सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘एप्स प्रकरण’सँगै टेलिकमका प्रबन्ध निर्देशकलाई लागेका तीन आरोप

शनिबार, १५ फागुन २०७२, १२ : २१
शनिबार, १५ फागुन २०७२

सरकारी स्वामित्वमा रहेका संस्थामा भ्रष्टाचार कतिसम्म हुँदोरहेछ भन्ने पछिल्लो उदाहरण हो– नेपाल टेलिकमको ‘एप्स प्रकरण’ । करिब १५ लाख रुपैयाँमा बन्ने एप्सलाई सात करोडभन्दा बढी खर्च गरेर टेलिकमका उपल्लो तहका कर्मचारीले जनताको पैसामाथि मस्ती मारिरहेको समाचार सार्वजनिकपछि हिजोआज नेपाली बजारमा नेपाल टेलिकम प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यलाई विभिन्न आरोप लाग्न थालेका छन् । टेलिकमभित्रकै कर्मचारी, सूचना प्रविधि विशेषज्ञ र आचार्यनिकटकाले समेत उनलाई विभिन्न आरोप लगाउन थालेका छन् । एप्स प्रकरणलाई उनले गरेको घोटालाको एउटा उदाहरणमात्र मान्ने उनीहरूले आचार्यलाई अन्य आरोप पनि लगाएका छन् । आरोप नम्बर १ : दक्षताविपरीतको काम बुद्धिप्रसाद आचार्यको पृष्ठभूमि व्यवस्थापन हो । आचार्यले दी इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आईसीएआई) बाट चार्टर्ड एकाउन्टेन्सी (सीए) उत्तीर्ण गरेका हुन् । यसका अलावा उनले व्यवस्थापनमै स्नातकसमेत गरेका छन् । तर, उनलाई सूचना प्राविधि विषयको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान छैन । सीए पढ्दा लिएको सामान्य तालिमबाहेक उनीसँग सूचना प्रविधिसम्बन्धी ज्ञान छैन । पढाइअनुसार उनको दक्षता लेखा, लेखा परीक्षण, वित्तीय व्यवस्थापन, करलगायतका विषय हुन् । बैंक तथा वित्तीय संस्थामा लेखापरीक्षण गर्न परे खुलेरै प्रतिभा देखाउन सक्ने आचार्य एकाएक टेलिकम प्रबन्ध निर्देशक बनाएपछि व्यवस्थापनमा औसत काम गरे पनि प्राविधिक ज्ञान नहुँदा टेलिकममा विभिन्नखाले घोटाला भएको सरोकारवाला आरोप लगाउँछन् । टेलिकमभित्रकै एक कर्मचारी भन्छन्, ‘प्राविधिक विषयको ज्ञान नभएका व्यक्तिलाई प्रबन्ध निर्देशक बनाउन टेलिकमकै कर्मचारीले निकै दौडधुप गरेका थिए । सूचना प्रविधिमा ज्ञान नभएको व्यक्तिलाई प्रबन्ध निर्देशक बनाएको खण्डमा प्रविधि दुरुपयोग गरेर घोटाला गर्न पाइने लोभमा बद्नियतपूर्ण ढंगले उनलाई प्रबन्ध निर्देशक बनाउन लबिङ गरेका थिए ।’ आरोप नम्बर २ : अनियमितता गर्दै टेलिडिएनएलाई टेन्डर सीए पढ्दाताका आचार्य करिब पाँच वर्ष भारत बसेका थिए । त्यही समयमा उनले टेलिडिएनएका उपल्लो तहका कर्मचारीसँग हिमचिम बढाएका हुन् । त्यही आधारमा अनियमितता गर्दै कमिसनको लोभमा उसलाई एप्स बनाउने टेन्डर दिएको उनीनिकट अर्का चार्टर्ड एकाउन्टेन्ट बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा आचार्यका एक सहपाठी भन्छन्, ‘सीए अध्ययन सिलसिलामा तीनवर्षे तालिम (आर्टिकलसिप) गर्नुपर्छ । त्यही समय आचार्यले टेलिडिएनएको लेखापरीक्षणमा संलग्न भएका थिए । त्यही चिनजानलाई आधार बनाएर उनले अनियमितता गरे ।’ उनका अनुसार १५ लाखमा बन्ने एप्सलाई सात करोड खर्च गरेर अनियमितता भएको समाचार सार्वजनिकपछि आचार्यले टेलिडिएनए प्रतिनिधिलाई सम्पर्क गरी तत्कालका लागि सार्वजनिक अभिव्यक्ति नदिनसमेत आग्रह गरेका छन् । अध्ययनका लागि लामो समय भारतमै बिताएकाले उनको भारतसँग विशेष झुकाव रहेको उनका सहपाठीको तर्क छ । ‘बुद्धिप्रसाद सकेसम्म काम भारतकै कम्पनीलाई दिन चाहन्छन् । भारत बस्दा बनेको ‘नेटवर्क’ प्रयोग गरेर अगाडि बढ्नुपर्छ भन्ने सोच राख्ने उनले नै टेलिकमका कतिपय भद्रगोल अवस्थालाई झन् भद्रगोल बनाएका छन् । प्रबन्ध निर्देशक आचार्यले सार्वजनिक खरिद ऐनलाई कागजी रूपमा पूरा गरेर आफूनिकटको टेलिडिएनएलाई कमिसनकै लोभमा काम दिएको सरोकारवालाको आरोप छ । यता, नेपालका कम्पनीसँग कमिसनको ‘सेटिङ’ गर्दा कुनै न कुनै दिन थाहा हुने तर भारतीय कम्पनीसँग काम गर्दा जोखिम कम हुनाले उनले अनियमितता गर्दै भारतीय कम्पनीलाई काम दिएको सरोकारवालाको आरोप छ । आरोप नम्बर ३ : एनसेलसँगको अस्वाभाविक सम्बन्ध टेलिकमको गुणस्तरलाई लिएर विभिन्न किसिमका बहस हुने गरेका छन् । निजी क्षेत्रको एनसेलले रातारात प्रगति गरिरहँदा पनि नेपाल टेलिकमको गुणस्तर सुध्रिन नसक्नुलाई विभिन्न कोणबाट हेर्ने गरिएको छ । यसैबीच, नेपाल टेलिकमभित्रकै केही कर्मचारीले आचार्यले एनसेलसँगको मिलेमतोमा टेलिकमको गुणस्तर सुधार्न नखोजेको आरोप लगाएका छन् । राटोपाटीसँग कुराकानी गर्दै टेलिकमकै एक कर्मचारी भन्छन्, ‘एनसेलले छोटो समयमा निकै प्रगति गर्यो । टेलिकममा आचार्य आएदेखि नै गुणस्तर सुधार्न काम भएको छैन । देखावटी वा कागजी रूपमा केही काम भए पनि एनसेलको तुलनामा टेलिकमको गुणस्तर कमजोर छ । यसका लागि उनले एनसेलबाट समेत मोटो रकम लिने गरेकोमा विवाद छैन ।’ एनसेलले दिने कमिसनकै आडमा टेलिकमकै गुणस्तरमा आचार्यले सम्झौता गर्ने गरेको उनको तर्क छ । उनी थप्छन्, ‘टेलिकमको गुणस्तर बिग्रेको वा नसुध्रिएको खण्डमा त्यसको प्रत्यक्ष फाइदा एनसेलले लिने गरेको छ । ’

यो पनि पढ्नुहोस्

टेलिकमको कारोबार : १५ लाखको एप्सलाई ७ करोड खर्च

टेलिकम एप्स अनियमितता : प्रवक्ता र सहप्रवक्ताकै कुरा बाझियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप