरङ कारागारमा १ हजार ८७ जना कैदीबन्दी छन् । कारागारमा महिला ब्लकमा भने कोरोनाको लक्षणका बिरामी नभएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । कोरोना संक्रमण हुने सबै कैदीबन्दी पुरुष हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप