बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश : सवारी दुर्घटना र विपद्‍बाट एक वर्षमा हजारभन्दा बढीको मृत्यु

बिहीबार, १२ साउन २०७९, ०९ : ०५
बिहीबार, १२ साउन २०७९

मधेस प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटना तथा विपद् जोखिमको घटनामा परी १ हजार ७५ जनाको मृत्यु भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार सवारी दुर्घटनामा परेर ५८५ जना र विपद्का घटनामा परेर ४९० जनाको मृत्यु भएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा मधेस प्रदेशमा ५ हजार ७ सय ११ सवारी दुर्घटना भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जस अनुसार ४४८ पुरुष, ८१ महिला, ४२ बालक र १४ जना बालिका गरी ५८५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी विभिन्न सवारी दुर्घटनामा परी ९ हजार ४ सय ६४ जना घाइते भएका छन् । घाइते मध्ये ६ हजार ६ सय ३४ पुरुष, १ हजार ५ सय २७ महिला, ८ सय ५७ बालक र ४ सय ४६ बालिका रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै प्रदेश प्रहरीले मधेस प्रदेशमा गत वर्ष २ लाख ६४ हजार ३ सय १० सवारी साधनलाई कारबाही गरी २२ करोड ४४ लाख ४० हजार ५०० रुपैयाँ राजश्व उठेको जनाएको छ । गत आर्थिक वर्षमा ५ सय ६४ वटा दुर्घटनाका मुद्दाहरू दर्ता भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै मधेस प्रदेशमा गत आर्थिक वर्षमा १ हजार ८ सय ७८ विपद्का घटनाहरू भएका छन् । सो घटनामा १ सय १७ महिला, २ सय ८ पुरुष र १ सय ६५ बालबालिका गरी ४९० जनाको मृत्यु भएको छ भने ६ सय १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ सय १४ महिला, १ सय ९६ पुरुष र १ सय ५ बालबालिका रहेका छन् । विपद्का घटनामा परी ९ जना बेपत्ता समेत भएका छन् । बेपत्ता हुनेहरूमा २ महिला, २ पुरुष र ५ बालबालिका रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विपद्कै घटनाहरूमा परी गत आर्थिक वर्षमा मधेस प्रदेशमा १ हजार ९ सय १२ चौपायाको मृत्यु भएको छ भने ९९ चौपाया घाइते भएका छन् । विपद्का घटनाबाट मधेस प्रदेशमा गत वर्ष ३३ करोड १४ लाख ४ हजार ८२३ रुपैयाँ बराबरको धनजनको क्षति भएको प्रदेश प्रहरीले जनाएको छ ।

वर्षमा २ करोड भन्दा बढी अवैध रकम बरामद

मधेस प्रदेशका विभिन्न जिल्लाबाट गत आर्थिक वर्ष ०७८/७९ मा स्रोत नखुलेको तथा अवैध रकम बरामद भएको छ । गत आर्थिक वर्षमा स्रोत नखुलेका नेपाली रुपैयाँ २ करोड १८ लाख ६५ हजार ८२० र भारतीय रुपैयाँ २२ लाख ३९ हजार ८०० रुपैयाँ बरामद भएको प्रदेश प्रहरीले जनाएको छ ।

आठवटै जिल्लाको विभिन्न स्थानबाट प्रदेश प्रहरी कार्यालय जनकपुरधामले स्रोत नखुलेको उक्त रुपैयाँ बरामद गरेको हो । एक वर्षमा विभिन्न १४ वटा अवैध वित्तीय कारोबार हुण्डीको घटनाबाट उक्त स्रोत नखुलेको रुपैयाँ बरामद भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

बारामा १ र पर्सामा १३ गरी कूल १४ वटा अवैध वित्तीय कारोबार हुण्डीको घटनामा संलग्न रहेको भन्दै २३ जनामाथि मुद्दासमेत दर्ता गरिएको उनले बताए । उनले नेपाल र भारतको सीमा क्षेत्रमा हुन्डीमार्फत कारोबार हुने गरेकाले स्रोत नखुलेका रुपैयाँ बरामद हुने गरेको बताए ।

त्यस्तै गत एक वर्षमा मधेस प्रदेशमा ६३ जना मानिस हातहतियारसहित पक्राउ परेका छन् । पक्राउ परेका ६३ मध्ये ४६ जनामाथि मुद्दा दर्ता भएको छ भने ११ थान लामो र ३७ थान छोटो हतियारहरूसमेत बरामद भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

४१३ भट्टी नष्ट

त्यस्तै विभिन्न जिल्लामा गत आर्थिक वर्ष ०७८/७९ मा प्रहरीले ४१३ वटा भट्टीहरू नष्ट गरेको छ । त्यस्तै, १ लाख ९८ हजार ५८५ लिटर कच्चा पदार्थ पनि नष्ट गरिएको छ भने ४० हजार ३५२ लिटर तयारी मदिरा नष्ट गरिएको बताइएको छ । अवैध मदिरा कारोबारमा संलग्न रहेको भन्दै गत वर्ष २३ जनालाई पक्राउ गरिएको थियो ।

त्यसैगरी जुवातासतर्फ १८ वटा मुद्दा दर्ता भई ९९ जनालाई पक्राउ गरिएको जनाएको छ । प्रदेश प्रहरी कार्यालयले विभिन्न जुवाखालहरूबाट १६ थान कौरा र १२ बुक ताससमेत बरामद गरिएको जनाएको छ । प्रवक्ता कार्कीले गत एक वर्षको अवधिमा मधेस प्रदेशमा जुवाखालहरूबाट १६ लाख ६५ हजार ३४४ रुपैयाँ बरामद भएको समेत बताए ।

आर्थिक वर्ष ०७८/७९ मा मधेस प्रदेशमा जम्मा ८ हजार ४५४ वटा मुद्दाहरू दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

४७ करोड बढीको सामग्री बरामद

प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष ०७८/७९ मा भन्सार छली गरी चोरी निकासी गरेका ४७ करोड २२ लाख ६७ हजार १९८ मूल्य बराबरका विभिन्न सामानहरू बरामद गरेको छ ।

जसमध्ये ६ करोड १७ लाख ८४ हजार ८८२ को किराना सामग्री, १ करोड २० लाख १२ हजार ५६९ को विद्युतीय सामग्री, १८ करोड ९८ लाख १९ हजार ६१७ रुपैयाँ बराबरको सवारी साधन र पार्टपुर्जा तथा १९ करोड ६९ लाख ६३ हजार ३८१ रुपैयाँ बराबरको लत्ताकपडा, फेन्सी र अन्य सामानहरू रहेका छन् ।

प्रदेश प्रहरीले गत वर्ष १९ लाख ५९ हजार ८३८ रुपैयाँ बराबरको २८६ ग्राम ७९४ मिलिग्राम सुन र ९५ लाख ९ हजार ७१६ रुपैयाँ बराबरको १०५ किलो ७५३ ग्राम ३०७ मिलिग्राम चाँदी बरामद गरेको तथ्याङ्क छ । प्रहरीले भन्सार चोरी निकासीका घटनामा संलग्न रहेको भन्दै गत वर्ष २४६ जनालाई पक्राउ समेत गरेको थियो ।

लागूऔषधको आरोपमा १२८५ पक्राउ

गत वर्ष लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार २६० पुरुष र २५ महिला गरी कूल १ हजार २८५ जनालाई पक्राउ गरिएको जनाएको छ ।

लागू औषध तर्फ प्रहरीले ४ हजार ३५ किलो ८६० ग्राम गाँजा, १६४ ग्राम ब्राउन सुगर, ५१ किलो ५ ग्राम ९८० मिलिग्राम चरेस, ९८ ग्राम १६३५ मिलिग्राम हिरोईन, २१३ लिटर डाईलेक्स डिसि, ७० हजार १२४ पिस लागू औषध ट्याब्लेट र ३९ हजार ६७ पिस लागू औषध इन्जेक्सन बरामद गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, प्रहरीले मधेस प्रदेशमा १ हजार ५२३ जना फरार प्रतिवादीलाई पक्राउ गरी उनीहरूसँग ५ करोड ४ लाख २० हजार ८२२ रुपैयाँ जरिवाना तिर्न लगाएको छ भने नदीजन्य तर्फ ३५१ सवारी साधन र ७८ जना मानिसलाई पक्राउ गरी १ करोड ७६ लाख ७७ हजार २१४ रुपैयाँ राजश्व सङ्कलन गरिएको छ ।

उता, ३९ लाख १ हजार १९५ मूल्य बराबरको १ हजार ९३१ क्यूफिट काठ पक्राउ गरी चोरी निकासीमा संलग्न ३४ जना मानिस र ३८ थान सवारी साधन पक्राउ गरिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप