शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तमोरको पानी आएन, पानी ल्याउँछु भन्ने नेता खाली हात फेरि भोट माग्न आए

मङ्गलबार, २९ कात्तिक २०७९, ०६ : ३१
मङ्गलबार, २९ कात्तिक २०७९

२०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट मोरङ क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका एमाले नेता घनश्याम खतिवडा निर्वाचनमा विजयी पनि भए । त्यसबेला उनले प्रमुखताका साथ उठाएको एउटा एजेण्डा थियो– तमोरको पानी ल्याएर आफ्नो क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने ।

तमोरको पानी ल्याएर सिँचाइ सुविधा उपलब्ध गराउने उनको प्रतिबद्धता पाँच वर्षसम्म पनि पूरा भएन । खतिवडा फेरि सोही क्षेत्रबाट त्यस्तै अन्य एजेण्डा लिएर अहिले पनि जनतासामु मत मागिरहेका छन् ।

५ वर्षको अवधिमा यस क्षेत्रको सडक निर्माण, विद्युतीकरण, खानेपानी, सुरक्षित आवास, सांस्कृतिक स्थानको निर्माण र संरक्षण, स्वास्थ्य र शैक्षिक संस्थाको स्थितिमा सुधार ल्याएको तथा खोलाहरुमा तटबन्ध निर्माण गरेको खतिवडाको तर्क छ ।

यता, गठबन्धनबाट आफ्नो जित सुनिश्चित देखेका कांग्रेसका डिगबहादुर लिम्बू भने अहिले आफूहरुले संविधान र गणतन्त्र रक्षालाई प्रमुख एजेण्डा बनाएको बताउँछन् ।

मोरङको निर्वाचन क्षेत्र १ मा उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र केराबारी गाउँपालिका पर्दछन् । जसमा ६० हजार ७०३ पुरुष र ६२ हजार ९१२ गरेर कुल मतदाताको संख्या १ लाख २३ हजार ६१५ छ ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका खतिवडाले ३७ हजार ५२४ मत ल्याएर विजयी बनेका थिए । दोस्रो स्थान ल्याएका परिचित प्रतिस्पर्धी कांग्रेसका डिकबहादुर लिम्बूले ३१ हजार ४३६ मत ल्याएका थिए । तेस्रो स्थानमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अशोक चेम्जोङले १ हजार १५२ मत ल्याएका थिए ।

क्षेत्रभरि रहेका ३७ वटा वडामध्ये गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले बहुमत वडा अर्थात् १९ वडा जितेको छ । यस्तै कांग्रेसले १५ र नेकपा माओवादी केन्द्रले ३ वटा वडा जितेको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षले पाएको मत जोड्दा नेकपा एमालेले ३२ हजार ३६६, नेपाली कांग्रेसले ३१ हजार ४१३, माओवादी केन्द्रले ६ हजार ५८३, राप्रपाले २ हजार ८९०, नेकपा एकीकृत समाजवादीले १ हजार ९३ र जसपाले ४ सय ९४ मत ल्याएको थियो ।

खतिवडा र लिम्बूको प्रतिस्पर्धाको इतिहास

२०४३ सालमा लेटाङ गाउँ पञ्चायतमा जनपक्षीय उम्मेदवारको रुपमा प्रधानपञ्चमा उम्मेदवारी दिएका खतिवडा थोरै मतले पराजित बनेका थिए । त्यसपछि २०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लेटाङको गाविस अध्यक्षमा खतिवडा निर्वाचित भए । हाल प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका डिगबहादुर लिम्बूलाई भने खतिवडाले २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन लेटाङको गाविस अध्यक्षमा पराजित गरेका थिए ।

त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा लिम्बूसँग पराजित भएका खतिवडा २०७४ सालको निर्वाचनमा भने माओवादीसमेतको सहयोगमा उनै लिम्बूलाई पराजित गर्न सफल भएका थिए ।

यता, २०६४ सालको निर्वाचनमा माओवादी उम्मेदवार नगेन्द्र धिमालबाट पराजित बनेका लिम्बू २०७० सालको संविधानसभा निर्वाचनमा भने निर्वाचित भए । त्यसबेला लिम्बूले तत्कालीन मोरङ क्षेत्र नम्बर ९ बाट १५ हजार २०२ मत ल्याउँदा खतिवडाले भने १२ हजार ९८९ मत ल्याएका थिए ।

१४ उम्मेदवार प्रतिस्पर्धामा

मोरङका १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये सत्ता गठबन्धनबाट कांग्रेसका डिगबहादुर लिम्बू र एमाले गठबन्धनबाट घनश्याम खतिवडाको मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यस्तै सो क्षेत्रबाट ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

लिम्बू र खतिवडा बाहेक सो क्षेत्रमा राप्रपाबाट होमनाथ गौतम, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी प्रसाद कवा, हाम्रो नेपाली पार्टीका राजेन्द्र प्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट सुरज लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट हर्कमान सम्वाहाम्फे, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमलबहादुर श्रेष्ठ छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप