बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

युरो २०१६ पूर्वसन्ध्या हिसांत्मक बन्दै फ्रान्सको आन्दोलन

शुक्रबार, १४ जेठ २०७३, १८ : ५५
शुक्रबार, १४ जेठ २०७३

पेरिस – फ्रान्समा मजदूर अधिकार माग्दै आन्दोलनमा उत्रिएका कमदारमाथि प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनले हिंसात्मक रुप लिएको छ । सडकमा प्रहरीले स्मोक ग्रिनेड र टियरग्याँस प्रहार गर्दा आन्दोलनकारीहरु पनि तोडफोडमा उत्रिएका छन् । तोडफोडकै आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।

नयाँ मजदूर कानून विरुद्ध आन्दोलनमा उत्रिएका २० हजार जनताको आन्दोलनले हिंसात्मक स्वरुप लिएपछि फ्रान्स सरकारले पनि आन्दोलनकारीविरुद्ध विशेष सुरक्षा रणनीति अपनाएको छ । बन्दका कारण फ्रान्समा पेट्रोल पम्पहरुमा पेट्रोल राखिएन भने मुख छोपेका प्रदर्शनकारीहरुले अन्य थुप्रै ठाउँमा तोडफोड गरे ।

देशलाई अस्थिर बनाउनका लागि यस्तो हर्कत भएको भन्दै प्रधानमन्त्री म्यानूयल भल्सले यस्तो विरोध स्विकार्य नहुने बताएका छन् । नयाँ कानूनले मजदूरहरुले ३५ घण्टा प्रतिसाता काम गर्न पाउने अधिकारलाई हनन गरेको भन्दै प्रदर्शन भएको हो । राष्ट्रपति फ्रान्सिस होल्याण्डेले नयाँ कानूनको निमार्णपछि बेरोजगारी घट्ने दाबी गरेपनि प्रदर्शनकारीहरुले कामदारको स्वतन्त्रतालाई नयाँ कानूनले कुण्ठित गर्ने बताएका छन् । अहिले फ्रान्समा बेलायतको तुलनामा मजदूरहरुले बढी नै स्वतन्त्रता पाउँदै आएका छन् ।

तर नयाँ कानून निर्माण भएपछि कुनै पनि कम्पनीले मजदूरलाई निकाल्न र काममा राख्न सहज हुने भएको छ । मजदूर संगठनका नेता जियन डुरन्दले यस कानून बनेसँगै देशमा निराशा छाएको बताएका छन् । ‘अहिले पुरै देश आक्रान्त छ । त्यसैले हामी पेरिस लगायतका शहरमा प्रदर्शनमा छौ । सरकारले निर्णय फिर्ता नलिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।’– उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप