मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले रामपुर नहर बन्द हुँदा धानबालीमा असर

बुधबार, ०२ कात्तिक २०७९, १२ : ४१
बुधबार, ०२ कात्तिक २०७९

पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर पहिरोले बन्द भएको छ । गत असोजको अन्त्यतिर परेको अविरल वर्षाले नहरका विभिन्न ठाउँमा क्षति पुर्याउँदा बन्द हुन पुगेको हो । नहर बन्द भएपछि धानबालीमा असर परेको किसानको गुनासो छ ।

रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको यस नहर पहिराले बन्द हुँदा धानबालीमा सिँचाइको समस्या निम्तिएको छ । पसाउन लागेका, कोही पसाउँदै गरेको अवस्थामा रहेको धानबालीलाई पर्याप्त सिँचाइ दिन नपाउँदा उत्पादनमा ठूलो असर पर्ने रामपुर–३ मटेरी बस्ने विष्णु गौतम बताउछन् ।

“नहरमा पानी बन्द भएको करिब १० दिन भइसक्यो, धानलाई मुख्य सिँचाइ दिनुपर्ने समयमा सिँचाइ गर्न नपाउँदा वर्ष दिन खाने खेतीको उब्जनी नै घट्दा हामी किसान मारमा परेका छौँ”, उनले भने । धान रोप्ने समय, गोडमेल गर्ने, पसाउने समयमा बर्षेनी नहरमा पहिराले क्षति पुगेकै हुन्छ । यसले गर्दा किसानले बाली लगाएर ढुक्कसँग उत्पादन लिन पाइन्छ या पाइँदैन सधैँ अन्योलमै खेती गर्न बाध्य छन् ।

हेडबक्स नजिकै सोलीघोप्टे र जामुनेमा करिब २५–२५ मिटर, कमिरेको दुई स्थानमा १५–१५ मिटर, रजघराको कामीगाउँबाट तल २५ मिटर पहिरो खस्दा नहरमा पानी बन्द भएको उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मीले बताए । “पहिरो पन्छाउने काम भइरहेको छ, ठाउँ–ठाउँमा नहरदेखि माथिका भागबाट ठुला–ठुला ढुङ्गासहित पहिरो खसेकाले काम गर्न समय धेरै लागेको हो”, उनले भने, “अबको दुई–तीन दिनभित्रमा काम सम्पन्न गरेर पानी सञ्चालन गर्नेछौँ ।”

अध्यक्ष रेग्मीका अनुसार हाल विभिन्न ठाउँमा गरी दैनिक ३८ कामदार परिचालन गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सानो बजेटले काम गर्न उपभोक्ता समितिलाई कठिनाइ परेको छ । “नहरलाई व्यवस्थित बनाउन बजेट अभाव छ, पुरानो संरचना मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छन्, पुनःनिर्माणमार्फत काम गर्नुपर्ने देखिएको छ, सानो बजेटले काम गर्न गाह्रो छ, यसका लागि माथिल्लो निकायमा बजेट माग गरिरहेका छौँ”, उनले भने ।

गत वर्ष लुम्बिनी प्रदेश सरकारमार्फत रु ५० लाख बजेट प्राप्त भई विभिन्न ठाउँमा मर्मत सम्भारको काम भएको र यस वर्ष केन्द्रबाट रु ८० लाख बजेट परेको उनले जानकारी दिए । निस्दीखोलाको पानीलाई सोलीघोप्टे नजिकै बाँध बाँधेर विसं २०४६ मा रामपुरमा झण्डै २२ किमी परबाट सिँचाइका लागि पानी ल्याइएको हो । २०४६ फागुन १० गते नहरको विधिवत रूपमा उद्घाटन गरिएको थियो ।

नहरमा पहिरो गएपछि इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्याल, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक मोहन खत्री क्षेत्री र नहरका उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मी, पत्रकारसहितको टोलीले मङ्गलबार स्थलगत निरीक्षण गरेको छ ।

धानबालीमा आवश्यक सिँचाइ दिनुपर्ने समयमा नहरमा पानी बन्द हुँदा किसान मारमा परेकाले जतिसक्दो चाँडो काम सम्पन्न गरेर पानी सञ्चालन गर्न उपभोक्ता समितिलाई इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले निर्देशन दिए ।

साविक रामपुर, दर्छा र खालिवन गाउँ विकास समितिका तल्लो क्षेत्रमा रहेका जमिनलाई सिँचाइ गर्नका लागि ठूलो लगानीमा नहर निर्माण गरिएको हो । यहाँ रामपुर नहर सञ्चालनमा ल्याएपछि बाँझिएका जमिन सदुपयोगमा आएका छन् । यस नहरसँग चार हजार नौ सय घरधुरीका उपभोक्ता आबद्ध छन् ।

एक हजार दुई सय हेक्टर कुल क्षेत्रफल रहे पनि हाल सात सय ७० हेक्टर जमिनबाट सिँचाइ सुविधा उपभोग गरेवापत प्रतिरोपनी रु १२० का दरले सेवा शुल्क उपभोक्ता समितिले उठाउँदै आएको छ । नहरबाट सिञ्चित क्षेत्रफल घट्दो र मालपोत कार्यालयबाट लगत कट्टा हुने क्रम बढ्दो छ । नहरको रेखदेखका लागि वर्षायाममा छ र हिउँदमा तीन जना हेरालु राखिएको छ । मूल नहरबाट पाँच शाखा र ४२ उपशाखा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप