बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अस्पतालमा आधुनिक उपकरण भित्र्याइयो

आइतबार, १६ जेठ २०७३, ११ : ०७
आइतबार, १६ जेठ २०७३

बागलुङ – धौलागिरि अञ्चल अस्पताल बागलुङमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन आधुनिक उपकरण भित्र्याइएको छ । अस्पतालको सेवा प्रभावकारी भएन भन्ने चौतर्फी गुनासो आएपछि आधुनिक प्रविधियुक्त स्वास्थ्य उपकरण भित्र्याइएको हो ।

विगत लामो समयदेखि एक्स–रे मेसिन बिग्रिएको अस्पतालमा आधुनिक एक्स–रे मेसिन, जिनिएक्सापोर्ट मेसिन तथा सिटिफोर मेसिन जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सागर राजभण्डारीले बताए । क्षयरोगको परीक्षण गर्न जिनिएक्सापोर्ट मेसिन तथा एचआइभीको अवस्था जाँच गर्न सिटिफोर मेसिन प्रयोग हुने राजभण्डारीले जानकारी दिए । कम्प्युटर प्रविधिबाट सञ्चालन हुने एक्सरे मेसिनबाट अब दुई मिनेटमै रिपोर्ट प्राप्त गर्न सकिने छ । आधुनिक मेसिन जडान गरेसँगै अब दुई घन्टा कुरेर रिपोर्ट हेर्नुपर्ने अवस्थाको अन्त्य भएको रेडियो ग्राफर खडक थापाले बताए । क्षयरोगीमा औषधिको प्रभावकारिता जाँच गर्ने जिनिएक्सापोर्ट मेसिन जिल्लामै पहिलोपटक भित्रिएको थापाले बताए । अस्पतालमा एचआइभी सङ्क्रमितको अवस्था बुझ्ने सिटिफोर मेसिनसँगै रगत, खकारलगायत परीक्षण गर्ने आधुनिक उपकरणसमेत ल्याइएको छ । उपकरण भित्राएसँगै सामान्य रोगको परीक्षणका लागिसमेत जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

अस्पताल स्रोतका अनुसार थाइराइड रोगको परीक्षण गर्ने उपकरणसमेत अस्पताल ल्याउने तयारी भइरहेको छ । थाइराइड तथा क्यान्सरलगायतका रोगको जाँचका लागि चिकित्सक नभएका कारण पनि केही ढिला भएको हो । विद्युत् आपूर्ति अनियमित हुँदा बिरामीको उपचारमा समस्या भएपछि अस्पतालमा ४५ केबिएको जेनेरेटरको समेत व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप