सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भूकम्पका घाइतेलाई इलाम समाजको सहयोग

शनिबार, १५ फागुन २०७२, १४ : ३५
शनिबार, १५ फागुन २०७२

काठमाडौं – वैशाखको विनाशकारी भूकम्पमा सख्त घाइते भई अझै उपचारका क्रममा रहेका इलामको आमचोक–५ का रमेशप्रसाद खनाललाई इलाम समाज हङकङले आर्थिक सहयोग उपलब्ध गराएको छ । इलाम समाजले उपलब्ध गराएको ७३ हजार रुपैयाँको चेक शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा गायक कुवेर राईले भूकम्पका घाइते खनाललाई हस्तान्तरण गरे । राजधानीको बालाजु–माछापोखरीमा बस्दै आएका खनालका श्रीमती सिर्जना, छोरा २२ वर्षीय सुमन र छोरी १८ वर्षीया अस्मिता पनि घाइते भएका थिए ।

परिवारका सदस्यको स्वास्थ्य अवस्था सामान्य भइसके पनि खनाल भने अझै उपचारका क्रममा छन् । घर भत्किँदा पुरिएर मेरुदण्डमा गम्भीर असर परेका कारण हिँडडुल/उठबस गर्न अझै समस्या पर्ने गरेको उनले सुनाए । “भुइँचालो आएपछि मलाई बाँच्छु भन्ने लागेको थिएन । छोरो बाहिर गएकाले आफ्नो वंशसम्म रह्यो भन्ने सोच्न सकें, त्योभन्दा अरू केही सोच्नै सकिएन । छोरो पनि पो सीतापाइलामा घाइते भएछ,” उनले स्मरण गरे, “घरले किचेपछि वैशाख १२ गते मध्यरात हस्पिटलमा मेरो होस खुलेको थियो । अरूले त मलाई मरेकै भन्ठानेछन् ।” उनले भूकम्पपछि पुनर्जीवन पाएको उल्लेख गर्दै आर्थिक सहयोगका लागि इलाम समाजप्रति आभारी रहेको बताए । गायक राईले समाजले जिल्लाको विकासका साथै अतिरिक्त गतिविधिमा सहकार्य गर्दै आएको उल्लेख गर्दै उक्त कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा खोजअन्वेषक डा. देवी क्षेत्री, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका पूर्वस्ववियु सभापति मंगल मेन्याङ्बो, अध्यागमनका शाखा अधिकृत अशोककुमार बान्तवा, गीतकार डीआर राई, पत्रकार सचित राईलगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप