शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब एक शर्तका कारण टुट्यो मुमताज र शम्मी कपुरको विवाह, नायिकाले अस्वीकार गरिन् सम्बन्ध

सोमबार, ३१ असोज २०७९, १६ : २०
सोमबार, ३१ असोज २०७९

मुमताज हिन्दी सिनेमाकी चर्चित अभिनेत्री हुन् । ६० र ७० को दशकमा उनको नामको सिक्का व्यापक रूपमा प्रयोग हुने गर्दथ्यो । धेरै फिल्म निर्माता र निर्देशक मुमताजसँग काम गर्न उत्सुक थिए । अभिनयका साथसाथै उनी आफ्नो लुक्स र सौन्दर्यका लागि पनि निकै चर्चित थिइन् । त्यो जमानाका धेरै कलाकार उनीमाथि फिदा हुने गर्दथे । जसमध्ये एक थिए शम्मी कपूर । रिपोर्टका अनुसार शम्मी कपूर मुमताजसँग प्रेममा परेका थिए । यति मात्र होइन, उनले मुमताजसँग घर बसाउनेसम्मको सपना देखेका थिए र एकदिन मौका हेरेर उनले मुमताजलाई विवाहको प्रस्ताव पनि राखे । तर मुमताजले शम्मी कपुरको यो प्रस्ताव अस्वीकार गरे । आखिर किन ? आउनुहोस्, यसबारे जानकारी लिऔँ ।

एक कुराकानीको क्रममा मुमताजले शम्मी कपुरसँगको आफ्नो सम्बन्ध बारे कुरा गरेकी थिइन् । यतिबेला जब नायिकालाई शम्मी कपुरको विवाहको प्रस्ताव किन अस्वीकार गर्नुभयो भनेर सोधिएको प्रश्नमा उनले भनेकी थिइन्, ‘पूरा दुनियाँ मसँग विवाह गर्न चाहन्थ्यो तर निर्णय मैले गर्नुपर्ने थियो, कोसँग बस्ने भनेर ।’

उनले थपिन्, ‘शम्मी कपुरले मलाई असाध्यै माया र केयर गर्दथे । कसैले यो कुरामा विश्वास गर्दैनन् कि म र शम्मी कपुर एक–अर्कालाई असाध्यै माया गर्दथ्यौँ ।’

कुराकानीको क्रममा मुमताजले आफ्नो र शम्मी कपूरको प्रेमकथालाई उद्धृत गर्दै उनले शम्मी कपूरसँग एउटा शर्तका कारण विवाह गर्न अस्वीकार गरेको बताएकी थिइन् । शम्मी कपूरसँग बिहे नगर्नुको कारण खुलासा गर्दै मुमताजले भनिन्, ‘कपूर खानदानलाई आफ्ना घरकी बुहारीले फिल्म लाइनमा काम गरेको मन पर्दैनथ्यो । शम्मी जीले मलाई  ‘म उहाँलाई मसँग खुसी देख्न चाहन्छु भने, मैले आफ्नो करियर त्याग्नुपर्छ’ भन्नुभएको थियो । म त्यो उमेरमा धेरै महत्वाकांक्षी थिएँ र जीवनको कुनै मोडमा पुग्न चाहन्थेँ । म पनि आफ्नो घर बसाउन चाहन्थेँ तर घरमा नै बस्नुपर्ने कुरा मलाई चित्त बुझेन । त्यसैले विवाहको प्रस्ताव अस्वीकार गरेँ ।’

मुमताज र शम्मी कपूरको जोडी पनि पर्दामा निकै हिट भएको थियो । यी दुईले ‘ब्रह्मचारी’ र ‘वल्लाह क्या बात है’ मा सँगै काम गरेका थिए । यद्यपि शम्मी कपूरसँग मुमताजको जीवन अघि बढ्न सकेन । तर, आज मुमताज आफ्नो वैवाहिक जीवनमा निकै खुसी छिन् । सन् १९७४ मा उनले व्यापारी मयुर माधवानीसँग विवाह गरिन् । विवाहपछि उनीहरुका दुई छोरी भए । यी मध्ये एक छोरी नताशाको विवाह मुमताजका सह–कलाकार र साथी फिरोज खानका छोरा फरदीनसँग भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप