शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महिन्द्र भर्सेस  राजेन्द्र : गठबन्धनको दोहोरो निर्णयका कारण सर्लाहीमा विवाद

बिहीबार, २७ असोज २०७९, १४ : ५०
बिहीबार, २७ असोज २०७९

सत्ता गठबन्धनको फरक–फरक निर्णयले ​महिन्द्र राय यादव र राजेन्द्र महतो आमनेसामने बनेको सर्लाही–२ मा उम्मेदवारीको विषयमा विवाद उत्पन्न भएको छ । गठबन्धनले जारी गरेको सूची, काँग्रेसले लोसपासँग गरेको सहमति र गठबन्धनले जारी गरेको विज्ञप्तिमा फरक–फरक कुरा उल्लेख भएको कारण सर्लाही–२ मा विवादमा देखिएको हो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष यादव सर्लाही–२ मा माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रतिनिधिसभा सदस्यमा उठेका छन् । नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावमा गएपछि सत्ता गठबन्धनको तर्फबाट सो दललाई केही सिट दिने सहमति भएको थियो । गठबन्धनको तर्फबाट प्रतिनिधिसभातर्फ महिन्द्र राय यादवलाई सर्लाही–२ र मानुषी यमी भट्टराईलाई काठमाडौँ–७ मा उम्मेदवार बनाउने सहमति भएको थियो । 

त्यस्तै, प्रदेशसभातर्फ गंगानारायण श्रेष्ठलाई सिन्धुली–२ (ख), फणीन्द्र देवकोटालाई गोरखा–२ (क), चिनक कुर्मीलाई नवलपरासी (पश्चिम)–२ (क), सुनिल साहलाई सर्लाही–२ (क) मा उम्मेदवार बनाउने सहमति भएको थियो । गठबन्धनले जारी गरेको उम्मेदवारको सूचीमा पनि यो कुरा उल्लेख छ । 

यता, गठबन्धन दलको मुख्य घटक दल काँग्रेसले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग गरेको सहमति अनुसार मधेस प्रदेशमा लोसपाले सात र प्रदेशसभामा १६ सिट दिने उल्लेख छ । त्यस्तै, रुपन्देही ३ को (क) पनि लोसपालाई नै दिने सहमतिपत्रमा उल्लेख छ । 

सर्लाही–२ प्रतिनिधिसभा सदस्य माओवादी केन्द्र र सर्लाही २ (क) नेपाली काँग्रेस र सर्लाही २ (ख) लोसपाले पाउने सहमतिपत्रमा उल्लेख छ । 

​तर हिजो गठबन्धनले जारी गरेको विज्ञप्ति अनुसार सर्लाही २ (क) मा माओवादी केन्द्र (नेपाल समाजवादी पार्टी) र सर्लाही २ (ख) काँग्रेसले पाउने उल्लेख छ । लोसपा र काँग्रेसबीच भएको सहमतिमा प्रतिनिधि सभा अन्तरगत सर्लाही–२ मा मित्रवत प्रतिस्पर्धा हुने सहमति भएको थियो । 

गठबन्धनमा रहेका चार दलबीच भएको सहमतिपत्रमा सर्लाही २ (क) काँग्रेसले पाउने उल्लेख छ । लोसपासँग भएको सहमतिमा पनि त्यही छ । सोही सहमति अनुसार काँग्रेसबाट सर्लाही २ (क) मा जंगिलाल राय र (ख) मा लोसपाका मेथुर चौधरीले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको साथमा उम्मेदवारी पनि दर्ता गराएका थिए । 

यता, माओवादी केन्द्र (नेपाल समाजवादी पार्टी) सँग भएको सहमति अनुसार सर्लाही–२ (क) मा माओवादी केन्द्र (नेपाल समाजवादी पार्टी) बाट सुनिल साह र (ख) मा काँग्रेसबाट कौशल किशोर यादवले महिन्द्र राय यादवको साथमा उम्मेदवारी दर्ता गराएका थिए ।

​विवाद उत्पन्न भएपछि गठबन्धनले हिजो विज्ञप्ति जारी गरेर सर्लाहीको प्रतिनिधि सभा क्षेत्र–२ मा महिन्द्र राय यादव तथा प्रदेश सभातर्फ २ (क) मा माओवादी केन्द्र (नेपाल समाजवादी पार्टी) बाट सुनिल साह र २ (ख) मा काँग्रेसबाट कौशल किशोर यादव आधिकारिक उम्मेदवार भएको स्पष्ट पारेको छ । लोसपाले यस विषयमा असन्तुष्टि जनाएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप