शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

महँगा मोबाइल प्रतिबन्ध गर्दा आयातको टप टेनमा  चिनियाँ स्मार्टफोन

सुनभन्दा बढी मूल्यका मोबाइल आयात
सोमबार, १४ कात्तिक २०७९, १० : ३९
सोमबार, १४ कात्तिक २०७९

सरकारले महँगा मोबाइल आयातमा प्रतिबन्ध गरेको फाइदा चिनियाँ मोबाइल निर्मातालाई भएको छ । चालु आर्थिक वर्षको तीन महिना (साउनदेखि असोजसम्म) मा नेपालमा आयात भएका टप टेन वस्तुमा (मूल्यका आधारमा) चिनियाँ स्मार्टफोन परेका हुन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बढी आयात हुने वस्तुको १०औँ नम्बरमा स्मार्टफोन परेको छ । यी सबै स्मार्टफोन चीनबाट आयात भएका हुन् । विभागले असोज मसान्तसम्ममा ६ अर्ब १८ करोड ६६ लाख २९ हजार रुपैयाँ मूल्य बराबरका ४ लाख ६८ हजार ४६१ वटा स्मार्टफोन आयात भएका छन् । 

यी सबै स्मार्टफोन चीनबाट आयात भएको विभागले जानकारी दिएको छ । विभागले दिएको तथ्याङ्कको विश्लेषण गर्दा नेपालमा आयात भएका चिनियाँ स्मार्टफोनको औसत मूल्य प्रतिफोन १३ हजार २ सय रुपैयाँको हाराहारीमा पर्ने देखिएको छ ।

मूल्यका आधारमा हेर्दा नेपालमा सुनभन्दा बढी मूल्यका स्मार्टफोन आयात हुन थालेको देखिन्छ । चालु आर्थिक वर्षको तीन महिनामा ४ अर्ब ६१ लाख ८६ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । सुनभन्दा झन्डै २ अर्ब रुपैयाँ बढीको चिनियाँ स्मार्टफोन आयात भएको देखिएको हो ।

विगतका वर्षहरूमा जस्तै चालु आर्थिक वर्षको तीन महिनामा पनि नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल नै परेको  छ । गत तीन महिनामा २९ अर्ब २९ करोड रुपैयाँ बराबरको डिजेल नेपालमा आयात भएको छ । यस्तै, दोस्रो नम्बरमा पेट्रोल परेको छ । चालु आर्थिक वर्षको तीन महिनामा १८ अर्ब २२ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको भन्सार विभागले जानकारी दिएको छ । 

नेपालमा बढी आयात हुने वस्तुको तेस्रो नम्बरमा खाना पकाउने ग्यास परेको छ । गत तीन महिनाको अवधिमा १४ अर्ब ९४ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । डिजेल, पेट्रोल र ग्यास नेपालमा भारतबाट मात्रै हुने हुने वस्तुहरू हुन् । यस्तै, सो अवधिमा ९ अर्ब ५५ करोड ७२ लाख रुपैयाँ बराबरको कच्चा पाम आयल आयात भएको छ । कच्चा पाम आयल इन्डोनेसियाबाट आयात भएको हो ।

विभागका अनुसार कच्चा सोयाविन तेल तथा फलामजन्य वस्तुहरू पनि नेपालमा आयात हुने बढी मूल्य बराबरका टपेन वस्तुभित्र परेका छन् । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सरकारले बेल्जियमबाट ४ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ बराबरको खोप आयात गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप