आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव जित्नमात्र नभएर देशलाई एकताको सन्देश दिन गोरखा आएको हुँ : प्रचण्ड

‘माओवादीले रुख र कांग्रेसले हँसिया हथौडामा भोट हाल्न हिचकिचाउनु पर्दैन’
शुक्रबार, १८ कात्तिक २०७९, २२ : २७
शुक्रबार, १८ कात्तिक २०७९

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार गोरखाका विभिन्न स्थानमा मतदातासँग भेटघाट गरेका छन् । गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्डले एकैदिन गोरखा नगरपालिकाका ८, ९ १०, ११, १२, १३ र १४ वडामा कोणसभामार्फत मतदातालाई सम्बोधन गरे ।

निर्वाचनको बेला अरु उम्मेदवार घरघर पुग्दा प्रचण्डका लागि मतदाताहरू घरबाट फूलमाला लिएर स्वागतका लागि बसे । कोणसभामा पुग्दा प्रचण्डले आफूले प्रतिस्पर्धी नै नभेटेको अभिव्यक्ति दिए । ‘मेरो प्रतिस्पर्धी पत्ता लगाउन पनि सकेको छैन । जहाँ गएँ, देखेको पनि छैन । अस्ति ४४ वटा भेटघाट गरियो । आज पाँच ठाउँमा कोणसभा गर्यौं । यो सबै कार्यक्रममा जाँदा प्रतिस्पर्धी भएजस्तो लागेको छैन,’ उनले भने, ‘खाली परिणाम असाधारण उचाइमा लैजान यहाँको जनता तथा बुद्धिजीवीसँग भेटघाटमा निरन्तर छु ।’

विश्वले थाहा पाउने गरी गोरखामा आफूलाई अत्यधिक बहुमतले जिताइदिन मतदातालाई प्रचण्डले आग्रहसमेत गरे । उनले भने, ‘गठबन्धनका उम्मेदवारलाई बहुमतले जिताए देशले प्रधानमन्त्री र गण्डकीले मुख्यमन्त्री पाउने जिल्ला गोरखा हो, सिंहदरबारभित्र भए पनि, प्रदेशभित्र भए पनि हामी धेरै बलियो हुन्छौं । विकास निर्माणको गति तीव्र हुन्छ ।’

चुनाव जित्नमात्र नभएर आफू देशलाई एकताको सन्देश दिन गोरखा आएको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई गोरखाबाट अत्यधिक बहुमतले जिताएर विश्वलाई चिनाइदिन आग्रह गरे । ‘यो निर्वाचनमा सिङ्गो विश्वले देख्नेगरी, रेकर्ड बन्ने गरी सम्पूर्ण गोरखाली जनता एक ढिक्का भइ देशमा अन्यत्रभन्दा गोरखामा अत्यधिक मत ल्याएर सबै उम्मेदवारहरू विजयी गराएर रेकर्ड बनाउन जरुरी छ,’ प्रचण्डले भने ।

माओवादीले रुख र कांग्रेसले हँसिया हथौडामा भोट हाल्न हिचकिचाउनु नपर्ने उनको भनाइ छ । ‘म माओवादीका साथीहरूलाई भन्न चाहन्छु, कुनै हिचकिचाहट नगर्नुस् । गठबन्धनका उम्मेदवारलाई भोट दिनुस् ।’

उनले मतदातालाई सम्बोधन गर्दै लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुन सञ्चालन गर्ने आश्वासन पनि दिए । ‘सबैले गौरव गर्नुपर्ने धेरै राम्रो संरचना छ । ती संरचना यतिकै थन्किएका छन् । गोरखकाली टायर उद्योगलाई नयाँ व्यवस्थासहित सञ्चालन गर्छौं र यहाँका नागरिकलाई पुनः रोजगारी र समृद्धिका लागि उपयोग गरिनेछ,’ प्रचण्डले भने ।

गोरखा नगरपालिका १३ स्थित गोरखकाली उद्योग नेपालकै एकमात्र रबर उद्योग हो । २०७२ सालको असारपछि यो उद्योग बन्द छ । २०४९ सालमा स्थापना भएको उक्त उद्योग कमजोर व्यवस्थापनका कारण बन्द छ ।

उनले विकास र समृद्धिको सपना बोकेर गोरखामा आफू निर्वाचन लड्न आएको बताए । ‘गोरखामा विकास र समृद्धिको सपना बोकेर आएको हुँ । यहाँका बाटाहरुलाई राजमार्गसँग जोड्ने र धुला बाटालाई पिच बनाउने तपाईंहरुसँग प्रतिवद्धता व्यक्त गर्दछु,’ प्रचण्डले मतदाताहरुलाई भने ।

पहिलो निर्वाचनदेखि नै आफूले देशका विभिन्न ठाउँबाट चुनाव लड्दै आएको भन्दै उनले यो पटकको आफ्नो रोजाई गोरखा भएको बताए । ‘पहिलो पटक चुनाव लड्दा रोल्पा र काठमाडौंबाट चुनाव लडेँ । त्यहाँबाट चुनाव लड्ने मकसद थियो । जनयुद्ध र जनआन्दोलनलाई जोडेर शान्ति प्रक्रियामा देशलाई लैजाने । दोस्रो पटक मधेसको सिरहा जिल्लाबाट उठेँ,’ उनले भने, ‘त्यति बेला मधेसलाई पहाडबाट अलग्याउने प्रयास गरिएको थियो । यो अवस्थामा एउटा राष्ट्रिय नेताको हैसियतले मधेस र पहाडलाई एकतावद्ध गर्नुपर्छ भनेर चुनाव लडेँ ।’

तेस्रो निर्वाचनमा चितवनबाट लड्नुको मुख्य उद्देश्य धुलाम्मे बाटोलाई पिच गर्नु र चितवनका जनताको माग सम्बोधन गर्नु नै रहेको उनले सुनाए । उनले भने, ‘चितवनमा जनताको अपेक्षा पनि थियो प्रचण्ड चितवनबाट चुनाव लडोस् भन्ने, अहिले त्यो निर्वाचन क्षेत्रमा विकासका पूर्वाधारहरू बनिसकेका छन् । अहिले म गोरखाको विकासका लागि यहाँ आएको हुँ ।’

‘देशमा अग्रगमन र पश्चगमन बीचको गठबन्धन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले देशमा दुई किसिमको गठबन्धन भएको बताएका छन् । ‘अहिले देशमा अर्को पनि गठबन्धन छ । एकातिर राजावादी, सामन्तवादी र यो देश टुक्राउनुपर्छ भन्नेहरूको गठबन्धन छ भने अर्कोतिर संविधानको रक्षाका निम्ति बनेको गठबन्धन छ,’ उनले भने ।

प्रचण्डले केपी शर्मा ओली नेतृत्वको गठबन्धन संघीय गणतान्त्रिक व्यवस्थालाई भत्काउन केन्द्रित रहेको बताए । उनले भने, ‘हामी सबैले रगत बगाएर ल्याएको परिवर्तन रक्षाका निम्ति हामी सबै एक हुन जरुरी छ । यसका लागि तपाईंहरूको साथ यो गठबन्धनलाई चाहिन्छ ।’

गोरखाका लागि प्रचण्ड महानायक हुन् : कांग्रेस नेता सुरेन्द्र पाण्डे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखामा आएर प्रचण्डले उम्मेदवारी दिनु गोरखाली जनताका लागि अवसर भएको बताएका छन् । उनले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजाप्रसाद कोइराला र प्रचण्ड नायक भएको बताए ।

गोरखा क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा उम्मेदवार रहेका पाण्डेले शान्ति सम्झौतापछि देशमा समावेशी लोकतन्त्र, धर्म निरपेक्ष र गणतन्त्र आएको बताए । उनले गठबन्धनलाई अत्यधिक मतले विजयी गराइदिन मतदातालाई अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप