विश्वकप फाइनल खेलाइने मैदानको घाँसका टुक्रा बिक्री गर्दैछ फिफा
वासिङ्टन डीसी । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सन २०२६ को विश्वकप फुटबलको फाइनल खेल हुने न्युयोर्क–न्युजर्सी स्टेडियमको मैदानको घाँसका साना टुक्रा बिक्रीमा राखेको छ ।
फिफाको अनलाइन बिक्री पृष्ठअनुसार घाँसका टुक्राहरूलाई रेजिनमा सुरक्षित रुपमा बन्द गरिने छ । यसको प्रारम्भिक मूल्य ४५० अमेरिकी डलर तोकिएको छ । यी सामग्रीहरू जुलाई १९ मा हुने विश्वकप फाइनलपछि मात्र खरिदकर्तालाई पठाइनेछन् । हाल यी सामग्री अमेरिका, बेलायत र युरोपका ग्राहकलाई मात्र उपलब्ध गराइनेछ ।
एक्रिलिक केसिङमा सन २०२६ विश्वकपको लोगो, खेलस्थल, फाइनलको मिति र खेलको अन्तिम नतिजा अंकित हुनेछ । साथै यसको मौलिकता पुष्टि गर्ने भिडियो समावेश गरिएको यूएसबी पनि दिइनेछ । यी सामग्री बेलायतस्थित कम्पनी किप स्टबले उत्पादन गरेको हो । कम्पनीले ९ सय, १ हजार २०० र ३ हजार अमेरिकी डलर मूल्यका थप तीन संस्करण पनि सार्वजनिक गरेको छ । प्रत्येक संस्करणका २ हजार २६ वटा मात्र तयार गरिएकाले सबै बिक्री भएमा करिब १ करोड १२ लाख अमेरिकी डलरभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ ।
४५०, ९०० र १ हजार २०० अमेरिकी डलरका संस्करणमा करिब २ दशमलव ५ इन्चको घाँसको टुक्रा समावेश गरिने छ । ३ हजार अमेरिकी डलर पर्ने हिरो संस्करणमा भने ३ इन्चको घाँसको टुक्रासहित सुनले कुँदिएको धातुको स्मारिका टिकट, विश्वकप फाइनलको सानो प्रतिकृति बल र क्रिस्टलबाट बनेको विश्वकप ट्रफीको प्रतिकृति पनि समावेश हुनेछ ।
यसअघि द एथलेटिकले प्रकाशित गरेको विवरणअनुसार न्युयोर्क–न्युजर्सी स्टेडियमको खेलमैदानका लागि प्रयोग गरिएको घाँस उत्तर क्यारोलिनास्थित टर्फ फार्मबाट ल्याएर मे महिनाको सुरुआतमा जडान गरिएको थियो । तर प्रतियोगिताका प्रारम्भिक चरणका खेलपछि ब्राजिल र फ्रान्सका खेलाडीहरूले मैदान अत्यधिक सुक्खा भएको र खेल्न कठिन भएको भन्दै आलोचना गरेका थिए ।
फिफाले यसअघि पनि प्रतियोगितासँग सम्बन्धित सीमित संस्करणका स्मरणीय सामग्री बिक्री गरेको थियो । मे महिनामा उसले १६ आयोजक सहरका सीमित संस्करणका जर्सी सार्वजनिक गरेको थियो, जसको मूल्य प्रतिजर्सी ३७५ अमेरिकी डलर राखिएको थियो ।
खेलकुदमा ऐतिहासिक मैदानका अंश बिक्री गर्ने चलन पछिल्ला वर्षहरूमा बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुराँस गाउँपालिकाको ठेक्कामा हिनामिना : तत्कालीन प्रशासकीय अधिकृत र ठेकदार दोषी ठहर
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
-
पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण