बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तहको प्रवेश परीक्षा सम्पन्न, स्नातक तहको कहिले ?

मङ्गलबार, ०५ पुस २०७९, १० : २३
मङ्गलबार, ०५ पुस २०७९

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पोष्टग्रेजुएट लेभल) अन्तर्गत विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा (इन्ट्रान्स) सम्पन्न गरेको छ । यहि पुष २,३ र ४ गते गरी काठमाडौं उपत्यकाभित्रका २७ परीक्षा केन्द्रबाट परीक्षा भएको थियो । 

परीक्षा मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । परीक्षामा सहभागी हुने परीक्षार्थी, निरीक्षक, सुरक्षाकर्मी, सहायक केन्द्राध्यक्ष, केन्द्राध्यक्ष, समन्वयकर्ता, सुपरीवेक्षक, पर्यवेक्षक लगायत सरोकारवाला सबैलाई आयोगले धन्यवाद समेत दिएको छ । 

परीक्षा प्रक्रियाको क्रममा आयोगलाई विभिन्न सुझाव, गुनासा र संवेदनशील जानकारी प्राप्त भएको आयोगले जनाएको छ । त्यसमाथि आयोग गम्भीर रूपमा अन्तरभूत गरी सम्बोधनको आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको जनाएको छ । परीक्षा सम्पन्न भएसँगै नतिजा प्रकाशनको प्रक्रिया अगाडि बढाइएको समेत आयोगले जनाएको छ । 

स्नातकोत्तर तहको प्रवेश परीक्षा सम्पन्न गरेको आयोगले स्नातक तहको परीक्षाका लागि भने ढिलाई गरेको छ । आफ्नै वार्षिक कार्यतालिका अनुसार अगाडि बढ्न सकेको छैन ।
 
कात्तिकको तेस्रो हप्ता प्रवेश परीक्षा सूचना प्रकाशन गर्ने कार्यतालिका थियो । तर, पुषको पहिलो हप्ता सकिन लाग्दा समेत आयोगले सूचना निकाल्न सकेको छैन । आयोगले केही दिनमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । 

निर्वाचनका कारण सूचना प्रकाशन लगायतका काममा ढिलाइ भएको आयोगले जनाएको छ । आवेदन सूचना प्रकाशन कार्यतालिका भन्दा ढिला भए पनि परीक्षा हुने तोकिएको कार्यतालिका अनुसार नै हुने आयोगका सदस्य सचिव डा भोजराज शर्मा काफ्लेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप