सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

खानाबार : १८ वर्षदेखि काठमाडौंमा कोलकाताको रोल

शुक्रबार, २८ जेठ २०७३, १० : ४३
शुक्रबार, २८ जेठ २०७३

काठमाडौं– खाना पारखीका लागि बावर्चीको काट्ठी रोल कुनै नौलो नाम होइन । काट्ठी रोल कोलकाताको लोकल परिकार हो । नेपालमा पहिलोपटक नेपालीलाई काट्ठी रोलको स्वाद चखाउने काम बावर्चीले नै गरेको हो ।

बावर्ची भन्नाले मुगल साम्राज्यको शाहीभान्छे भन्ने बुझिन्छ, जसले खानाका परिकारमा आफ्ना नवीन आविष्कार गर्छ । महाराजगन्जको टिचिङ हस्पिटल अगाडि सानो कर्नरबाट आजभन्दा करिब १८ वर्ष पहिले सन् १९९८ मा बावर्चीको सुरुवात ओमकरण श्रेष्ठले गरेका हुन् ।

टिचिङ हस्पिटलको होस्टलअगाडि राखिएको एउटा सानो कर्नरबाट गरिएको सुरुवात विशेष गरी युवापुस्तामाझ लोकप्रिय बन्न पुग्यो । पछि बबरमहलस्थित २०० वर्ष पुरानो बबरमहल रिभिजिटमा पनि बावर्चीको शाखा खोलियो । कलात्मक दरबार, बावर्चीको अत्याधुनिक साजसज्जा र स्टाफद्वारा गरिने सत्कारले जोकोहीे पनि पटक–पटक बावर्ची जान रुचाउँछन् ।

व्यस्त जीवनमा पनि सहजै बोकी भोक मेटाउन सकिने भएकाले बावर्चीको काट्ठी रोलले कम समयमै निकै लोकप्रियता पायो । त्यसपछि लगत्तै बावर्ची रेष्टुरेन्टका विभिन्न आउटलेट काठमाडांै र ललितपुरका विभिन्न ठाउँमा खोलिए । कडा मेहेनत र परिश्रमका साथसाथै नयाँ–नयाँ कुरा एक्सप्लोर गर्ने रुचाउने ओमकरण श्रेष्ठले बावर्ची रेष्टुरेन्टमा सधैं नयाँ–नयाँ परिकार तयार पार्ने प्रयास गर्छन् । ग्राहकले पनि मन पराइदिन्छन् । ग्राहकलाई दिने सुविधा र सन्तुष्टि नै आफ्नो मुख्य लक्ष्य भएको उनी बताउँछन् । हरियाली पनिर टिक्का, सबनम, के मोती, मटन सिख, तन्दुरी चिकन मसला, बावर्ची स्पेसल कोफ्ता, दाल, मखनी यहाँ पाइने स्पेसल परिकार हुन् । साथै इन्डियन तथा चाइनिज परिकार पनि यहाँ पाइन्छन् । यो रेष्टुरेन्ट बिहान १० बजेदेखि बेलुकाको १०ः३० बजेसम्म खुल्छ । यहाँ जम्माजम्मी ३२ जना स्टाफ छन् । पार्किङको पनि राम्रो सुविधा छ । यहाँ ग्राहकको स्वास्थ्य र रेष्टुरेन्टको सरसफाइमा निकै ध्यान दिइएको छ । यहाँ विशेषगरी हलालको शुद्ध मासु प्रयोग गरिन्छ । कुनै पनि खानेकुरा फ्रिजिङ गरिँदैन ।

हालसालै बावर्चीले आफ्नो लन्च टाइम एक्सप्रेस १० मिनेटमै डेलिभरी हुने सुविधा पनि सञ्चालनमा ल्याएको छ । आगामी दिनमा पोखरामा बावर्चीको अर्को आउटलेट सञ्चालन गर्ने तयारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप