सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
रोग र आत्मबल

दुर्लभ रोगको चारवर्षे कठिन उपचार यात्रा : थोरै तंग्रिए, पूरै निको हुन पुग्दैन खर्चले

सोमबार, २९ असार २०८३, १८ : ००
सोमबार, २९ असार २०८३

काठमाडौँ । समय, भाग्य र आत्मबल । यी तीन कुराले जीवनका हरेक उतारचढाव र उकाली-ओरालीमा खास अर्थ राख्छन् । रौतहट चन्द्रपुरका विवेक भण्डारीको जीवनमा यी तीन कुराले भिन्न-भिन्न मोडमा साथ पनि दिए, साथ छोडी पनि दिए । समयले साथ दिँदा भाग्य पराइ भइदियो भने समय र भाग्य दुवै बाहिरिएको बेला आत्मबल सबैभन्दा बलियो खम्बा बनेर उभिदियो । उनको अहिलेको परिस्थितिमा आत्मबल सबैभन्दा नजिकको साथी छ । 

४० वर्षीय विवेकको जिन्दगीलाई चार वर्षअघिबाट रिक्याप गरेर हेर्नुपर्छ । लामो समय टिचिङ पेसा अँगाल्दा जीवनमा भनेजस्तो आर्थिक प्रगति नभएपछि विवाह गरेको केही महिनापछि श्रीमती शशी राजभण्डारीलाई काठमाडौँमै छाडेर उनी यूएई हान्निएका थिए । श्रीमती काठमाडौँकै एक निजी स्कुलमा प्राइमरी लेभलमा पढाउँथिन् । यूएईमा ठिकै आम्दानी गरिरहेका विवेक जब विश्वव्यापी रूपमा कोभिड महामारी फैलियो, तब कम्पनीमा काम भनेजस्तो भएन । उनी नेपाल फर्किए । तर नेपाल फर्किएको केही समयपछि घरमा बसिरहेको बेला उनको खुट्टा चल्नै छाड्ने, ढाड असह्य ढंगले दुख्न थाल्यो । 

डाक्टरलाई जाँच गराए- ‘एक दर्जन ठाउँमा नसा च्यापिएको छ’ भने । विवेक छाँगाबाट खसेजस्तै भए, कुनै पनि दुर्घटना, घटना केही पनि नभई कसरी यस्तो रोग लाग्यो ? प्रश्नको उत्तर डाक्टरसँग पनि थिएन, तर यथार्थ यही थियो । डाक्टरका अनुसार दुर्लभ स्वास्थ्य समस्या विवेकलाई देखियो । 

Bibek Bhandari Spinal Cord3

जे नहुनु त्यो भइसक्यो । अब उपचार गरेर अघि बढ्नु मात्रै विकल्प थियो । उनी नेपालका वरिष्ठ न्युरोसर्जन र हाडजोर्नी विशेषज्ञहरूकहाँ परामर्श लिन गए । शल्यक्रिया गर्नुपर्ने सल्लाह सबैतिरबाट आयो । तर उनले शल्यक्रियाका लागि भारत रोजे र दिल्लीमा गएर मेरूदण्डको शल्यक्रिया गरे । करिब ६ घण्टामा शल्यक्रिया सम्पन्न भयो, होस आउन केही घण्टा लाग्यो । शल्यक्रियापछि उनको शरीरको स्थिति थप नाजुक भयो । उनी नउठ्न सक्थे, न हिँड्न । श्रीमती, बुवा र आमाको सहाराविना  उनी केही पनि गर्न नसक्ने अवस्थामा पुगे । त्यसबेला लागेको थियो उनलाई- अब बाँच्दिन कि क्या हो ?

तर भनिन्छ नि सास रहुन्जेल आश र आँट हुन्जेल असम्भव पनि सम्भव बन्न सक्छ । विवेकले मनोबल दह्रो बनाए । ‘रुनु रोइसकेको थिएँ, आँखाबाट आँसु रित्तिसकेका थिए । तर घरको दुईमध्ये एक सन्तान म आमा, बुवा,  श्रीमती र बहिनीको लागि म निको हुनैपर्छ, बाँच्नैपर्छ भन्ने कुरा भित्री मनबाट आयो । आफ्नो मनोबल आफैंले बलियो बनाए,’ रातोपाटीसँग भावुक हुँदै विवेकले भने, ‘यसमा मेरी श्रीमतीको भूमिका जति बयान गरेपनि कम हुन्छ ।‘

Bibek Bhandari with his wife_Spinal Cord

भारतको इलाहाबादमा अपरेसनपछि डाक्टरले उनलाई सुझाए- ‘तीन-चार वर्षसम्म थेरापी गरे निको हुन सक्नुहुन्छ ।‘ आश त डाक्टरले दिए, मनोबल पनि बढ्दैछ, तर उपचार खर्च निकै डरलाग्दो । निम्न-मध्यमवर्गीय विवेकले त्यस दौरान नै ६० लाख रुपैयाँ त उपचार सकाइसकेका थिए । थेरापीका लागि महिनाकै करिब २ लाख नेपाली रुपैयाँ लाग्थ्यो । त्यत्रो खर्च कसरी जुटाउने, बाटो देखिरहेका थिएनन् । घरपरिवारको ऋणपान, घर धितो सबै गरेर पहिलो चरणको उपचारमै खर्च भइसकेको थियो । अनि कुनै सीप नलागेपछि एक मात्र उपाय थियो- सहयोगका लागि सार्वजनिक आह्वान गर्ने ।

त्यसपछि सामाजिक सञ्जालमार्फत निरन्तर उपचारमा सहयोग गर्न अपिल गरिरहे । उनको स्वास्थ्य अवस्थालाई लिएर केही राष्ट्रिय मिडियाले उनको स्वास्थ्य अवस्थाबारे समाचार लेखिदिए । जसोतसो गरेर उनलाई दिल्लीमा उपचार प्रकिया अरू अगाडि बढाउने केही खर्च जुट्यो । त्यसपछि श्रीमती शशीसँगै विवेक दिल्लीमै सानो कोठा भाडामा लिएर उपचार गराउन नेपालबाट दोस्रोपटक प्रस्थान गरे । 

हेर्दा लाग्छ विवेकको मनोबललाई चाहिँ मान्नैपर्छ, अरूले पनि प्रेरणा प्राप्त गर्ने खालको छ । पछिल्लो दुई वर्षसम्मको उपचार र थेरापीले विवेक तंग्रिन थालेका छन् । पहिले वाकरविना उठ्न नसक्ने उनी वैशाखीको सहारामा केही मिटर हिँड्न सक्ने भएका छन् । पहिले हाड-छाला मात्रै जस्तो देखिने शरीरमा अहिले मासु भरिन थालेको छ । तर पनि उनको मनभित्र संशयको ज्वारभाटा चलिरहेकै छ- ‘पूरै निको हुन त सक्छु नि ? कहिले निको भएर गुन लगाउने तमाम मनहरूलाई निर्धक्क भएर धन्यवाद भनौँ ? अनि अगाडिको जीवन सुखमय बनाएर उहाँहरूको सकेको गुन तिर्न सकौँ ।‘

शरीरको रुपरेखा केही फेरिएको छ, हिम्मत र मनोबल बढेको छ, तर पनि विवेक र उनकी श्रीमती शशीको परिस्थिति दुई वर्षअघिकै जस्तो छ । उपचारको बाटो अझै लामै हुने डाक्टरहरूले बताएका छन् । हालै नेपाल आउँदा नेपालका वरिष्ठ स्नायु तथा नसारोग विशेषज्ञसँग पनि परामर्श गरे, उपचार प्रक्रिया अझै २-३ वर्ष जारी नै राख्नुपर्ने सल्लाह आयो । त्यो भनेको थेरापीबाटै जाने हो भने अझै तीन वर्षसम्मको खर्च धान्न तयार हुनुपर्नेछ ।

Bibek Bhandari Spinal Cord4

पुन: अर्को शल्यक्रियाको बाटो पनि सुझाएका छन् डाक्टरले । तर जुन विधि अपनाए पनि खर्च निकै ठुलो हुनेछ । विवेकका अनुसार यो चार वर्षको उपचार अवधिमा डेढ करोड रुपैयाँ भन्दा माथि खर्च भइसकेको छ । अझै २–३ वर्ष थेरापी गर्न महिनाको कम्तीमा एक लाखको दरले निकै ठुलो रकम जुटाउनुपर्ने हुन्छ । सरकारले महिनाको ६ हजार दिएको छ, त्यो त उनका लागि हात्तीको मुखमा जिरा भनेजस्तै हुन्छ । 

‘सहयोगी मनहरूसँग अनुरोध गर्नुको मसँग विकल्प छैन । म निको भएर परिवारको भरोसा र सहारा बन्न चाहन्छु, हजुरहरूकै साथ र सहयोगले तंग्रिएर यहाँसम्म आइसकेको छु,’ आँखाभरि आँसु पार्दै विवेक अनुरोध गर्छन्, ‘म निको भएर परिवारको सहारा र भरोसा बन्न चाहन्छु । हजुरहरूको गुनको बदला के दिनसक्छु भन्न त सक्दिनँ, तर गुन तिर्ने हरदम कोसिस गर्नेछु ।‘

Bibek Bhandari Spinal Cord1

हुन पनि पहिलो चरणको उपचारमै उनले आफूसँग भएको जायजेथा सबै सक्नुपर्‍यो । यहाँसम्म तंग्रिएर आइपुग्न आफन्त, साथीभाइ र सहयोगी मनहरूको साथ र सहयोग हो ।

‘यो कठिन यात्रामा यहाँहरूको दरिलो साथको खाँचो छ । अमूल्य सहयोगको अपेक्षा राख्न बाध्य छु । नेपाल एसीआई बैंकको हेटौँडा शाखामा मेरी श्रीमती सशिता राजभण्डारी (Sashita Raj Bhandari) को नाममा रहेको खाता नम्बर २००१५२४३४०२२६९ (20015243402269) मा सकेको सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु । यो गुन खोइ कसरी, कहिले तिर्न सक्छु होला उत्तर नै पाउँदिनँ,’ आँसु मिश्रित बोलीले उनी भन्छन् । 

फुटबल भनेपछि हुरूक्कै हुने विवेक शरीरले हेर्न साथ दिएसम्म विश्वकपका खेलहरू हेरिरहेका छन् । स्पेन, फ्रान्स र अर्जेन्टिनाका फ्यान उनी स्कुलमा विद्यार्थीहरूलाई पढाउनुका साथै फुटबल समेत सिकाउँथे । ‘फुटबलप्रतिको इन्ट्रेस्ट अति छ मलाई, निको भएर कुनै दिन फेरि मेरा विद्यार्थीहरूलाई फुटबल खेलाउने धोको छ,’ विश्वकपको माहोलबिच उनी भन्छन् । 

डाक्टरहरूका अनुसार विवेकलाई भएको रोग स्पाइनल कर्डसम्बन्धी दुर्लभ रोग हो । उनको ढाड, घाँटी र खुट्टामा एकसाथ नसा च्यापिएको छ । धेरै ठाउँमा नसा च्यापिँदा शरीरलाई स्थिर राख्न समस्या हुन्छ । विवेकको उपचारप्रतिको लगाव र उच्च मनोबल निकै सुधार भइरहेको छ, तर उपचार खर्च कसरी धान्ने ? यसैको चिन्तामा छन् उनी । 

भिडियो/फोटो : मनोज खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप