बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पानीको अभावले गाउँ नै विस्थापित

शनिबार, १५ जेठ २०७३, १४ : ५७
शनिबार, १५ जेठ २०७३
पोखरा– लामो समयसम्म पानी नपरेपछि मुस्ताङका स्थानीयवासी चिन्तित बनेका छन् । लगभग एक वर्षयता नै पानी पर्न नसकेका कारण हिमाली भेगमा उत्पादन हुने उवा, फापर, स्याउलगायतको उत्पादनमा कमी आउने स्थानीयवासी बताउँछन् । लामो समयसम्म पानी नपरेका कारण कृषिजन्य उत्पादनमा कमी आउने देखिएको मुस्ताङको छुसाङ गाविस ताङ्वे गाउँकी ६९ वर्षीया झाङ्मो साङ्मो गुरुङले बताउनुभयो । “लगभग ८÷९ महिनायता मुस्ताङमा पानी परेको छैन,” उहाँले भन्नुभयो । उच्च हिमाली क्षेत्र भएका कारण यहाँ वर्षमा एउटा बाली मात्र लगाइन्छ । पानी नपरेका कारण त्यही एउटा बाली पनि उत्पादन कमै हुन्छ । “पानी कम पर्दा खानेपानीका मुहानसमेत सुक्न थालेका छन्” गुरुङले भन्नुभयो । मुस्ताङ्को उपल्लो भागमा विगतमा हिउँ पर्याप्त पर्ने गरे पनि पछिल्लो समयमा निकै कम पर्ने गरेको स्थानीयवासी बताउँछन् । उपल्लो मुस्ताङका ६ गाविस लोमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ र घमीमा अत्यन्त कम हिउँ परेको छ । हिउँ तथा पानी कम पर्न थालेपछि पानीको चरम अभावसँगै छोसेर गाविस– ९ स्थित सामजुङ बस्ती पानीको खोजीमा उक्त गाविसकै नमासुङ गाउँमा सरेको छ । स्थानीय समाजसेवी एवम् नेकपा (एमाले) मुस्ताङका सचिव देव गुरुङका अनुसार हिउँ अत्यन्त कम पर्दै गएपछि पानीको स्रोत नै सुकेका कारण बस्ती सरेको हो । बस्ती सार्नका लागि मुस्ताङी राजा जिग्मे परवल विष्टले जग्गा उपलब्ध गराउनुभएको स्थानीयवासी तोप्के गुरुङले जानकारी दिनुभयो । “दश÷बाह्र वर्ष अघिसम्म सामजुङमा पानीको मुहान थियो,” उहाँले भन्नुभयो– “पछिल्ला वर्षमा हिउँ पर्ने क्रम घट्दै गएपछि उक्त मुहान सुकेका कारण खानेपानीको समस्या भएपछि बस्ती नै सार्न बाध्य हुनुपरेको हो ।” पानीको अभावमा सामजुङ गाउँका १८ घरपरिवार तीन घण्टा टाढाको नमासुङ गाउँमा सरेका छन् । च्याङग्रा तथा भेडा पालेर आफ्नो जीविका चलाउँदै आएका यहाँका स्थानीयवासीका लागि हिउँ तथा पानी पर्न छोडे पछि चरनको समेत अभाव हुँदै गएको अर्का स्थानीयवासी कर्म गुरुङ बताउनुहुन्छ । पछिल्लो समयमा बढ्दैगएको जलवायु परिवर्तनको असरका कारण कम पानी पर्न थालेको पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय, पोखराका प्रमुख राजाराम ढकाल बताउनुहुन्छ । “मनाङ, मुस्ताङ आफैंमा कम पानी पर्ने ठाउँ हुन्,” उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण पछिल्लो समयमा विगतमा भन्दा कम पानी पर्न थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप