बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इरानद्वारा रुसलाई ड्रोन बेचेको स्वीकार

शनिबार, १९ कात्तिक २०७९, २१ : १६
शनिबार, १९ कात्तिक २०७९

इरानका विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियानले युक्रेनमा उनको देशका ड्रोनहरु प्रयोग भएकोबारे आफूहरू बेखबर रहेको बताएका छन् । मन्त्रीले इरानको औपचारिक धारणा युक्रेन द्वन्द्व रोकिनुपर्छ भन्ने रहेको बताए । 

तेहरानमा आयोजित एक बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा अमीराब्दुल्लाहियानले उनको देशले रुसलाई ड्रोन आपूर्ति गरेको पहिलोपटक स्वीकारे । तथापि आफूहरुले युक्रेनमा युद्ध हुनु अघिनै रुसलाई ड्रोन बेचेको दावी उनले गरे । पछिल्लो समय युक्रेन आक्रमणका लागि इरानमा निर्मित ड्रोन प्रयोग भइरहेको आरोप छ । 

‘हामीले युक्रेन युद्धभन्दा महिनौं अघि रूसलाई सीमित संख्यामा ड्रोन आपूर्ति गरेका थियौं ,’ विदेश मन्त्री अमीराब्दुल्लाहियानले भने ।  यसअघि इरानी अधिकारीहरूले युक्रेनविरुद्धको युद्धमा रुसलाई हतियार दिएको कुरा अस्वीकार गर्दै आएका थिए । 

यही साताको सुरुमा पनि संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूत अमिर सईद इरावानीले आफूहरुमाथि लगाइएको ड्रोन बिक्रीको आरोपहरूलाई ‘पूर्ण रूपमा आधारहित’ बताएका थिए । त्यस समय उनले इरान युक्रेनमा जारी युद्धमा तटस्थ रहेको बताएका थिए ।

‘तटस्थता’ को नीति
इरानको खण्डनको बाबजुद अमेरिका र सुरक्षा परिषदमा उसका पश्चिमी सहयोगीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई रुसले युक्रेनमा सर्वसाधारणमाथि आक्रमण गर्न इरानी ड्रोन प्रयोग गरेको बारेमा छानबिन गर्न आग्रह गरेका छन् ।

उता देशको शक्तिशाली अर्धसैनिक रिभोलुसनरी गार्डले विश्वका शीर्ष शक्तिहरूलाई ड्रोन उपलब्ध गराएकोमा अप्रत्यक्षय रुपमा गर्ब व्यक्त गरेको थियो । त्यस्तै देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले ड्रोनको प्रभावकारिताको प्रशंसा गर्दै पश्चिमी शक्ति त्यसबाट डराएको भन्दै खिल्ली उडाए ।

शुक्रबार सन् १९७९ को अमेरिकी दूतावास कब्जाको वर्षगाँठमा भएको सरकार प्रायोजित प्रदर्शनमा कयौंले सो त्रिकोण आकारको ड्रोन अंकित प्लेकार्ड बोकेका थिए ।  युद्धअघि नै ड्रोन आपूर्ति गरिएको स्वीकारे पनि अमीराबदोल्लाहियानले युक्रेनमा तिनको प्रयोगबारे आफूहरू बेखबर रहेको बताए । उनले आफ्नो मुलुक युक्रेनमा युद्ध रोकिनुपर्छ भन्ने पक्षमा रहेको बताए । 

‘यदि (युक्रेन) सँग रसियाले युक्रेनमा इरानी ड्रोन प्रयोग गरेको कुनै कागजात छ भने– ‘उनीहरूले हामीलाई उपलब्ध गराउनुपर्छ । युक्रेनमा जारी युद्धमा रुसले इरानी ड्रोन प्रयोग गरेको प्रमाणित भयो भने हामी उदासिन रहनेछैनों,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप