बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले चुनावी हार नस्वीकार्ने डर

शुक्रबार, ११ कात्तिक २०७९, १९ : ३६
शुक्रबार, ११ कात्तिक २०७९

ब्राजिलमा राष्ट्रपतिको निर्वाचन आउन दुई दिन मात्र बाँकी रहँदा वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले उनको सम्भावित पराजय नस्वीकार्ने डर बढ्दै गएको छ । पछिल्लो समय बोल्सोनारोका छोराले आफ्ना पिता ‘इतिहासकै ठूलो चुनावी धाँधली’ को शिकार भएको दावी गरेपछि यो डर थप बढेको हो । 

राष्ट्रपतिका सिनेटर छोरा फ्लाभियो बोल्सोनारोको दावी विगतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको चुनावी हारपछि प्रयोग गरेको भाषासँग लगभग समान देखिन्छ । बोल्सोनारोको सबैभन्दा प्रमुख अन्तर्राष्ट्रिय समर्थक ट्रम्पले सन् २०२० मा चुनाव हारेपछि ‘चुनावी दृष्टिकोणबाट हाम्रो देशको इतिहासमा सबैभन्दा ठूलो धाँधलीको’ भन्दै झुटो दावी गरेका थिए । 

ट्रम्पले त्यस्तो दावी गरेको केही हप्तापछि नै २०२१ जनवरी ६ मा ट्रम्प समर्थकहरुले चुनावी परिणामलाई उल्टाउने असफल प्रयासमा अमेरिकी संसद भवन(क्यापिटल हिल)मा आक्रमण गरेका थिए । धेरैले बोल्सोनारोले उनका वामपन्थी प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग हारे भने ट्रम्पकै मार्ग पछ्याउने आशंका गरेका छन् । 

अक्टोबर २ मा पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दुई शिर्ष मत ल्याउने लुला र बोल्सोनारो  आइतबार दोस्रो चरणको चुनावमा भिड्दै छन् । मत सर्वेक्षणहरुले लुला बोल्सोनारोभन्दा ४% र ५% मतले अघि रहेको देखाएको छ । 

शासनमा आएदेखि निरन्तर देशको लोकतान्त्रिक प्रणालीमाथि प्रहार गरिरहेका बोल्सोनारोले हार नस्वीकार्ने डरलाई सोमबार उनका एक मन्त्रीको भनाइले पनि बल लिएको छ । बोल्सोनारोका सञ्चार मन्त्री फाबियो फारियाले एक रेडियो कार्यक्रममा बोल्ने क्रममा अहिले बोल्सोनारो विरुद्ध ‘चुनाव प्रणालीको गम्भीर उल्लङ्घन’ भइरहेको आरोप लगाएका थिए । 

ट्रम्पले भर्खरै बोल्सोनारोलाई ‘विश्वका कुनै पनि देशका सबैभन्दा महान् राष्ट्रपतिहरू मध्ये एक’ भन्दै समर्थन जनाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप