बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११

मङ्गलबार, ३० असार २०८३, २३ : ५९
मङ्गलबार, ३० असार २०८३

सारांश

  • सन् २०२६ को फिफा विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार उपाधिका मुख्य दाबेदार फ्रान्स र स्पेनबिच डलासको एटी एन्ड टी स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।
  • यस विश्वकपमा स्पेनले हालसम्म केवल एक गोल मात्र व्यहोरेको छ भने फ्रान्सका कप्तान किलियन एम्बाप्पेको नेतृत्वमा रहेको अग्रपंक्ति निकै तीव्र र अप्रत्याशित मानिन्छ ।
  • युरो २०२४ को सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले पराजित गरेको थियो, जसको बदला लिने अवसर फ्रान्सका लागि आजको खेल बनेको छ ।

काठमाडौँ ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो सेमिफाइनल खेलमा बुधबार उपाधिका दुई मुख्य दाबेदार टोलीहरू फ्रान्स र स्पेनबिच डलासको एटी एन्ड टी स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । विश्व फुटबलका शीर्ष वरीयताका यी दुई महारथीबिचको खेललाई यस विश्वकप कै सबैभन्दा रोमाञ्चक र बहुप्रतीक्षित भिडन्तका रूपमा हेरिएको छ । नेपाली समयअनुसार बुधबार बिहान १२ः४५ बजे सुरु हुने यस खेलका लागि दुवै टोलीले आ–आफ्नो सुरुवाती ११ सार्वजनिक गरिसकेका छन् ।

यस प्रतियोगितामा स्पेनले हालसम्म केवल एक गोल मात्र व्यहोरेर आफ्नो बलियो रक्षापंक्तिको परिचय दिएको छ । छोटो पास, उत्कृष्ट बल नियन्त्रण र सन्तुलित प्रदर्शनका कारण सेमिफाइनल पुगेको स्पेनको सामना आज फ्रान्सको घातक आक्रमणसँग हुनेछ । फ्रान्सेली टोलीका कप्तान किलियन एम्बाप्पेको नेतृत्वमा रहेको अग्रपंक्ति निकै तीव्र र अप्रत्याशित मानिन्छ । फ्रान्स लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुग्ने ऐतिहासिक लक्ष्यसहित मैदान उत्रिँदा वर्तमान युरोपियन च्याम्पियन स्पेन भने आफ्नो लयलाई निरन्तरता दिँदै दोस्रो पटक उपाधि नजिक पुग्न चाहन्छ ।

यी दुई टोलीबिचको खेलमा विगतको इतिहास पनि जोडिएको छ । युरो २०२४ को सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो, जसका कारण फ्रान्सका लागि आजको खेल सो हारको बदला लिने उपयुक्त अवसर बनेको छ । फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले सहजै हराएको थियो भने स्पेनले बेल्जियममाथि १–० को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।

बुधबारको महाभिडन्तका लागि फ्रान्सले ४–२–३–१ को फर्मेसनमा टोली मैदान उतारेको छ । फ्रान्सेली टोलीको गोलपोष्ट माइक मेन्यानले सम्हाल्नेछन् भने रक्षापंक्तिमा जुल्स कुण्डे, दायोट उपामेकानो, विलियम सालिबा र लुकास डिन्ये रहनेछन् । डिफेन्सिभ मिडफिल्डमा औरेलियन चुआमेनी र एड्रियन राबियोले खेल नियन्त्रण गर्नेछन् । त्यस्तै, आक्रामक मिडफिल्डको जिम्मेवारी उस्मान डेम्बेले, माइकल ओलिसे र ब्राड्ले बारकोलाले पाएका छन् भने अग्रपंक्तिमा कप्तान किलियन एम्बाप्पेले टोलीको नेतृत्व गर्नेछन् ।

अर्कोतर्फ, स्पेनले आजको खेलमा ४–१–२–३ को आक्रामक रणनीति अपनाएको छ । स्पेनिस टोलीको गोलरक्षकमा उनाइ सिमोन रहनेछन् भने डिफेन्समा पेड्रो पोरो, पाउ कुबार्सी, आयमेरिक लापोर्टे र मार्क कुकुरेया रहेका छन् । मिडफिल्डमा रोड्रीले डिफेन्सिभ भूमिका निभाउनेछन् भने उनलाई डानी ओल्मो र फाबियान रुइजले साथ दिनेछन् । अग्रपंक्तिमा युवा स्टार लामिन यामाल र मिकेल ओयारजाबालसँगै एलेक्स बाएना रहनेछन् । चोटबाट निको हुँदै गरेका निको विलियम्स पूर्ण फिट नभएका कारण प्रशिक्षक लुइस दे ला फुएन्तेले विलियम्सलाई बेञ्चमा राख्दै उनको स्थानमा बाएनालाई सुरुवाती टोलीमा समेटेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप