बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

युनाइटेडसँग मोरिन्होको तीन वर्षको करार

शुक्रबार, १४ जेठ २०७३, १५ : ५८
शुक्रबार, १४ जेठ २०७३

म्यान्चेस्टर – पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्होले लामो चर्चापछि म्यानचेस्टर युनाइटेडसँग औपचारिक सम्झौता गरेका छन् । उनले तीन वर्षका लागि इंग्लिस प्रिमियर लिगकै सर्वाधिक सफल इतिहास बोकेको क्लबसँग सम्झौता गरेका हुन् ।

गत साता बर्खास्तीमा परेका लुईस भान गालको सट्टामा अब मोरिन्होले युनाइटेडको प्रशिक्षण सम्हाल्नेछन् । यसअघि भान गालले दुई वर्षे युनाइटेड बसाईका क्रममा गत सातामात्रै टोलीलाई एफए कपको उपाधि जिताएका थिए ।

‘उनी केही सरल छन् र उनी आजको दिनमा फुटबलकै उत्कृष्ट प्रशिक्षक हुन् ।’– म्यानचेस्टर युनाइटेडका कार्यकारी उपध्यक्ष इड उडवार्डले भनेका छन् ।

सम्झौता कार्यक्रममा बोल्दै मोरिन्होले भनेका छन्, ‘म्यानचेस्टर युनाइटेडको प्रशिक्षक हुन पाउनु धेरै गर्विलो विषय हो । यो क्लब विश्वमै चिनिएको छ ।’ यसअघि लामो समय चेल्सीलाई प्रशिक्षण दिएका मोरिन्होले युनाइटेडको मैदानसँग आफ्नो पुरानै सम्बन्ध रहेको बताए ।‘वल्र्ड ट्राफोडमा आउँदा सधै रमाइलो हुन्थ्यो । अब म युनाइटेडका फ्यानहरुकै प्रशिक्षक हुदैँछु र आउँदा दिनहरुमा उनीहरुको समर्थनको आशा गर्छु । ’ गत डिसेम्बरमा चेल्सीबाट बर्खास्तीमा परेपछि मोरिन्हो क्लब विहिन थिए । उनको प्रशंशा गर्दै म्यानचेस्टरका उपाध्यक्ष उडवार्डले भने–‘उनको सफलताको रेकर्ड निकै राम्रो छ र यसले क्लबलाई अगाडी लैजानेछ । उनले युरोपमा थुप्रै उपाधी जितेका छन् र योभन्दा सुखद कुरा उनलाई प्रिमियर लिग मनपर्छ । उनले यहाँ ३ उपाधि जितिसकेका छन् ।’

चेल्सीलाई तीनपटक प्रिमियर लिग जिताएका मोरिन्होले अब चेल्सीकै प्रतिस्पर्धी युनाइटेडमा विश्वका उत्कृष्ट खेलाडी भित्र्याउने योजना बनाएका छन् । इन्टर मिलानमा मोरिन्होसँगै काम गरेका स्विडिस स्टार ज्याटलान इब्राहिभोमिचलाई उनले पहिलो रोजाईमा राखेका छन् । भर्खरै मात्र इब्राहिभोमिचले पेरिस सेन्ट जर्माइन छाड्ने घोषणा गरेका थिए । गत बिहिबारमात्रै उनले म्यानचेस्टरलाई फेरि पुरानै अवस्थामा फर्काउनका लागि होसे मोरिन्हो उपयुक्त प्रशिक्षक हुने बताएका थिए । रोनाल्डोले दिए बधाई, तर भने फर्कने सम्भावना छैन

म्यानचेस्टरका पूर्व स्टार क्रिष्ट्रियानो रोनाल्डोले होसे मोरिन्होलाई शुभकामना दिदैँ उनले क्लबलाई फेरि उचाईमा पुर्याउने विश्वास लिएका छन् । तर रोनाल्डोले म्यानचेस्टर फर्कने संभावना नरहेको प्रतिक्रिया दिएका थिए । स्पेनिस टेलिभिजनसँग कुराकानी गर्दै उनले मोरिन्होको नियुक्ती युनाइटेडप्रेमीका लागि राम्रो समाचार रहेको बताए । ‘मलाई आशा छ युनाइटेड फेरि त्यस्तै हुनेछ जस्तो विगतमा थियो किनकी पछिल्लो केही वर्ष युनाइटेडले आफ्नो पहिचान गुमाएको छ । म्यानचेस्टर मेरो हृदयमा सधैँ भएका कारण पनि यो क्लबले नराम्रो गर्दा मलाई पिडा हुन्छ । तर अब मलाई आशा छ मोरिन्होले युनाइटेडलाई फेरि पुरानै अवस्थामा फर्काउनेछन् ।’ ३१ वर्षका रोनाल्डोले युनाइटेड जानसक्ने संभावना नरहेको बताएका छन् –‘ तत्कालका लागि म यहाँ खुसी छु र यही क्लबमै बस्न चाहन्छु । मलाई लाग्दैन रियाल म्याड्रिडभन्दा राम्रो क्लब अरु हुनसक्छ । त्यसैले अन्य क्लबले अहिले मलाई ल्याउने सम्बन्धमा नसोच्दा हुन्छ किनकी रियाल म्याड्रिड उत्कृष्ट छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप