सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

८० वर्षको उमेरमा फेरि चुनावी ब्याटलमा चित्रबहादुर, एमालेका पाठकको कडा चुनौती

सोमबार, ३१ असोज २०७९, १६ : ५२
सोमबार, ३१ असोज २०७९

निर्वाचन आयोगको रेकर्ड अनुसार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८० वर्षका भए । उनै केसीले ८० वर्षको उमेरमा सांसद बन्ने आकांक्षाका साथ बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका केसीको मुख्य प्रतिस्पर्धी एमालेका उम्मेदवार सूर्य पाठक रहेका छन् ।

उसो त यसअघि नै अब निर्वाचन नलड्ने भनेपनि केसी मैदानमा उत्रिएको भन्दै विपक्षी एमालेले चुनावी मसला बनाइरहेको छ । केसी भने गाडीबाट लडेर घाइते भएको बेला चुनाव लड्न सक्दिनँ भनेर विगतमा दिएको अभिव्यक्तिलाई एमालेले तोडमोड गरेको दाबी गर्छन् ।

केसी २०७३ साल मंसिर ८ गते पार्टी कार्यालय कपन जाने क्रममा चाबहिलमा माइक्रोबसबाट लडेर घाइते भएका थिए । त्यसको ठिक एक वर्षपछि सरकारले मंसिरमै प्रदेश र प्रतिनिधि सभा निर्वाचन गराउने निर्णय गरेको थियो । त्यतिबेला लडेर घाइते भएका केसी राम्रोसँग तंग्रिएका थिएनन् । त्यही कारण देखाउँदै केसीले चुनाव नलड्ने बताएका थिए ।  अहिले त्यही विषयलाई नेकपा एमालेले उछालेर ‘केसीलाई पदको भोका’ भन्दै प्रचार गरिरहेका हुन् ।

२०७४ सालमा निर्वाचित पाठक केसीको विगतको त्यही अभिव्यक्ति र उमेरलाई समेत मुद्दा बनाएर चुनावी अभियानमा जुटेका छन् । केसीले ०७४ सालको चुनावदेखि नलड्ने घोषणा गरेर पुनः लड्न आएको भन्दै आफू विजयी हुने पाठकले बताउने गरेका छन् । त्यस प्रशंगलाई केसीले भने राम्रोसँग चिर्न सकेका छैनन् ।

‘चित्रबहादुर केसीको उमेर ८० वर्ष भइसक्यो । अब संसदमा गएर उहाँले प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुहुन्न’ एमाले एक केन्द्रीय सदस्यले भने, ‘२०७४ सालको चुनावदेखि अब लड्दिनँ भनेर गएको नेता फेरि आउनुभयो । सांसद पदलाई उहाँले जागिर जस्तै बनाउनुभयो । नेपालको राजनीति बुझिनसक्नु छ ।’

तर, गठबन्धनका साझा उम्मेदवार केसीले गाडीबाट लडेर घाइते भएर चुनाव लड्न सक्दिनँ भनेर दिएको अभिव्यक्तिलाई एमालेले तोडमोड गरेर झुटको खेती गरेको भन्दै आक्रोश पोखे । ‘मैले ०७४ सालको मात्रै चुनाव लड्दिनँ  भनेको थिएँ ।  आजीवन चुनाव लड्दिनँ भनेको होइन । मैले भनेको कुरालाई तोडमोड गरियो । एमालेले झुटको खेती ग¥यो’ केसीले रातोपाटीसँग भने, ‘त्यतिबेला म गाडीबाट खसेको थिएँ । असक्त थिएँ । जनताको बीचमा भोट माग्न जानसक्ने अवस्था थिएन । आजीवन चुनाव लड्दिनँ भनेर भन्यो भनेर अहिले प्रचार गरे ।’

केसी जनमोर्चा र गठबन्धनका साझा एजेण्डलाई आधार बनाएर आफू निर्वाचित जिकिर गर्छन् । ‘राष्ट्रिय जनमोर्चाका महत्त्वपूर्ण एजेण्डा छन् । देशलाई संघीयतामा लगेर टुक्रा टुक्रा पार्ने खेल भयो । त्यो समयले पनि पुष्टि गर्दै छ । त्यसको खारेजीको मुद्धा उठाउँदै आएका छौँ, ’ केसीले भने, ‘देशमा प्रतिगमनको अझै खतरा छ । यो मुलुकमा  २–२ पटक संसद विघटन भयो । देशलाई अस्थिरताको भूमरीमा फसाउने काम भयो । प्रतिगमनकारीलाई परास्त गर्न मेरो उम्मेदवारी हो ।’

आफ्नो उमेरलाई एमालेले मुख्य मुद्दा बनाएको विषयमा समेत केसीले खण्डन गरे । युवा भनेर मात्रै नहुने भन्दै उनले सोच, विचार र दृष्टिकोण ठिक हुनुपर्ने जिकिर गरे ।

यता एमालेका प्रतिनिधि सभा उम्मेदवार पाठकले आफूले चुनाव जित्ने आधार प्रशस्त भएको दाबी गरे । ‘यो क्षेत्रमा एमालेको सांगठनिक संरचना बलियो छ । जो गठबन्धनबाट उम्मेदवार प्रस्तुत हुनुभएको छ । उहाँमाथि मतदाताको प्रश्नैप्रश्नहरु छन्’, पाठकको भनाइ छ ।

उनले अगाडि भने, ‘आदरणीय चित्रबहादुर केसीलाई बागलुङबाट दुई पटक जितेर पठाइयो । उपप्रधानमन्त्री हुनुभयो । तर, उहाँले बाग्लुङको विकास र समृद्धिको विषयमा कहिलै बहस र छलफल गर्नु भएन । उहाँले न संसदमा बहस गर्नुभयो न ग्राउन्डमा गर्नुभयो । फेरि चित्रबहादुर केसीको उम्मेदवारी किन भन्ने प्रश्न छ ।’

उमेरको बहस

नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको अवस्थामा केसीले चुनौती दिएर मैदानमा उत्रिएको पाठकले बताए । ‘नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको छ ।  युवालाई अवसर दिएर जेष्ठ नेताले विश्राम लिनुपर्छ भन्ने छ । त्यो कुरालाई चुनौती दिँदै ८० वर्षको उमेरमा मैदानमा हुनुहुन्छ । उहाँ जितेर गएपनि के नै भूमिका खेल्न सक्नुहुन्छ र भन्ने छ,’ पाठकले भने ।

सत्ता गठबन्धनको तालमेलले मात्रै यस क्षेत्रबाट निर्वाचन जित्न सकस हुने पाठकले जिकिर गरे । यस क्षेत्रमा जनमोर्चाको ६ हजार मत मात्रै भएकाले कांग्रेसको २० हजार मत सबै केसीको पक्षमा नजाने उनको दाबी छ । 

 जनमोर्चाको ‘प्रभाव क्षेत्र’मा यस्तो छ अवस्था 

यो क्षेत्रबाट केसीले २०५१ सालको मध्यावधि चुनावमा उम्मेदवार दिई पहिलो पटक चुनावी प्रक्रियामा भाग लिएका थिए । २०४८ सालको संसदीय चुनावमा भाग नलिएको जनमोर्चाले पहिलो पटक २०५१ सालको चुनावमा भाग लिएको थियो । तर, केसी झिनो मतान्तरले पराजित भएका थिए । त्यसपछि भएको २०५६ साल र २०६४ सालको पहिलो संविधान सभा चुनावमा केसी भारी मतका साथ विजयी भए । २०७० सालको चुनावमा केसी समानुपातिक सूचीमा बसेकाले उम्मेदवार भएनन् ।

सो निर्वाचन क्षेत्रबाट २०७० सालको दोस्रो संविधान सभा चुनावमा कांग्रेसका हरिबहादुर खड्का निर्वाचित भए । खड्काले १३ हजार ५ सय मत ल्याइ निर्वाचित भएका थिए भने एमालेका हिराबहादुर खत्रीले ११ हजार ९६३ मत ल्याएर दोस्रो भए । तत्कालिन एमाओवादीका नेता कृष्णबहादुर केसीले ६ हजार ३ मत ल्याएर तेस्रो भएका थिए ।

कांग्रेसका खड्का निर्वाचित भएको एक वर्ष पुग्दा नपुग्दै सवारी दुर्घटनामा निधन भयो । यस क्षेत्रबाट उपनिर्वाचन भएपछि खड्काकै श्रीमती चम्पादेवी खड्का निर्वाचित भइन् । कांग्रेसकी खड्काले १७ हजार १ सय ५४ मत ल्याइ विजयी भएकी थिइन् भने एमालेकी मना केसीले १५ हजार ६८ मत ल्याएकी थिइन् । ०७४ अघि तीन क्षेत्र रहेको बागलुङ २०७४ यता दुई क्षेत्रमा सीमित छ ।

२०७४ को निर्वाचनमा तत्कालिन एमाले–माओवादी गठबन्धनसँग जनमार्चाको समेत तालमेल भएपनि केसीले आफू घाइते भएकाले चुनाव लड्न नसक्ने भन्दै रेसबाट बाहिरिएका थिए । जनमोर्चाको भागमा प्युठान परेपछि दुर्गा पौडेल उम्मेदवार भई निर्वाचित भइन् । चित्रबहादुर केसीको क्षेत्रमा भने अहिलेका उनका प्रतिस्पर्धी पाठक उम्मेदवार भएर विजयी भएका थिए ।

पाठकले वाम गठबन्धनको बलमा ३३ हजार ६५७ मत ल्याई विजय हासिल गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चम्पादेवी खड्काले २० हजार ६१६ मत पाइन् । जतिबेला पाठकलाई जनमोर्चाको समेत समर्थन रहेको थियो ।

यस्तो छ स्थानीय तह निर्वाचनको अंगकगणित

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत दुई नगरपालिका र दुई  गाउँपालिका गरी चार स्थानीय तह पर्छन् ।  जसमा बागलुङ नगरपालिका, जमिनी नगरपालिका, वरेङ गाउँपालिका र काठेखोला गाउँपालिका समेटिएका छन् । बागलुङ नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले जितेको छ भने  जैमिनी नगरपालिका प्रमुख जनमोर्चाले र उपप्रमुख कांग्रेसले जितेको छ । यस्तै काठेखोला गाउँपालिका प्रमुख कांग्रेस र उपप्रमुख जनमोर्चाले जितेको छ । यसैगरी वरेङ गाउँपालिका प्रमुख जनमोर्चा र उपप्रमुख कांग्रेसले जितेको छ ।

स्थानीयतहका वडा अध्यक्षको मतलाई जोड्दा गठबन्धन अघि देखिएको छ । गठबन्धनको पक्षमा २९ हजार ४६५ मत छ भने एमालेको २३ हजार ८६८ मत मात्रै छ । स्थानीय तहको मतअनुसार एमाले भन्दा गठबन्धन ५ हजार ५९७ मतले अघि देखिएको छ । 

क्षेत्र नम्बर १ मा केसी र पाठकबाहेक राप्रपाका लक्ष्मी प्रसाद सापकोटा, कांग्रेस बीपीका शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल पनि चुनावी मैदानमा छन् । यस्तै स्वतन्त्र चन्द्र बहादुर क्षेत्रीले पनि उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप