बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको भद्रगोल भ्रातृ संस्था : देउवालाई साउन मसान्तको डेडलाइन

बुधबार, ११ साउन २०७९, १५ : ०८
बुधबार, ११ साउन २०७९

समयमा महाधिवेशन हुन नसकेर भद्रगोल अवस्थामा पुगेका नेपाली काँग्रेसको भ्रातृ संस्थामा नेतृत्व चयनका लागि पुनः गृहकार्य सुरु भएको छ । गत फागुन ३ गतेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णयअनुसार भंग भएका १० वटा भ्रातृ संस्थामध्ये ४ वटामा मात्र नयाँ नेतृत्व आएको छ ।

त्यतिबेला फागुन मसान्तभित्र १० वटा भ्रातृ संस्थाको केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार देउवाले पाएका थिए । तर पाँच महिनाको यो अवधिमा देउवाले मात्र ४ वटामा मात्र नेतृत्व टुंगो लगाएका हुन् । नेतृत्व चयन गरिएकामा पनि कार्यसमितिले पूर्णता पाउन सकेको छैन । 

अब भने ५ महिनामा हुन नसकेको काम एक महिनाभित्रै टुंगो लगाउने गरी गृहकार्य थालिएको नेताहरुले बताएका छन् । साउन २ गतेको केन्द्रीय कार्यसमिति बैठकले यही मसान्तभित्र भ्रातृ संस्थाको गठन र पूर्णता प्रदान गर्ने निर्णय अनुसार काम भइरहेको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

 ‘भ्रातृ संस्थाको गठन र पूर्णता साउन मसान्तसम्मको टार्गेट हो । यसका लागि तयारी भइरहेको छ’, उनले रातोपाटीसँग भने ।  भ्रातृ संस्थामा नेतृत्व चयन गर्ने क्रममा सभापति देउवाले गत फागुन ९ गते नेविसंघमा दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङलाई सभापति मनोनित गरेका थिए । असार १० गते देउवाले किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघको सभापतिमा ओमबहादुर थापालाई मनोनयन गरेका थिए । पाँच महिनासम्म पनि नेविसंघ र तरुण दलका कमिटीलाई पूर्णता दिने कुरामा भने देउवाको उदासिनता देखिएको छ । त्यसैले नेविसंघका अध्यक्ष शेर्पा र तरुण दलका अध्यक्ष गुरुङले कमिटीको पूर्णताका लागि दौडधूप थालेको बताइएको छ।

 तरुण दलका अध्यक्ष गुरुङले पार्टीका सबैजसो शीर्ष नेतालाई भेटेर कमिटीलाई पूर्णता दिने विषयमा छलफल गर्दै आएका छन् ।  उनले वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, प्रकाशमान सिंह, धनराज गुरुङ, कृष्णप्रसाद सिटौला लगायतसँग भेटवार्ता गरेका हुन् । 

सभापति देउवासहित पार्टीका सबै नेतालाई भेटेर आफूले भेटेर तरुण दलको  केन्द्रीय समिति विस्तारबारे सरसल्लाह लिएको गुरुङले जानकारी  दिए । सभापति देउवाले यथाशीघ्र तरुण दल केन्द्रीय समिति ल्याउन गुरुङलाई निर्देशन दिइसकेको बताइएको छ । 

यस्तै नेविसंघका अध्यक्ष शेर्पाले पनि कमिटीको पूर्णताका लागि आन्तरिक छलफल अगाडि बढाएका छन् । शेर्पाले भने, ‘अबको केही दिनमा नेविसंघले पूर्णता पाउँछ । त्यसका लागि मैले गृहकार्य गरिरहेको छ ।’ 

भ्रातृ संस्थाको नेतृत्व चयनको अधिकार सभापति देउवालाई भएपनि निर्णयमा भने ढिलाइ भएको हो । साउन २ को बैठकको निर्णयअघि नै फागुनको कार्यसम्पादन बैठकले सोही महिनाको मसान्तभित्र भ्रातृ संस्था गठन गर्ने अधिकार देउवालाई दिइएको थियो । 

पछिल्लो निर्णयअनुसार देउवाले पुराना ६ वटा र नयाँ तीन वटा भ्रातृ संस्थामा नेतृत्व चयनका लागि साउन मसान्तसम्मको डेडलाइन पाएका छन् । सोही अनुसार नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघमा नेतृत्व ल्याउनुपर्ने छ ।

हाल नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकूद संघलाई काँग्रेसको भ्रातृ संघको मान्यता प्रदान गरिएको छ । उक्त संघमा पनि नेतृत्व चयन गर्नुपर्ने जिम्मेवारी देउवामाथि छ ।

 यस्तै पार्टीको भ्रातृ संघको रुपमा रहेका नेपाल राष्ट्रिय मगर संघ र नेपाल तामाङ संघ तथा शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ र  लोकतान्त्रिक नेवाः खल अब नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ अन्तर्गत आवद्ध संघको रुपमा रहने काँग्रेसले जनाएको छ ।

काँग्रेसले आदिवासी जनजाति भित्र रहेका अन्य जातजातिहरू (थारू बाहेक) को आवद्ध संघ महासंघले गठन गर्न सक्ने व्यवस्था मिलाएको छ ।

लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यावसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आर्युेवेद चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यावसायी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी संघ, नेपाल लोकतान्त्रिक भूतपूर्व कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ र नेपाल सामुदायिक विद्यालय कर्मचारी संघलाई काँग्रेसले शुभेच्छुक संस्थाको मान्यता दिएको छ । उक्त शुभेच्छुक संस्थाको पनि नेतृत्व चयन गर्न बाँकी छ । पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई चलायमान बनाएर राष्ट्रव्यापी रुपमा विशेष अभियान चलाउने काँग्रेसको योजना छ ।

भदौ २ देखि २४ गतेसम्म राष्ट्रव्यापी रुपमा विशेष अभियान चलाउने काँग्रेस केन्द्रीय कमिटीले निर्णय गरेको थियो । महामन्त्री शर्माका अनुसार अभियानको विस्तृत खाका भने केन्द्रीय कार्यालयले तयार गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप