रियाल विरुद्ध एथलेटिको : को बन्ला युरोपको राजा ?
समय : मध्यराती १२ बजेर ३० मिनेट (नेपाली समयअनुसार)
स्थान : सानसियरो रंगशाला, मिलान, इटली
एकपटक डिएगो सिमोनीले भनेका थिए –‘हाम्रो क्लब र रियाल तथा बार्सीलोनाबीचको बजेटको अन्तर ४ सय मिलियन अमेरिकी डलर छ । तर जब मैदानमा रेफ्रीले सिट्ठी फुक्छन् । तर हाम्रा खेलाडी र समर्थकको मुटु पनि उत्तिकै धड्कन्छ । बजेट यतिबेला गौण हुन्छ ।’ अविश्वसनीय ढंगबाट एथलेटिको म्याड्रिडले सन् २०१४ मा बार्सीलोना र रियाल म्याड्रिडलाई चकित पार्दै स्पेनिस ला–लिगा जितेको थियो । यस वर्ष एथलेटिकोले बार्सीलोना र रियाल म्याड्रिडभन्दा पछाडी रहेर स्पेनिस ला–लिगा टंूग्याएको छ । तर यसको मतलब एथलेटिको यि क्लबहरुभन्दा कमजोर छ भन्ने होइन । डिएगो सिमोनीको टोलीले यस सिजन च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा गर्ने क्रममा क्वाटरफाइनलमा बार्सीलोना र सेमिफाइनलमा बार्यन म्युनिखलाई हराइसकेको छ ।
मिलानमा आज मध्यराती एथलेटिकोले इतिहासकै पहिलो युरोपेली च्याम्पियन्स लिगको उपाधी खोज्नेछ । यस्तोमा उसले फाइनलमा आफ्नै शहरी प्रतिद्धन्द्धी रियाल म्याड्रिडको सामना गर्नेछ । तर रियाल चानचुने प्रतिद्धन्द्धी होइन । १० पटकको युरोपेली च्याम्पियन्स लिग विजेता रियालले क्रिष्ट्रियानो रोनाल्डो र ग्यारेथ बेललाई क्लबमा आबद्ध गर्न खर्चिएको रकम एथलेटिकोले पुरै टोली निमार्ण गर्न खर्चिएको रकमभन्दा बढी हुन आउँछ । रियालले सन् २००९ मा क्रिष्ट्रियानो रोनाल्डोलाई ९४ मिलियन युरोमा क्रिष्ट्रियानो रोनाल्डोलाई क्लबमा भित्र्याएको थियो । ग्यारेथ बेललाई सन् २०१४ मा क्लबमा भित्र्याउने क्रममा म्याड्रिडले १ सय मिलियन युरो खर्चियो । यि दुई खेलाडीका लागि किन्न मात्रै रियालले १ सय ९४ मिलियन युरो अन्य क्लबलाई तिर्नुपरेको छ । यता, एथलेटिको म्याड्रिडले पुरै टोली निमार्ण गर्नका लागि केवल १ सय ६६ मिलियन युरो मात्रै तिरेको छ । महगोँ पैसा तिरेर अन्यत्र क्लबबाट खेलाडी भित्र्याउने मामिलामा विश्वकै नम्बर एक म्याड्रिडले अहिलेको टोली निमार्णका लागि ५ सय ५९ मिलियन युरो खर्चिएको छ ।
सानो बजेटमा तयार भएको एथलेटिकोको टोलीलाई पछिल्ला वर्ष एकपछि अर्को सफलता दिलाउन प्रशिक्षक डिएगो सिमोनीले महत्वपूर्ण भूमिका खेलेका छन् । सन् २०१३–१४ मा च्याम्पियन्स लिगको फाइनलमा रियालसँग एथलेटिको पराजित भएको थियो । त्यतिबेला एथलेटिकोलाई फाइनलमा पुर्याउने खेलाडीमध्ये अहिलेको टोलीमा ६ खेलाडीमात्रै बाँकी छन् । बाँकी ६ खेलाडीमध्येका एक फिलिप लुईसपछि एथलेटिकोबाट चेल्सी गएर फेरि पुरानै क्लबमा फर्केका हुन् । रियालसँग भने २ वर्षअघिको फाइनल जित्दाका १३ खेलाडी अझै टोलीमा छन् ।
दुई वर्षअघि मात्रै च्याम्पियन्स लिगको फाइनल यात्रा तय गर्दै स्पेनिस ला–लिगाको उपाधी जितेको एथलेटिको म्याड्रिडले फेरि च्याम्पियन्स लिगको फाइनल यात्रा तय गर्ने क्रममा टोलीमा व्यापक परिवर्तन गर्यो । त्यतिबेला टोलीमा रहेका थिवाउ कोर्टोइस, मिरान्डा र डिएगो कोस्टाजस्ता महत्वपूर्ण खेलाडीले यस अवधिमा क्लब छाडे । तर डिएगो सिमोनली फेरि क्लबमा नयाँ प्रतिभा उत्पादन गरेका छन् ।
यस्तो छ एथलेटिकोको रणनीति
एथलेटिको सन् २०१४ को च्याम्पियन्स लिग हार्दाको पिडालाई बिर्साउन चाहन्छ । त्यतिबेला फाइनलमा रियालले नै एथलेटिकोलाई हराएको थियो । खेलको अधिकांश समय रियालमाथि दबाब बनाउँदै १–० को अग्रता लिएको एथलेटिको इन्जुरी समयमा गोल खाएपछि पराजित मनस्थितीमा पुग्यो । त्यसपछि इन्जुरी समयमा रियालले थप ३ गोल गर्दै एथलेटिकोलाई ४–१ ले हराएर सन् २०१४ को उपाधी जितेको थियो । यसपटक एथलेटिकोका प्रशिक्षक डिएगो सिमोनीले विगतबाट पाठ सिक्दै आफ्नो रणनीति परिवर्तन गर्नेछन् । उनको टोली युरोपकै सबैभन्दा बलियो रक्षात्मक टोली मानिन्छ । यसपटक सिमोनीले फाइनलमा ४–३–३ को रणनीति प्रयोग गर्ने संभावना प्रवल छ । यस रणनीतिमा एथलेटिकोले आफ्ना आक्रामक खेलाडी एन्टोनी ग्रिजम्यान, फर्नान्डो टोरेज, साउल निगुइज र कोकेबाट शतप्रतिशत प्रदर्शनको अपेक्षा राख्नेछ ।
एथलेटिकोले अपनाउन सक्ने अर्को रणनीति ४–४–२ दुईको हो । यस रणनीतिमा टोरेज र ग्रिजम्यान अग्रपंक्तीमा हुनेछन् । कोके र साउलले डिफेन्स समेत कभर गर्दै उनीहरुलाई आक्रमणका लागि सघाउनेछन् ।
रियालको रणनीति
काउन्टर एट्याकमा रियाल विश्वकै खतरनाक टोली मानिन्छ । तर एथलेटिको विरुद्ध उत्रदाँ रियालको ध्यान काउन्टर एट्याक नभएर सोझै आक्रमणमा केन्द्रित हुन्छ । प्रशिक्षक जिनेदिन जिदानले फाइनलमा ४–३–३ को रणनीति बनाउने संभावना छ । यस रणनीतिअनुसार क्रिष्ट्रियानो रोनाल्डो, करिम बेन्जामा र ग्यारेथ बेल अग्रपंक्तीमा हुनेछन् । रियालले यस सिजन गरेका १ सय १० गोलमध्ये यो जोडीले ७१ प्रतिशत गोलको योगदान गरेका थिए । शीर्ष गोलकर्ता रोनाल्डोको पूर्ण फिट नभएका कारण रियाल चिन्तित हुनसक्छ । तर फाइनलमा तीनै खेलाडी अग्रपंक्तीमा ओर्लनेछन् । उनीहरुलाई आक्रमणमा लुका मोडरिक, सेसमिरो र टोली क्रसले सघाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण