बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

खेल अझै बाँकी छ !

आइतबार, ०३ पुस २०७९, १२ : ४८
आइतबार, ०३ पुस २०७९

क्रोएसियाका कप्तान लुका मोड्रिचले गत सेप्टेम्बरमा आफ्नो ३७ औँ जन्मदिन मनाएका थिए, तर अझै पनि उनी अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिने सुरसारमा देखिएका छैनन् ।

मोड्रिचले कतारमा जारी विश्वकप २०२२ मा क्रोएसियालाई तेस्रो स्थान दिलाएका छन् । क्रोएसियाले शनिबार मोरक्कोलाई २–१ गोलले हराएको हो । क्रोएसियाको सफल यात्रामा महत्त्वपूर्ण भूमिका खेलेका मोड्रिचले शनिबारको खेलमा पनि उपस्थिति जनाएका थिए ।

खेलपछि उनले आफ्नो भविष्यबारे पनि अपडेट दिएका थिए । बीईआईएन स्पोर्टसँग कुराकानी गर्दै उनले भने, ‘मेरो भविष्यको बारे भन्नुपर्दा जर्मनीमा हुने युरो २०२४ मा म खेल्छु कि खेल्दिन थाहा छैन । हेरौँ, म चरणबद्धरुपमा अघि बढ्नुपर्छ । म राष्ट्रिय टोलीसँग खेल्दा रमाइलो अनुभव गरिरहेको छु । म खुसी छु । म अझै पनि उच्च स्तरमा खेल प्रदर्शन गर्न सक्छु जस्तो लाग्छ । म नेसन्स लिगसम्म खेल्न चाहन्छु अनि त्यसपछि युरोका बारेमा सोच्नेछु । अहिलेलाई चरणबद्ध रूपमा अघि बढ्ने र कम्तीमा नेसन्स लिग खेल्ने योजना हो । त्यसपछि हेरौँला ।’

यता क्रोएसियाका प्रशिक्षक डालिच पनि ३७ वर्षीय खेलाडीले क्राएसियाका लागि खेल्न जारी राख्ने अपेक्षा गर्छन् । उनी भन्छन्, ‘उनी हाम्रो कप्तान हुन् । हाम्रो बिग बोस । ३७ वर्षको उमेरमा पनि उनले यो प्रतियोगितामा राम्रो खेलेका छन्, एउटा २० वर्षको ठिटो जस्तै । केहीलाई यो उनको अन्त्य हो भनेर सोचेका छन् तर मलाई लाग्छ उनी हामीसँग अझै लामो समय रहनेछन् ।’

मोड्रिच आफ्नो अद्भुत करियरको अन्त्यतिर बढिरहेका छन् । तर, अहिले नै उनी अन्तर्राष्ट्रिय करियरलाई अलबिदा गर्न  तयार छैनन् । उनको आँखा अब नेसन्स लिगको फाइनलमा रहेको छ । जुन २०२३ मा क्रोएसियाले स्पेन, इटाली र नेदरल्याण्ड्सको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप