बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही–२ का प्रमुख प्रतिस्पर्धी दुई उम्मेदवारको प्रतिबद्धतापत्र एकै दिन सार्वजनिक

यस्ता छन् एमालेका विष्णु पौडेल र गठबन्धनका उम्मेदवार केशव थापाका प्रतिबद्धता
आइतबार, २० कात्तिक २०७९, १६ : ०२
आइतबार, २० कात्तिक २०७९

प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नं. २ का मुख्य प्रतिस्पर्धी मानिएका दुई उम्मेदवारले आइतबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल र सत्तारुढ गठबन्धनले समर्थन जनाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले आ–आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

विष्णु पौडेलको प्रतिबद्धता

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्रमा सबल आर्थिक केन्द्र, समुन्नत रुपन्देहीको आधार ः शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र पूर्वाधार’भन्ने नारा समावेश गरेका छन् ।

उनले ‘ड्रिम प्रोजेक्ट’का रुपमा राखेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धतापत्रमा सिंचाई, जलविद्युत, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्ताव अनुसार निर्माण कार्य अघि बढाइने उल्लेख छ । उल्लेखनीय छ, गण्डकी प्रदेश सरकारले कालीगण्डकी तिनाउ बहुउद्देश्यीय आयोजना अगाडि बढाउँदा आफ्नो क्षेत्रका धेरै भूभागमा पानीको स्रोत सुक्ने भन्दै  आयोजना रोक्न माग गरेको छ ।

एमाले उपाध्यक्ष पौडेलले बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।

बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने पनि उनले जनाएका छन् ।

पूर्व–पश्चिम राजमार्गको बुटवलस्थित तिनाउ नदीमा आकर्षक एवम् आधुनिक डिजाइनको सिग्नेचर पुल निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक ६ लेन सडकमा स्तरोन्नति गर्ने पनि उनको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

पौडेलले २०६४ सालदेखि लगातार पौडेलले यस क्षेत्रबाट जित्दै आएका छन् ।

गठबन्धनको साथ पाएका केवशको यस्तो छ प्रतिबद्धता

सत्तारुढ गठबन्धनको साथ पाएर रुपन्देही–२ मै उम्मेदवार बनेका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले पनि आइतबार नै घोषणापत्र सार्वजनिक गरेका छन् ।

‘अग्रगामी जनपक्षीय गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाऔँ, कर्मठ विकासप्रेमी राजनीतिज्ञ सक्षम उम्मेदवार जिताऔँ, संविधानको रक्षा र आर्थिक समृद्धिको लागि हाम्रो उम्मेदवारी’ भन्ने मुख्य नाराका साथ थापाले जारी गरेको प्रतिबद्धतापत्रमा शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समानता र समावेशिता, भौतिक पूर्वाधार, कृषि तथा वातावरण विकास लगायत जनताले प्रत्याभूति गर्ने वा प्रत्यक्ष लाभ लिने विषयलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

उनले शिक्षातर्फ बुटवलका बीटीआई र अटोभिलेजलाई इन्जिनियरिङ कलेजमा रुपान्तरण गर्ने, लुम्बिनी वाणिज्य कलेजलाई मानित विश्वविद्यालय र बुटवल बहुमुखीलाई आधुनिकीकरण गरी अनुसन्धान केन्द्रको रुपमा स्थापना गर्ने एजेण्डा अघि सारेका छन् । नयाँ गाउँमा सूचना केन्द्र स्थापना गर्ने, १२ कक्षासम्म निःशुल्क शिक्षा साथै लक्षित समुदाय र निरपेक्ष गरिवलाई आवास सहितको निःशुल्क उच्च शिक्षा दिने र माध्यमिक तहदेखि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ ।

जनस्वास्थ्यतर्फ प्राकृतिक चिकित्सालय सेवा केन्द्रको रुपमा विकास गर्ने, निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने, लुम्बिनी प्रादेशिक अस्पताललाई हेलिप्याडसहित आधुनिक मेडिकल कलेज बनाउने र बिरामीका कुरुवालाई छुटै आवासको व्यवस्था गर्ने पनि उनको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

नसर्ने रोगबाट बच्न जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागु गर्ने, प्रत्येक वडामा ल्याबसहितको स्वास्थ्य सुविधा उपलब्ध गराउने, जीपीएस जडान गरी आईसीयू एम्बुलेन्स सञ्चालन गर्ने, सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने, दीर्घकालीन रुपका जटिल रोगहरुका लागि स्थानीय स्वास्थ्य संस्थाबाट निःशुल्क उपचारको व्यवस्था गर्ने, स्वास्थ्य बीमालाई कार्यान्वयन गरी विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने, मनोसामाजिक केन्द्र स्थापना गर्ने र ट्रमा केयर सेन्टर स्थापना गर्ने योजना पनि उनले अघि सारेका छन् ।

भौतिक पूर्वाधारतर्फ सुखी जीवनका लागि पूर्वाधारमा लगानी कार्यक्रम अगाडि बढाइने, सबै सडक हिलो–धुलोमुक्त बनाउने, अव्यवस्थित बसोबास गर्नेलाई स्वामित्व प्रदान गर्ने, सुकुमबासीलाई भूमि अधिकार दिने, तिलात्तमा, सैनामैना र बुटवल जोड्ने चक्रपथ सँगै ढलको वैज्ञानिक व्यवस्था गर्ने एजेण्डा पनि उनले प्रतिबद्धतापत्रमा समेटेका छन् ।

सुविधा सम्पन्न आधुनिक बसपार्क, सार्वजनिक स्थलहरुमा सीसीटीभी र चार्जिङ स्टेसन सहित रिफ्रेसमेण्ट पार्क स्थापना गर्ने, प्रदेशलाई विद्युतीय सवारी प्रदेश बनाउने, सार्वजनिक सेवालाई विद्युतीय प्रणालीमा जोड्ने, ज्योतिनगर र लक्ष्मीनगरको पहिरोलाई दीर्घकालीन समाधानको व्यवस्था तथा बस्ती एकीकरण योजना बनाउनले उनको प्रतिबद्धता छ ।

नदीहरुको वैज्ञानिक वातावरणमा व्यवस्था गरी तिनाउ किनारमा हरियाली पार्क निर्माण गर्ने, आरति लिने र बोटिङ सञ्चालन गर्ने, बुटवलको पुरानो क्षेत्रलाई ऐतिहासिक स्थलको रुपमा निर्माण गर्ने, उपयुक्त स्थानमा धर्मशाला निर्माण गर्ने, थारु संस्कृतिको संरक्षण गरी सैनामैनामा थारु संग्रहालय स्थापना गर्ने पनि उनको एजेण्डा छ ।

बसन्तपुर र नुवाकोटमा जिपलाइन र प्याराग्लाईडिङ सहित ऐतिहासिक जितगढी किल्ला र रामपिथेकसको पहिचान सहित पर्यटन हबको रुपमा विकास गर्ने, प्राकृतिक विपत्तिबाट विस्थापित घरपरिवारलाई उचित व्यवस्था गर्ने, सडक विभाग रहेको जग्गामा बोटानिकल पार्क निर्माण गर्ने, बुटवल हुँदै भैरहवा र लुम्बिनी हुँदै मुर्गियासम्मको ट्रामा रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्ने थापाको एजेण्डा छ ।

त्यस्तै कृषितर्फ रासायनिक र जैविक मल उत्पादन केन्द्र स्थापना गर्ने, खेतीयोग्य जमिनलाई आधुनिक तथा व्यावसायिक कृषि क्षेत्रको रुपमा विकास गरी किसानलाई बाली कर्जा र बीमा प्रदान गर्ने कर्जामा व्याज अनुदान दिने, तामनगरमा अन्तर्राष्ट्रिय कृषि व्यापार केन्द्र स्थापना गर्ने, एग्रोभेट तालिम केन्द्र स्थापना गरी कृषकलाई तालिमको व्यवस्था गर्ने, पर्यावरणको सन्तुलनका लागि वन क्षेत्रलाई वैज्ञानिक रुपमा संरक्षण र सम्बर्द्धन गर्ने लगायतका प्रतिबद्धता पनि उनले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप