बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मोरङ–३ को (१) मा मनोनयन दर्ता आज

बिहीबार, २४ कात्तिक २०७९, ०६ : ३१
बिहीबार, २४ कात्तिक २०७९

निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (१) मा मनोनयन दर्ता गर्नका लागि बिहीबार समय तय गरेको छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (१) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधवार आयोगले उक्त दलका लागि उम्मेदवार बिहीबार मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । 

आयोगका उपसचिव ऋषिराम भुसालले नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने बताए । उनले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको अवस्था रहेकोमा उक्त क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनयन दर्ता गर्न पाउने बताए ।  बिहीबार बिहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेदवार मनोनयन दर्ता हुनेछ। कात्तिक २५ गते ४ बजे निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिनेछ ।

 अब को उम्मेदवार ?

स्रोतले दिएको जानकारी अनुसार प्रदेशसभाका निवर्तमान सांसद सूयर्माराज राई र शनिश्चरेका पर्शु कार्कीमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना देखिएको छ । २०७४ सालको निर्वाचनमा बाम गठबन्धनलाई पराजित गरेर सोही क्षेत्रबाट प्रदेशसभाका सांसद बनेका राई काँग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत भएका थिए । यसपटक पनि उनै राई उम्मेदवार बन्ने सम्भावना भइरहँदा पार्टीको संस्थापन पक्षको अनिच्छाका कारण थापा उम्मेदवार बनेका थिए । थापासँगै त्यसबेला काँग्रेसको क्षेत्रीय समितिले राई, पर्शु कार्की र सुशील राईको नाम सिफारिस गरेको थियो । हाल चर्चामा रहेका सुशील र कार्की संस्थापन पक्षका हुन् । 

केही गठबन्धन दलका नेताहरूले भने काँग्रेसमा अत्यधिक अन्तर्विरोध देखिएकाले माओवादीका नेता तथा संविधानसभा सदस्य लालबाबु सुस्लिङ मगरलाई उम्मेदवार बनाउँदा राम्रो हुने सुझाव पनि दिन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप