खर्च विवरण नबुझाउने उम्मेदवारबाट रु ३० करोड असुल गरिने
तोकिएको समय सीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब रु ३० करोड जरिवाना असुल हुने भएको छ । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका एक हजार छ सय ९४ जना उम्मेदवारबाट रु २० करोड ९७ लाख ५० हजार जरिवाना असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार विदुर नगरपालिकामा प्रमुख पदका छ र उपप्रमुख पदका पाँच छन् । बेलकोटगढीमा प्रमुख र उपप्रमुख पदका पाँच–पाँच गरेर दश उम्मेदवारलाई जरिवाना तोकिएको छ । नगरपालिकाका प्रमुख र उपप्रमुखले जनही रु चार लाख ५० हजार तिर्नुपर्ने भएकाले निर्वाचन खर्च विवरण नबुझाएका २१ जनाबाट कुल रु ९४ लाख ५० हजार जरिवाना असुल गर्नुपर्ने देखिएको छ ।
नगरपालिकाको वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार भएर समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सङ्ख्या चार सय २७ छन् । उनीहरूलाई निर्वाचन आयोगले जनही रु दुई लाख जरिवाना तिनुपर्ने निर्णय गरेको छ । आयोगको निर्णयानुसार नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारबाट रु आठ करोड ५४ लाख असुल गर्नुपर्ने देखिन्छ ।
यस्तै गाउँपालिकातर्फ जिल्लामा रहेको १० गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका ९० उम्मेदवारले निर्वाचन खर्च विवरण समयमा नुबझाएकाले जरिवानामा परेका छन् । उनीहरूबाट जनही रु तीन लाख ५० हजारका दरले रु तीन करोड १५ लाख असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिए ।
यस्तै गाउँपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाएका उम्मेदवारको सङ्ख्या जिल्लाभरमा एक हजार एक सय ५६ जना छन् । उनीहरूलाई निर्वाचन आयोगले जनही रु एक लाख ५० हजार जरिवाना लाग्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार गाउँपालिकाका वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारबाट रु १७ करोड ३४ लाख जरिवाना असुल गर्नुपर्ने देखिन्छ ।
गत वैशाख ३० मा सम्पन्न भएको निर्वाचनको खर्च विवरण निर्वाचनको मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो । उक्त अवधिमा खर्च विवरण नबुझाउने सूचीमा निर्वाचित जनप्रतिनिधिसमेत उल्लेख्य सङ्ख्यामा रहेका छन् ।
जरिवानाको निर्णय गरेको छ महिनाभित्र भुक्तानी गरिसक्नुपर्ने जनाएको छ । निर्वाचित पदाधिकारीले उक्त अवधिमा भुक्तानी नगरे स्वतः पद जाने निर्णय भएकाले खर्च विवरण बुझाउन चासो नदिए पनि जरिवाना शुल्क भने समयमै दाखिला हुने विश्वास लिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।
उनको अनुसार निर्वाचन आयोगले गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको उम्मेदवारहरूको नामावली अहिले सार्वजनिक गरेको हो । “कार्यपालिका र जिल्ला समन्वय समितिका अधिकांश उम्मेदवारले पनि खर्च विवरण बुझाउन बाँकी छ”, गौतमले भने, “उनीहरूको हकमा के हुने भन्ने आयोगबाट निर्णय हुन बाँकी छ ।”
नुवाकोटमा स्थानीय तह निर्वाचनअन्तर्गत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार एक सय ७३ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये तोकिएको समयभित्र खर्च विवरण बुझाइनेको सङ्ख्या तीन सय १२ जना मात्र रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण