शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरकारले अनभिज्ञतापूर्वक उभौलीउधौलीलाई किरातको चाड भन्यो, आज सर्व जातका चाड पर्छन्’

बिहीबार, २२ मङ्सिर २०७९, १४ : ५१
बिहीबार, २२ मङ्सिर २०७९

मार्गशुक्ल पूर्णिमालाई जनबोलीमा मङ्सिरे पूर्णिमा भनिन्छ भने शास्त्रीय भाषामा धान्य पूर्णिमा । कार्तिकको कृष्णपक्ष औँसीको दिनमा जुन लक्ष्मी पूजा गरिन्छ, त्यो धन लक्ष्मीको पूजा हो । आज मङ्सिरे पूर्णिमाको दिनमा धान्य लक्ष्मीको पूजा हुन्छ, यसरी धन र धान्य दुवैको पूजा भयो । मङ्सिरमा बाली भित्र्याएर धानको भकारी बाँधिसकिएको हुन्छ ।  आफ्नो कुलदेवता लगायत आफ्ना देवीदेवतालाई न्वागी चढाउने दिन हो आज । 

आजको दिनलाई नेपाल भाषामा ‘यमरि पुन्हि’ भनिन्छ । नेपाल भाषामा ‘पुन्हि’को अर्थ पूर्णिमा, ‘यः’को अर्थ सबैले मन पराउने र ‘मरि’को अर्थ रोटी हुन्छ । यसरी यःमरिको अर्थ सबैले मनपराउने पूर्णिमा भन्ने भयो । नेवारी समाजमा आजको दिनदेखि यःमरिको टुप्पो जति दिन बढ्छ भन्ने पुरानो मान्यता छ । गुरुङहरुले पुसे १५ को दिनदेखि दिन लामो हुन्छ भन्छन् । उता अंग्रेजी क्यालेन्डर अनुसार, २२ डिसेम्बरमा सबैभन्दा लामो रात २३ डिसेम्बरदेखि दिन लामो हुन्छ भनिन्छ । 

अचेल पञ्चांग निर्णायकले पुसको ६–७ गतेदेखि सूर्य उत्तरायणतिर लाग्छ भनेको छ । पहिले माघे सङ्क्रान्तिको दिनदेखि सूर्य उत्तरायण लाग्ने मानिन्थ्यो ।  

आजको पूर्णिमा बडो समन्वयात्मक पर्वका रूपमा छ । जस्तो ः राईहरूको चण्डीनाच हुन्छ, लिम्बुहरूको धाननाच हुन्छ । धाननाचको अनुष्ठान पनि धान्य पूर्णिमाको दिन भएको हो । किनभने, खुट्टाले धान माड्ने, हातले पराल चलाउने, हाहा गरेर चरा धपाउने– यसो गर्दागर्दै गीतको लय र नाच पनि बन्यो । लिम्बुहरूको धाननाच यही धान्य पूर्णिमासँग सम्बन्धित छ । धाननाच भन्नासाथ हामीले लिम्बुको भन्ने सम्झन्छौँ, तर धाननाच लिम्बुको मात्रै होइन । 

कर्णालीको किनारामा राकम कर्णाली फाँट छ, पक्का धाननाच त्यहाँ पाइन्छ । 

हामीले नेपाली संस्कृतिको विवेचना गर्दा हिमालदेखि पहाड, तराई र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न समुदायको संस्कृति जान्नुपर्छ ।  आ–आफ्नो भाषा अनुसार हाम्रा पर्वका नाम अनेक छन्, पर्व मनाउने विधि पनि भिन्नाभिन्नै छन्, तर संस्कृतिको अन्तर्वस्तु एउटै हो । 

अहिले नेपाल सरकारले उभौलीउधौलीलाई किरातको चाड भनेर दर्ता गरिदियो । यसो गर्नु अनभिज्ञता हो, यो किरातको मात्रै चाड होइन, सम्पूर्णको चाड हो । जस्तोः यःमरि पुन्हि नेवारको चाड भयो, आजकै दिन कतिपय बाहुन–क्षत्रीको देवाली पूजा हुन्छ । आजकै दिन राकम कर्णाली फाँटमा धाननाच हुन्छ । त्यसैले आजको तिथिमा सर्व जातका पर्व पर्छन् । 

उभौली उधौली भनेको खेती भित्र्याएपछि लेकको गोठ बेसीमा झार्ने कामलाई उधौली भनियो, त्यस्तै खेती गर्ने बेला लेकको गोठ बेसीमा सार्ने कामलाई उभौली भनियो । यो प्रकृति र मानिसको कर्म अनुसारको पर्व हो । यसमा  दिन लामो र छोटो हुने प्रक्रिया अर्थात् सूर्यको गति पनि जोडिएको छ । 

कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. जगमान गुरुङ
प्रा.डा. जगमान गुरुङ
लेखकबाट थप