शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा चोर गिरोह सक्रिय, एक महिनाभित्र ३ वटा विद्युत ट्रान्सफर्मर चोरी

बिहीबार, २२ मङ्सिर २०७९, ११ : २४
बिहीबार, २२ मङ्सिर २०७९

पछिल्लो समय रौतहटमा चोरहरूको गिरोह सक्रिय भएको छ । पछिल्लो एक महिनाभित्र जिल्लाको विभिन्न स्थानबाट ३ थान विद्युत ट्रान्सफर्मर चोरी भएको छ। 

फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत विजयपुर सन्तपुर जाने कालोपत्रे सडक छेउमै सिँचाइ प्रयोजनको लागि रहेको विद्युत ट्रान्सफर्मर गएराती चोरी भएको छ। १०० एम्पिएरको ट्रान्सफर्मर अज्ञात समूहले चोरेर लगेको स्थानीय समाजसेवी चन्द्रकिशोर यादवले बताएका छन । 

विद्युत ट्रान्सफर्मर चोरिए पछि भूमिगत सिचाइ आयोजनाबाट चल्ने डिप ट्युबवेल सेवा बन्द भएको छ। गहुँ खेतीको समयमा डिप ट्युबवेल सिँचाइ बन्द हुँदा फतुवा गाउँका दर्जनौं किसान कठिनाइमा परेको मेयरका प्रत्यासी अजय यादवले बताएका छन् । किसानको समस्यालाई ध्यानमा राखी आयोजनाले अबिलम्ब उक्त स्थानमा अर्को ट्रान्सफर्मर राखेर सिचाइ सेवा संचालन गराउन यादवले माग गरेका छन ।

यसअघि कटहरिया ४ बालुवा कटहरिया जाने बाटोमा डिप ट्युबवेल नजिक रहेको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो । चोर समूहले उक्त डिप ट्युबवेल संग जोडिएको विद्युतको तार र १०० एम्पिएरको ट्रान्सर्फमर चोरेर लगेको नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख संजिवकुमार दाशले बताए । 

त्यसैगरी बधिमाई नगरपालिका ४ दुर्गा मन्दिर छेउमा रहेको १०० एम्पिएरको विद्युत ट्रान्सफर्मर दुई साता अघि  चोरी भएको थियो । प्राधिकरण प्रमुख दाशका अनुसार १०० एम्पिएरको एउटा ट्रान्सर्फमरको बजार मूल्य ४ लाख रूपैयाँ पर्छ। चोरहरुले विद्युत​को तारमाथि साइकलको  चेन फालेर ट्रान्सर्फमरको फ्युज निष्क्रिय बनाएर चोरी गर्दछन। उनीहरुले ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाएल तार बिक्री गर्ने गरेको प्राधिकरण प्रमुख दाशले अनुमान गरेका छन् । 

एकैरातमा दुईवटा पम्पसेट चोरी
रौतहटको  फतुवा विजयपुर नगरपालिका अन्तर्गत एकै रातमा छुट्टाछुट्टै स्थान बाट दुईवटा पम्पसेट चोरी भएको छ। गहुँबारीमा पानी पटाउन बोरिङमा जोडिएको ८ हर्षपावरको दुईवटा पम्पसेट बुधबार राती चोरी भएको हो। फतुवा विजयपुर १ गमहरिया गाउँ छेउ खेतमा रहेको स्थानीय सन्तलाल यादव र परमानन्द यादवको पम्पसेट चोरिभएको पीडितहरुले बताएका छन । 

गहुँको सिजनमा पम्पसेट चोरी हुनु तथा सिँचाइको अन्य सुविधा नहुनुले दर्जनौं किसान लाई ठुलो समस्या भएको स्थानीय किसान  दिपलाल यादवले दुखेसो पोखेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप