सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोर्चाको अल्टिमेटम : वार्ता गर नत्र पूरानै स्वरुपको आन्दोलन

शनिबार, १५ फागुन २०७२, १२ : ४२
शनिबार, १५ फागुन २०७२

काठमाडौं – आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसको माग सम्बोधन गर्न सरकार उदासिन देखिएको भन्दै पूरानै स्वरुपको आन्दोलन गर्ने चेतावनी दिएको छ । मोर्चा विस्तार भएपछि शनिबार संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकले सरकारलाई तत्काल वार्ता गरी मधेसको समस्या सम्बाधेन गर्न माग गरेको हो ।

तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले रातोपाटीसँग कुरा गर्दै भने, ‘हामीले आन्दोलनको स्वरुप परिवर्तन गरेर सरकारलाई वार्ताकै माध्यमबाट मधेसको समस्या समाधन गर्न अवसर दिएका हौं । तर, मधेसको माग पूरा गर्न सरकार उदासिन देखिएको छ । यदी तत्काल वार्ता भएन भने हामी फेरि पुरानै स्वरुपको आन्दोलनमा फर्कन बाध्य हुन्छौं ।’ यस विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपज्ञ बुझाउने मोर्चाले निर्णय गरेको छ ।

उनले मधेस फेरि आन्दोलित भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । मोर्चाले आन्दोलनका नयाँ कार्यक्रमहरुको खाका बनाउने जिम्मा सचिवालयलाई दिएको छ । सचिवालयमा राजेन्द्र श्रेष्ठ , मनिष सुमन, वृषेश चन्द़ लाल, राम नरेश राय, केशव झा, कौशलेन्द्र मिश्रा र परमेश साह रहेका छन्  । प्रधानमन्त्रीको भारत भ्रमण असफल मोर्चाको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण असफल भएको ठहर समेत गरेको छ । ६ महिना लामो आन्दोलनपछि स्वरुप परिवर्तन भएको बेला त्यसलाई वेवास्ता गर्दै प्रधानमन्त्री भारत भ्रमणमा निक्लिएका कारण भ्रमण असफल भएको मोर्चाको निश्कर्ष छ । ‘संयुक्त विज्ञप्ति नआउनुले यसलाई पुष्टि गर्छ,’ नेता यादवले भने । भारतले प्रधानमन्त्रीलाई मधेसको समस्या समाधान गर्ने सन्देश दिएको पनि नेता यादवले रातोपाटीलाई बताए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा केन्द्रीय सचिवालय

२०७२ फाल्गुन १५

प्रेस विज्ञप्ति

आज मिति २०७२ फाल्गुन १५ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुने, काठमाडौंमा पार्टी अध्यक्ष श्री उपेन्द्र यादवज्यूको अध्यक्षतामा सम्पन्न भयो । उक्त बैठकले निम्न अनुसारका निर्णयहरु गरेको छ । १. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ७ सदस्यीय सचिवालय गठन गरेको छ । जसमा फोरम नेपालको तर्फबाट राजेन्द्र श्रेष्ठ, तमलोपाबाट बृषेशचन्द्र लाल, सद्भावनाबाट मनिश कुमार सुमन, तमसपाबाट रामनरेश राय, रामसपबाट केशव झा, नेसपाबाट कौशलेन्द्र मिश्र र फोरम गणतान्त्रिकबाट परमेश कुमार साह रहनु भएको छ । सचिवालयले जारी मधेश आन्दोलनको केन्द्र र मधेशका प्रमुख शहरहरुमा सर्वपक्षिय समिक्षा गरी आन्दोलनको भावी स्वरुप र रणनीति तय गर्नेछ । २. प्रधानमन्त्री केपी शर्माओलीको भारत भ्रमणका दौरान दुई देशको संयुक्त विज्ञप्ति समेत नआउनु, गुजरात भ्रमणका क्रममा नेपाली झण्डाको अपमान हुँदा सरकारले कुनै आपत्ति प्रकट नगर्नु र भारतसँगको ७ बुँदे सहमतिमा सन् २००९ कै सहमतिको कुरा दोह¥याइएको हुँदा कूटनीतिक रुपमा प्रधानमन्त्री ओलीको भारत भ्रमण असफल भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ठहर गरेको छ । ३. हालै तारा र काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति मधेशी मोर्चा हार्दिक सम्वेदना प्रकट गर्दछ । साथै विमानको प्राविधिक त्रुटि र दुर्घटनाको कारण पत्ता लगाउन विज्ञ टोली गठन गरी, दोषिमाथि कारबाही, मृतक परिवारलाई उचित क्षतिपूर्ति र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन थप सर्तकताका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग मोर्चा माग गर्दछ । यसका साथै सिरहा लगायत मधेशको अन्य जिल्लाहरुमा आगलागीबाट भएको नोक्सानीको क्षतिपूर्तिको लागि सरकारसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माग गर्ने निर्णय गरेको छ । ४. नाका अवरोध पूर्णमा हटिसक्दा पनि इन्धन र ग्यासको वितरण प्रणाली सहज नहुनु, तस्करी र कालाबजारी अझै कायमै रहनुले सरकार आफै भ्रष्टाचार र कालोबजारीमा लिप्त रहेको प्रमाणित हुन्छ । तसर्थ, सर्वसाधारण जनतालाई इन्धन र ग्यास लगायत अत्यावश्यक उपभोग्य सामाग्री सहज ढंगले उपलब्ध गराउन र लूटतन्त्रलाई तत्काल नियन्त्रण गर्नु पर्दछ । साथै भूकम्प पीडितहरुलाई राहत र उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्छ । ५. आन्दोलन अवधिभरको यातायातमा लागेको जरिवाना, बंैकको व्याज मिनाहा, विद्यालयमा विद्यार्थीको मासिक शुल्क पूर्ण रुपमा मिनाहा लगायत अन्य सरकारी निकायहरुमा लाग्ने कर, दस्तूर वा जरिवाना नलिन सरकारसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा माग गर्दछ । ६. न्यायिक छानविन आयोग गठन नहुञ्जेल आन्दोलनका दौरान भएका घटनाहरुमा कुनै पनि आन्दोलनकारी माथि झूठा मुद्दा नलगाउन, गैर न्यायिक धरपकड बन्द गर्न, हिरासतमा राखिएका आन्दोलनकारीहरुलाई तत्काल रिहा गर्न, आन्दोलनमा अंगभंग भएका घाइतेहरुको अविलम्ब औषधोपचार गर्न, आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरुलाई बिना शर्त तत्काल सहीद घोषणा गर्न र सहीद परिवारलाई अविलम्ब उचित क्षतिपूर्ति उपलब्ध गराउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा जोडदार माग गर्दछ । ७. न्यायालय लगायत राज्यको हरेक निकायहरुमा राजनीतिक भागबण्डाको आधारमा अघि बढाइएको नियुक्ति प्रक्रियालाई तत्काल स्थगित गरी समानुपातिक समावेशी सिद्यान्तको आधारमा नियुक्ति प्रक्रिया सुरु गरिनु पर्दछ । ..................................... मोर्चाको सचिालयको तर्फबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप