बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दैनिक आठ लाख लिटर पानी चुहावट

शुक्रबार, १४ जेठ २०७३, ११ : २६
शुक्रबार, १४ जेठ २०७३

जनकपुरधाम - आम उपभोक्ताको सुविधालाई ध्यानमा राखी जनकपुर नगर क्षेत्रभित्र जडान गरिएका सार्वजनिक धाराबाट दैनिक ३० प्रतिशत पानी चुहावट हुने गरेको छ ।

नेपाल खानेपानी संस्थान, जनकपुर शाखाले जनग क्षेत्रभित्र जडान गरेको खानेपानीका १२ वटा सार्वजनिक धाराबाट दैनिक चार लाख ४८ हजार रुपैयाँ मूल्य बराबरको आठ लाख लिटर पानी चुहावट हुने गरेको छ ।

संस्थानले आम उपभोक्ताको सुविधाका लागि राखिएका ४२ वटा सार्वजनिक धारामध्ये नगर क्षेत्रभित्र रहेका १२ वटा सार्वजनिक धारा मात्र सञ्चालनमा रहेका छन् । ती धारा बिगे्रका, टुटी नभएकाले अनवरत रुपमा पानी चुहिने गरेकाले संस्थानले चार लाख ४८ हजार रुपैयाँ दैनिक रुपमा घाटा बेहोर्नु परेको संस्थानका प्रमुख सुरेशकुमार महतोले बताएक छन् ।

निजी, सार्वजनिक तथा सरकारी कार्यालयसमेत गरी तीन हजार २३३ धारा रहेकामा संस्थानले दैनिक एक लाख ५० हजार मूल्य बराबरको २६ लाख ७० हजार लिटर पानी छाड्ने गरिन्छ । बढ्दो जनसङ्ख्याको चाप उपनगरपालिका भएपछि नगर क्षेत्रमा दैनिक ७२ लाख ५० हजार लिटर पानीको माग भएपनि संस्थानले हाल दैनिक २६ लाख ७० हजार लिटर पानी वितरण गर्ने गरेको सो कार्यालयले जनाएको छ ।

जमिनमुनि ६४ फिट तल करिब ४० वर्ष पुरानो पाइप रहेकाले त्यस्ता पाइप बिगे्रको, खिया लागेको, टुटफुट भएको, चर्केको तथा मर्मतसम्भार हुन नसकेकाले कतिपय ठाउँमा खानेपानी पाइपबाट फोहर पानीसमेत निस्किने गरेकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको उनीहरुको गुनासो छ ।

“खानेपानी संस्थानले वितरण गर्ने पानी खानयोग्य नभएको, कालो लेदो मिश्रित पानी आउने गरेकाले त्यस्ता पानी भाँडावर्तन र कपडा धुनमा प्रयोग गर्ने गरेको छु”, जनकपुर उपमहानगरपालिका–६ का मोहम्मद हैदर खान भन्छन्, “स्वच्छ तथा सफा पानी खान आफूले ४०० फिटमा ट्युबवेल जडान गरी पानी खाने गरेको छु ।”

एसियाली विकास बैंक ९एडिबी०ले पेठिया, क्याम्पस चौक लगायतका ठाउँमा नाला निर्माण गर्ने क्रममा खानेपानीको पाइप तोड्ने, भत्काउने तथा भाँच्ने गरेकाले त्यस भेगका एक हजारभन्दा बढी उपभोक्ता खानेपानी प्रयोग गर्नबाट वञ्चित रहेको संस्थानले जनाएको छ । बढ्दो जनसङ्ख्याको चाप, नयाँ नयाँ घर निर्माण हुनु तथा नजिकका गाउँ नगरपालिकामा गाभिएपछि खानेपानीको माग बढेपछि ४५ लाख ८० हजार लिटर पानी अपुग भएको छ भने त्यसका लागि कम्तीमा ५० किलोमिटरसम्म पाइप जडान गर्नुपर्ने भए पनि बजेटको अभावले माग अनुसारको पानी आपूर्ति गर्न नसकिएको बताएको छ ।

कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार २०७२ साल माघसम्ममा धारा जडानबापत ४५ लाख ४८ हजार ७९३ रुपैयाँ, बिलिङबाट आम्दानी गरिएको छ भने साउनदेखि २०७३ साल वैशाखसम्ममा ४२ लाख ५७ हजार ४९० रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

त्यस्तै, ग्राहक तथा सरकारी कार्यालयमाथि हालसम्म एक करोड ७१ लाख ३४ हजार ४६७ रुपैया ८२ पैसा बक्यौता रकम बाँकी भएकाले सो रकम बुझाउन सम्बन्धित निकायलाई पत्राचार गरिएको प्रमुख महतोले बताए ।

कर्मचारीको अभाव, जनसङ्ख्या बढेको हिसाबले पाइप लाइनको विस्तार नहुनु बजेटको अभावको कारण संस्थानले उपभोक्ताको माग अनुसारको पानी आपूर्ति गर्न नसकिएको हो । नेपाल सरकारले आम उपभोक्ताको सहुलियतका लागि नगर क्षेत्रको विभिन्न ठाउँमा सार्वजानिक धारा जडान गरिए पनि कर्तव्यबोधको अभावको कारण स्थानीय जनताले त्यस्ता धाराको संरक्षण गर्न नसकेकाले खानेपानी चुहावट बढ्दै गएको छ । ––––––

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप