बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

२० मिनेटमा ३ गोल, आर्सनलको अविश्वसनीय पुनरागमन (भिडियो)

बुधबार, २० पुस २०७३, १० : ०२
बुधबार, २० पुस २०७३

लण्डन – अन्तिम २० मिनेटमा ३ गोल गर्दै ३–० ले पछि परेको स्थिति उल्टाउँदै बोर्नेमाउथविरुद्ध आर्सनलले नाटकीय पुनरागमन गरेको छ ।

७० मिनेटसम्म ३–० ले पछि परेको आर्सनल घरेलु मैदानबाहिर लगातार तेस्रो पराजयतर्फ उन्मुख थियो । तर, एलेक्सिस सान्चेजको डाइभिङ हेडरपछि आर्सनलले अविश्वसनीय पुनरागमन शुरु गर्यो । त्यसको पाँच मिनेटपछि नै लुकास पेरेजले उत्कृष्ट भली गोलमार्फत दोस्रो गोल फर्काए ।

खेलको ८२ औँ मिनेटमा साइमन फ्रान्सिसले आरोन रामसेलाई फल हानेपछि बोर्नेमाउथ १० खेलाडीमा सिमित बन्यो ।

यसको फाइदा उठाउँदै इन्जुरी समयमा ओलिभर जिरुले गोल गर्दै टोलीका लागि महत्पूर्ण १ अंक बटुल्न सफल रहे ।

यसअघि घरेलु टोली आर्सनलमाथि हाबी बनेको थियो । खेलको १६ औँ मिनेटमा चार्ली डेनियलले बोर्नेमाउथलाई अग्रता दिलाए ।

त्यसको केही मिनेटमा नै कालम विल्सनले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाए । आर्सनलले यो सिजन पेनाल्टीबाट गोल खाएको यो छैटौँ पटक हो ।

खेलको दोस्रो हाफमा रायन फ्रेजरले अर्को गोल थपे ।

अधिकांश समय निरिह खेल प्रदर्शन गरेको आर्सनलले अन्तिम २० मिनेट भने उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलमा फर्किएको थियो ।

तीन गोलले पछि परेको स्थिति उल्टाउँदै अंक बाँडेको आर्सनलले पहिलो पटक हो ।

बराबरी पछि आर्सनल ४१ अंकसहित चौँथो स्थानमा रहेको छ ।

हिजो भएको अन्य खेलमा जीतविहिन यात्रा अन्त्य गर्दै स्टोक सिटीले वार्टफोर्डलाई २–० ले हरायो । त्यस्तै स्वान्सी सिटीले पनि क्रिस्टल पयलेसलाई २–१ गोलअन्तरले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप