शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक पोजिसन परिवर्तनपछि कसरी अघि बढ्ला राप्रपा ?

निर्वाचनसँगै असन्तुष्टि देखिन थाल्यो, चुनौतीको चाङमा लिङ्देन
शनिबार, ०२ पुस २०७९, १८ : ११
शनिबार, ०२ पुस २०७९

फरक राजनीतिक एजेन्डा र पृष्ठभूमि भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय राजनीतिमा ‘कमब्याक’ गरेसँगै उक्त पार्टीको आगामी यात्राबारे चासो बढ्न थालेको छ । पूर्वपञ्चहरुको बाहुल्य रहेको राप्रपा पटक पटक टुटफुट र विभाजनबाट गुज्रिँदै आएकाले पनि अब पार्टी कसरी अघि बढ्ला भन्ने चासो बढ्न थालेको हो ।

के पार्टी एकताबद्ध भइरहला ? पार्टी सरकारमा जाला कि नजाला ? पार्टीले कस्ता नीति तथा कार्यक्रम अघि सार्ला ? फरक एजेन्डा बोकेको राप्रपाले नयाँ पुस्तालाई कसरी तान्न सक्ला ? सुशासनका सन्दर्भमा पार्टी कसरी प्रस्तुत होला ?  समानुपातिक सांसदका सन्दर्भमा हाल देखिएका असन्तुष्टिका स्वरलाई कसरी सम्बोधन गर्ला ? भन्नेलगायतका प्रश्न राप्रपाका अगाडि देखिएका छन् । 

मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनबाट प्रतिनिधिसभामा १४ सिट जितेको राप्रपा संसद्को पाँचौँ शक्ति बन्न सफल बनेको छ ।  निर्वाचनसँगै असन्तुष्टिका स्वरहरू समेत सुनिन थालिसकेको अवस्थामा पार्टीको भविष्यबारे चासो बढ्नु स्वाभाविक पनि हो । 

यस्तो पृष्ठभूमिमा राप्रपाको आगामी यात्रा चुनौतीपूर्ण रहने पार्टीकै नेताहरू बताउँछन् । नेतृत्वको सन्तुलित भूमिका, प्रभावकारी योजना र चुस्त संगठनका साथै जनतासामु विश्वास कायम राख्न प्रभावकारी परिचालन हुनुपर्ने नेताहरूको जोड छ । यति मात्रै नभई भ्रष्टाचारको विषयमा पार्टीको स्पष्टता, एजेन्डाका सन्दर्भमा प्रभावकारिताका साथै नेतृत्वमा पारदर्शी निर्णय क्षमता हुनुपर्ने नेताहरूको भनाइ छ । राप्रपाका केही निर्वाचित सांसदको पृष्ठभूमि नै विवादास्पद छन् भने पार्टीको एजेण्डाविपरीत क्रिस्चियनलाई समानुपातिक सांसद बनाइएको अवस्था समेत छ । यस्तै समानुपातिक सांसद बनाउने क्रममा चलखेल भएको भन्दै असन्तुष्टिका स्वरहरू बाहिरिइसकेका छन् । उसो त पार्टीले समानुपातिक सूची सिफारिस गर्ने बेला पार्टी कार्यालयमा भएको होहल्लाले राप्रपामा सामान्य अवस्थामा छैन भन्ने अनुमान गर्न सकिन्छ । 

संवैधानिक राजतन्त्र, हिन्दुराष्ट्र, संघीयताको खारेजी जस्ता एजेन्डा बोकेको राप्रपामा सैद्धान्तिक विषयमा खासै विवाद नदेखिए पनि व्यक्तित्वको टकराव र नेताहरूको अस्थिर स्वभावका कारण पदक पटक विभाजित भइसकेको यथार्थका बीच पार्टीलाई एकताबद्ध बनाएर लैजान अध्यक्ष राजेन्द्र लिङ्देनसामु चुनौती रहेको धेरैको बुझाइ छ । 

ठीक एक वर्षअघि सम्पन्न पार्टीको एकता महाधिवेशनबाट लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए । निरन्तर ओरालो यात्रामा रहेको राप्रपाको ‘टर्निङ प्वाइन्ट’ लिङ्देनको आवागमनबाट भएकोमा नेताहरू एकमत छन् । तत्कालीन अध्यक्ष कमल थापाको नेतृत्वबाट दिक्दारी भएका पार्टीका नेता तथा कार्यकर्ताले नयाँ नेतृत्वबाट पार्टीलाई गति दिन सक्ने सन्देश आमजनतासम्म फैलाउन सफल भएका थिए । 

जसको परिणामस्वरुप हिन्दुराष्ट्र र राजतन्त्रप्रति आस्था राख्नेहरूका साथै ठुला राजनीतिक दलबाट वाक्कदिक्क भएकाको भोट तान्न राप्रपा सफल भयो । यो निर्वाचनमा राप्रपाले पाएको मत नागरिकले खोजेको विकल्पका रूपमा पनि लिइएको छ । नेतृत्वमा आएसँगै राजेन्द्र लिङ्देनले ठुला दलको विकल्प खोज्न आह्वानसहित देशव्यापी अभियानलाई तिव्रता दिए । विशेष गरी उनले देश दौडाहाका क्रममा ठुला दलको आलोचनामा समय खर्चिए भने भ्रष्टाचारविरुद्धको मुद्दालाई पनि जोडतोडका साथ उठाए । राम्रो काम नगर्दा ‘नेतालाई जनताले चोरका रूपमा हेरेको’देखि ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो’ भन्नेजस्ता भाषणले लिङ्देनले थोरै भएपनि सकारात्मक माहोल सिर्जना गर्न सके ।

 लिङ्देनको उदयको बलमा परम्परागत शक्ति राप्रपालाई पुनर्स्थापत हुन सहयोग पुगेको यथार्थताका बीच स्वाभाविक रूपमा पार्टीको आगामी यात्रापनि चुनौतिपूर्ण रहेको प्रवक्ता सगुन लावती स्वीकार गर्छन् । पार्टीको समग्र चुनावी नतिजाको विषयमा आधिकारिक र औपचारिक समीक्षा हुन बाँकी रहेपनि नेतृत्व परिवर्तन, ठुला दलका असफलता र अलोकप्रियताको परिणामस्वरुप राप्रपाको पक्षमा मत आएको उनको बुझाइ छ । 

‘पार्टीको समग्र चुनावी नतिजाको विषयमा आधिकारिक र औपचारिक समीक्षा हुन बाँकी छ । यद्यपि सरसर्ती हेर्दा गत चुनावको दाँजोमा उपलब्धि हासिल गरेका छौँ’, उनले भने, ‘ हामी सबैको परिश्रम पनि भइनै हाल्यो, साथसाथै ठुला दलका असफलता र अलोकप्रियताको पक्षलाई पनि नजरअन्दाज गर्न हुँदैन । किनभने जनताले विकल्प खोजका थिए ।’

तर, यसो भन्दैमा सबै कुरा प्राप्त भयो भनेर बस्न नहुने उनको जोड छ । ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्रको लक्ष्य प्राप्त गर्न अझै पनि हामीले धेरै सुझबुझका साथ अगाडि बढ्नु छ’, रातोपाटीसँग लावतीले भने, ‘राष्ट्रियता सुदृढ गर्ने, जनजीविकालाई सुदृढ गर्ने हाम्रो लक्ष्य हो । यी कुलाई ध्यान दिएर अघि बढ्नुपर्छ ।’

यतिबेला कार्यकर्तापंक्ति विगतको जस्तो सत्तालोलुप नहोस् भन्ने पक्षमा रहेको पनि उनले बताए ।  ‘कार्यकर्तापंक्तिको चिन्ता र चाहनालाई समेत मध्यनजर गरेर जिम्मेवारीपूर्वक हिँड्नुपर्ने हुन्छ’, उनले भने, ‘हामीले पार्टीमा विधिको शासनका लागि आवाज उठाएका थियौँ । विधिपूर्वक पार्टी चल्नुपर्छ ।’

उनले पार्टी निर्माणको आधार खडा भएको भन्दै अब विधिसम्मत ढङ्गले अघि बढाउन सकिएको खण्डमा राप्रपाको सुनौलो भविष्य रहेको जिकिर गरे । 

असन्तुष्टिको झिल्को निभाउने चुनौती

राप्रपा अध्यक्ष लिङ्देन पार्टीको चुनावी नतिजालाई लिएर उत्साहित रहेको उनको अभिव्यक्तिलाई लिएर सहजै अनुमान गर्न सकिन्छ । उनले सार्वजनिक अन्तरवार्ताहरुमा पार्टीलाई आगामी पाँच वर्षमा पहिलो शक्ति बनाउन लागिपर्ने बताएका छन् । यद्यपि उनले पार्टीलाई पहिलो शक्ति बनाउन कसरी काम गर्नेभन्नेबारेमा भने आधार प्रस्तुत गर्न सकेका छैनन् । 

बरु पार्टीभित्र चुनावी नतिजासँगै असन्तुष्टि देखिन थालिसकेको छ । विशेष गरी चुनावमा लिङ्देनलाई बलियो समर्थन गरेका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी लिङ्देनसँगै असन्तुष्ट छन् । आफूलाई समानुपातिक सांसद नबनाएर लिङ्देनले पशुपति शमशेरलाई च्याप्ने काम गरेको लोहनीले निकटस्थसँग गुनासो पोख्दै आएका छन् । लोहनीले छिट्टै पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने तयारी गरेको समेत बताइएको छ । 

यहीबीच कतिपय नेता कार्यकर्ताले समानुपातिकमा आर्थिक चलखेल हुनुका साथै क्रिष्चियन धर्म प्रचारक बीना लामालाई सांसद बनाउनेसम्मको कार्य भएको भन्दै आक्रोश पोखेका छन् । बिहीबारमात्रै कार्य सम्पादन समिति सदस्य अर्जुन राईको संयोजकत्वमा राजधानीमा पार्टीभित्रको समस्याका विषयमा छलफल भएको खुलेको छ ।  सो भेलामा पार्टीभित्र देखिएको विकृतिका विषयमा गम्भीर समीक्षा हुनुका साथै आगामी दिनमा सशक्त रुपले खबरदारी  अभियान सञ्चालन गर्नेलगायतका निष्कर्ष निकालिएको छ । सो भेलामा दीपबहादुर शाही, किशोर कार्की, नानी मैयाँ आचार्य, मीना सुवेदी, पदम तामाङ, केदार कोइरालालगायत डेढ दर्जन हाराहारीका नेताहरूको सहभागीता रहेको एक नेताले जानकारी दिए । उनीहरुले पुराना कार्यकर्तामाथि न्याय नभएको, आफू निकटलाई समानुपातिक सांसद बनाएको भन्दै बीना लामालाई पार्टीले सांसद बनाएर गम्भीर भूल गरेको निष्कर्ष समेत निकालेका थिए । ‘बैठकले आउँदा दिनमा केन्द्रीय समितिदेखि पार्टीका निकायमा आजाव उठाउनेदेखि सबैखालका अभियान सञ्चालन गर्ने भन्ने भएको छ’, ती नेताले भने । 

तर, प्रवक्ता लावती भने सीमित सिट भएकाले समानुपातिक सूचीमा सबैको चित्तबुझ्ने अवस्था हुन नसक्ने बताउँछन् । जनताले दिएको नतिजा र मताधिकार अनुसार पार्टीले समानुपातिक सिफारिस पठाएकाले सकारात्मक नतिजा निकाल्नेतर्फ पार्टीपंक्ति एक भएर लाग्नुपर्ने उनको भनाइ छ । 

तर, केन्द्रीय सदस्य जनकराज पाठक पार्टीमा समानुपातिक चयन गर्दा कार्यकर्ताहरुलाई न्याय नगरिएको दाबी गर्छन् । ‘पुराना इमानदार कार्यकर्ताहरुलाई पाखा लगाएर राप्रपा नबुझेका मान्छेहरु र राप्रपामा योगदान नै नभएका तथा अध्यक्षका वरिपरी घुम्नेहरुलाई समानुपातिकको एक नम्बर र दुई नम्बरमा राखेर माननीय बनाइएको छ’, उनले भने, ‘राप्रपा आफै हिन्दु राष्ट्रको वकालत गर्ने प्रमुख पार्टीमध्येमा एक हो । यसमा १०० प्रतिशत मान्छे हिन्दुवादी र  राजावादी हुन्छन् भन्ने मान्यतालाई क्रिस्चियन माननीय बनाएर अध्यक्षले यो कुरालाई तोड्नु् भएको छ । यसको देशव्यापी रूपमा विरोध भइरहेको छ ।’

उसो त राप्रपाका नेता दिलविकासराज भण्डारीले आफूलाई सांसद नबनाएकामा सामाजिक सञ्जालमार्फत चर्को असन्तुष्टि पोखेका छन् । साथसाथै समानुपातिकको नाममा आफूबाट चर्को रकम असुलिएको समेत उनको आरोप छ ।  समानुपातिकको पहिलो नम्बरमा राखेर आर्थिक, राजनैतिक अनि विविध स्वार्थपूर्ति गरिएपनि अन्तिममा आफूलाई सांसद नबनाइएको राजभण्डारीको भनाइ छ । उनी बागमती प्रदेशसभा सांसदको समानुपातिक बन्दसूचीमा थिए । 

अध्यक्षले चुनावका क्रममा तालमेल गर्दा कमजोरी गरेको समेत नेताहरुले बताउँदै आएका छन् । डा लोहनी त तालमलका कारण राप्रपालाई ठूलो नोक्सान भएको र कसैको देवत्वकरण गर्न गर्न जरुरी नरहेको प्रतिक्रिया दिएका छन् । उसो त आगामी दिनमा पार्टीभित्र सरकारमा सहभागिताको विषयमा पनि विवाद चर्किन सक्ने कतिपय नेताहरूको भनाइ छ ।

 राप्रपाको कमब्याकका बीच पार्टीभित्र देखिएका असन्तुष्टिलाई सम्बोधन गर्दै जनताको विश्वास जित्न लिङ्देन कसरी अघि बढ्छन् त्यो भने हेर्न बाँकी नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप