छोटे राजाहरुले देश बिगारे– उपेन्द्र यादव
काठमाडौं– संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गणतन्त्रको नाममा लूट मच्चाउँदै छोटे राजाहरुले देश बिगारेको टिप्पणी गरेका छन् । तर, सत्ता र शक्तिको दुरुपयोग गर्दै गणतन्त्र, संघीयता र समावेशी विरुद्ध हुने कुनै पनि हर्कत आफूहरुलाई सह्य नहुने उनले बताए । ‘हिजो राजतन्त्र छँदा देशमा एउटा राजा थियो, अहिले उसैको सीको गर्दै सरकारमा भएजति सबै छोटे राजा बनेका छन्,’– संघीय गठबन्धनले शनिबार काठमाडौंको बसन्तुपरमा आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै यादवले भने, ‘संघीयता, समावेशी र गणतन्त्र विरोधी गतिविधि हामीलाई स्वीकार छैन ।’ यादवले मुलुकमा राजनीतिक क्रान्ति अझै बाकी नै रहेको जिकिर गरे । ‘सरकारले आर्थिक क्रान्तिको कुरा गर्दैछ, तर राजनीतिक क्रान्ति पूरा नहुदाँसम्म आर्थिक क्रान्ति सफल हुँदैन । अधूरो राजनीतिक क्रान्ति हामीले पूरा गर्छौ’– यादवले भने । एकात्मक राज्यसत्ता ध्वस्त पार्न आफूहरुको लडाई जारी रहेको भन्दै यादवले विभेद्को अन्त्य नहुँदासम्म संघर्ष चलिरहने बताए ।
संविधान पुनर्लेखनको लागि सरकारबाट ठोस प्रतिबद्धता आए आफूहरु वार्तामा बस्न तयार रहेको यादवले बताएका छन् । ‘हामीले पनि वार्ताबाटै निकास चाहेका हौं, तर विश्वासको उचित वातावरण बन्नु पर्यो’– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले भने । नश्लवादी संविधान स्वीकार नभएको भन्दै उनले संविधानबाट विभेदकारी प्रावधानहरु हटाउन हामीले संविधानको पुनर्लेखन भनेको बताए । संविधान पुनर्लेखन नै नबुझ्ने लालबुझक्कडहरु यहाँ धेरै रहेको उनले टिप्पणी गरे । संविधानका विभेदकारी प्रावधान हटाउन राजी नहुने हो भने तेस्रो जन आन्दोलनको सामना गर्न तयार भएर बस्न सरकारलाई उनले चेतावनी दिए । यसैगरी, गठबन्धनका नेता राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरदसिंह भण्डारीले आफूहरुले काठमाडौंका जनतालाई दुःख दिन नचाहेको बताएका छन् । संघीय गठबन्धनद्वारा शनिबार बसन्तपुर नजिकै आयोजना गरेको विरोध सभामा उनले सो कुरा बताएका हुन् । ‘हामीले त राज्य सत्ता सञ्चालकहरुलाई संवेदनशील भएर जनताको आवास सुन भनेका हौ,’ उनले भने, ‘हामी शान्तिपूर्ण आन्दोलनमा छौं, हामीले काठमाडौका जनतालाई दुःख दिन खोजेको हैन ।’ उनले संविधानमा विभेदकारी व्यवस्था भएकोले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने पनि बताए । उनले गठबन्धनले विगत १५ दिनदेखि शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेको भन्दै यसलाई जनताले बुझ्नुपर्ने बताए ।
त्यस्तै, आन्दोलनरत २९ दलीय संघीय गठबन्धनका नेता कुमार लिङदेनले आन्दोलनकै बलमा सरकारलाई झुक्न बाध्य पार्ने चेतावनी दिएका छन् । संघीय गठबन्धनले आज शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले आन्दोलनको शक्तिलाई बेवास्ता नगर्न सरकारलाई सचेत गराए । ‘हामीलाई झुकाउन खोज्ने संवेदनहीन राज्य आफै झुक्न बाध्य हुन्छ,’– गठबन्धन आवद्ध संघीय लिम्बूवान पार्टीका अध्यक्ष लिङदेनले भने, ‘तपाईहरु ढुक्क हुनुुस्, आन्दोलनकै बलमा सरकार झुक्छ र माग सम्बोधन हुन्छ ।’ मधेशी, आदिवासी जनजाति, खस, लिम्बूवान, मगरात, शेर्पा, नेवारसहित देशका सबै उत्पीडित समुदायले एक भएर थालेको राष्ट्रिय आन्दोलनलाई कसैले पनि बेवास्ता गर्न नसक्ने उनले दाबी गरे । पूर्ण नेपाली हुनबाट बञ्चित गर्न आन्दोलनकारीको मागलाई सरकारले दमन गर्न चाहेको उनले आरोप लगाए । ‘एकातिर देश छाडेर जानेको लर्को छ, यहाँ त नेपाली हुन पाउँ भन्दै आन्दोलन भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण